Logo
Logo
एमालेको १०औं महाधिवेशन

शीर्ष नेताको शुभकामना- दलीय एकतामा जोड



काठमाडौं । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।

एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताए । उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताए ।

सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उनले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए । नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे ।

‘कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पुर्याउन एकता र ध्रुवीकरण अपरिहार्य छ’, उनले भने, ‘विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।’

राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको बताए।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उनको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धरणा राख्नुभयो । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको बताए । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उनको भनाइ थियो । चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताए ।

उनले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्