Logo
Logo

‘आफ्नै घमण्डले ओली सगरमाथाको शिरबाट नारायणी तिरमा पुगे’


10.8k
Shares

रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली आफ्नै घमण्डका कारण सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगेको टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजवादी सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु¥याएका ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।

झण्डै दुई तिहाइको बहुमतसहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बार्दली हुँदै नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा बगरकै हुने उनले बताए ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पारेको बताउँदै अब आफ्नो पार्टीलाई मण्डलेकरण गरेर नागर्जुनमा बुझाउने निश्चित रहेको बताए । २०६२÷६३ को जनआन्दोलनदेखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यसपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरिसकेको बताए ।

संसद विघटनको प्रशंगमा मन्त्री खतिवडाले भने, ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेको गलत भएको भन्दै सर्वोच्चले बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौँ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ । तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्दा बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै अहिले ओली बौलाएर हिँडेका छन् ।’

कोभिड नियन्त्रको लागि सिँगो सरकार लागेको र अहिले देशका सबै नागरिकलाई पुग्ने खोप जोहो गरिसकिएकाले सबै नागरिकलाई पूर्ण खोप लगाएर कोरोनाबाट सुरक्षित हुन मन्त्री खतिवडाले आग्रह गरे ।

यस्तै, स्थानीय तहका कुनै वडामा कुनै पनि प्रकारका स्वस्थ्य संस्थाहरु नभएको भएर स्वास्थ्य संस्था स्थपाना गर्नका लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै सम्बन्धित स्थानीय तहको सिफारिससहित मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरे ।

एकीकृत समाजवादी सुनपाति गाउँपालिकाका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिट ब्यूरो सदस्या एवं सह इन्चार्ज होम बुढाथोकी, केन्द्रीय सदस्य शान्ता पौडेल, जिल्ला अध्यक्ष एवं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, जिल्ला सचिव लालसिंह घिसिङ, नेकपा एकीकृत समाजबादी काठमाण्डौ–रामेछाप सम्पर्क मञ्चका अध्यक्ष सुवाश खत्री, जिल्ला उपसचिव किरण मोक्तान, नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य रमेशबाबु श्रेष्ठ लगायतका नेताहरुले बोलेका थिए ।

सुनापति गाउँपालिकामा दुर्गा घिमिरेको अध्यक्षतामा ३५ सदसीय गाउँ कमिटी बनेको छ । त्यस्तै सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवी, वडा नं ४ बेथान र वडा नंं ५ खनियापानीको वडा कमिटि पनि गठन भएको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्