Logo
Logo

आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ विचारको संश्लेषण गर्नेछ : प्रचण्ड


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ विचारको संश्लेषण गर्ने बताएका छन् ।

हाल जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरे । शनिबार पार्टीका स्थानीय तह तथा पार्टी शाखा समितिको सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले इतिहासको नयाँ संश्लेषण गर्नेगरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको बताउँदै भने, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण गर्नेछौँ । समाजवादी आन्दोलनले समाजवाद निर्माणमा नयाँ जीवन र गति प्राप्त गर्नेछ ।’

पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचारिक संश्लेषणको थलो बनाउन उनले कार्यकर्तालाई आग्रहसमेत गरे । ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौँ । त्यहाँ विचारलाई कुनै ठाउँ छैन’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौँ ।’

शान्तिप्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले भने, ‘यो प्रक्रियामा हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्