Logo
Logo

लुम्बिनी विश्व कै सम्पदा हो : मुख्यमन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता


बुटवल  । लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ । सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भन्नुभयो ।

उहाँले आन्तरिक पर्यटक भित्र्याएर लुम्बिनीको विकास गरिने बताउँदै लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने प्रक्रियामा रहेको बताउनुभयो । “यहाँको संस्कृति र परम्परासँग लुम्बिनीको विकास जोडिएको छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी आसपासमा बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान रहेको र त्यसमा पनि सबैभन्दा बढी कपिलवस्तुमा रहेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले तिलौराकोट उत्खननको काम पनि अघि बढेको जानकारी दिनुभयो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीलगायतले लुम्बिनीको विकासमा फोटो पत्रकारको भूमिका प्रशंसनीय भएको बताउनुभयो । बुद्धकालीन सभ्यतासँग सम्बन्धित कपिलवस्तुका गोटिहवा, निग्लीहवा, सिसहनीया, कुदान, रुपन्देहीको सैनामैना, बुटवल, देवदह, रामग्रामलगायतका स्थान पर्दछ ।

प्रतिक्रिया दिनुहोस्