Logo
Logo

समाजवाद कुन चराको नाम हो ?



जुन देशमा कानून निस्लोट परेको छ
जुन देशमा न्याय सिकिस्त बिरामी परेको छ
त्यसले कतिसम्म आफूलाई देश भनी गर्व गर्न सक्ला ?
त्यो कहिलेसम्म स्वतन्त्र भएर उभिन सक्ला ?

राजनीतिक दलहरूको अधिवेशन, महाधिवेशन, सम्मेलनले आमनिर्वाचनको झल्को दिइरहेको छ । प्रजातान्त्रिक राज्यमा आवधिक चुनावको मान्यतालाई प्रतिनिधि छनोटका प्रक्रियाले सार्थकता दिएको छ । त्यसले दलभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास भएकै छ र तानाशाही नेतृत्वलाई दनक दिएकै छ ।

मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको प्रणाली चलिरहँदा पनि एकछत्र नेतृत्व गरिरहेकाहरूलाई एकाधिकारवादी सोच र व्यवहार परित्याग गर्न गाह्रो परिरहेको छ र वर्षाैँ राज गरिरहँदा पनि दलभित्रको सत्ताबाट बाहिरिन महाभारत परिरहेको छ । तिनले छाड्नेवाला छैनन्, छाड्नेवाला पनि होइनन् र आफ्नो सास रहुञ्जेल हालीमुहाली, रजाइँ गरिरहने नै छन् ।

गैँडालाई हँसिया हथौडा अंकित कम्युनिष्टको रातो झण्डा बोकाऊन् कि, शिक्षक–कर्मचारी–प्राध्यापकलाई सदस्य बनाउन्, राजतन्त्रको वकालत गरून् कि क्षेत्रीयतावादी बनून्–नेपाली जनतालाई समाजवाद चाहिन्छ जुन कुरा संविधानमै उल्लेख छ ।

तर विडम्बना ! समाजवादको व्याख्या गर्नुपर्ने दलका नेता र कार्यकर्ता नै खाली चुनावी प्रक्रियामा मात्र रङमङिएपछि जनताले समाजवाद भनेको कुन चराको नाम हो भनेर बुझ्ने ? अनि कुन समाजवादका लागि भोट हाल्न लाम लाग्ने ?

श्याम रिमाल

समाजवाद यतीले खाइदियो, समाजवाद ओम्नीले ओढाइदियो, समाजवाद कोरोना महामारी नियन्त्रणमा प्रयुक्त हुने औषधोपचार र उपकरण गर्ने कम्पनीले क्वाप्लाक्क पारिदियो । शिक्षालयमा हुने व्यापारमा गएर समाजवाद घोप्टियो, दुईचार दिन झार उखेल्ने काममा पाएको रोजगारीले समाजवाद निलिदियो ।

देख्नुभएन समाजवादलाई मार्सी चामलले चपाइदिएको अनि स्वास्थ्य माफियाले थचारिदिएको । योग्यताअनुसारको काम, कामअनुसारको माम भन्ने समाजवाद कहाँ गयो ? रामचन्द्र पौडेल र विमलेन्द्र निधिका पार्टी रुपान्तरण सूत्र र अवधारणापत्र हेर्नुभयो भने तपाईँ मुश्किलले समाजवादका केही शब्द पाउनुहुन्छ, तिनका व्याख्या पाइन्न ।

कहाँ गए समाजवादका व्याख्याता प्रदीप गिरी, ढुण्डिराज शास्त्री, शोभाकर पराजुली । गिरीको व्याख्या टिभीमा भट्याउन मात्र काम लाग्ला, शेरबहादुर देउवाले चलाएको दल र सरकारलाई हैन ।

हरेक घरमा एक दुहुनो गाई होस् भन्ने अर्थ रामशरण महतले त बुझ्न सकेनन् । भन्थे– ‘अहिलेको जमानामा सबैका घरमा गाई पाल्न सकिन्छ र ?’ गाउँमै जन्मेका डाक्टरसाबले गाईको अर्थ दूध वा प्रोटिन वा पोसिलो पदार्थ भन्ने नबुझेर आफ्ना पालामा नवउदारवादलाई हुलुलु पस्ने बाटो देखाइदिइहाले ।

यिनलाई अझ पनि अर्थ मन्त्रालयको जिम्मा दिने हो भने तथ्याङ्क गनेर नेपाल मध्यम आय भएको मुलुकमा आजभोलि नै पु¥याइदिन बेर लाउनन् । दूधेअर्धशास्त्री महेश आचार्य कोइरालाहरूको पार्टी र सरकार नहुँदा कुन दुलामा पसे थाहा छैन । अनि ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौताको व्याख्या गर्न नसकेर मुलुक कसरी अनिर्णयको बन्दी बन्यो वा कुहिराको काग बन्यो, सबैलाई जगजाहेर छँदै छ ।

वस्तुको उत्पादन, वितरण र व्यवस्थापन गर्न नसक्ने, अर्थतन्त्रको स्वामित्व लिन नसक्ने अनि समाजवादको नारा चाहिँ भट्याइरहने । अरू त अरू, न सार्वजनिक यातायातको वैज्ञानिक भाडादर कायम गर्न सक्छन् न विद्युत् र खानेपानी महसुलको ।

जनताका छोराछोरीले नपढेको पैसा स्कुलमा तिर्नुपर्ने, नझरेको खानेपानीको महसुल तिर्नुपर्ने र महामारीमा पनि एउटा सिटामोल आफैँले जुटाउनुपर्ने यो कस्तो विडम्बना ? दाइजोमा घर, जग्गा, सुन हिरा पाएको भनेर सम्पत्ति विवरण सार्वजनिक गर्ने, कम्मल ओढेर घिउ खानेहरुले ग्रहण गर्ने समाजवादको कुरा गरेको कति सुहाउला ? सम्पत्तिमा समाजको अधिकार हुनुपर्ने समाजवादको परिभाषा को मान्ला ? अब जबकि राजनीतिकर्मी, राजनीतिज्ञ वा राजनेता भनाउँदा सब सम्पत्ति थुपारेर सात पुस्ताका लागि खाने बाटो बनाउँदैछन् ।

दलहरूको, विचौलियाको, ठेकेदारको, उद्योगपतिको, व्यापारीको, सङ्गठित लुटको अर्काे नाम भइदियो समाजवाद । समाजवाद यस्तो टोपी हो जसको स्वरूप बिग्रिसकेको छ । किनकि सबै यसलाई शिरमा लगाउन चाहन्छन् । भैँसीपूजा पनि समाजवाद, पशुपति र राम जन्मभूमि पनि समाजवादको परिभाषामा परिसकेको छ ।

बिपीको प्रजातान्त्रिक समाजवाद पार्टी र आमनिर्वाचनका बखत आआफ्ना अवधारणापत्रमा घुसाउने शब्दजाल मात्र बन्यो । एकथरि जातीय र क्षेत्रीयवादमा समाजवाद देख्छन् र पार्टीका नाम समाजवादी राखी जयप्रकाशनारायण, राममनोहर लोहियावादी बनिदिन्छन् ।

पार्टी कब्जा गर्न परिवार नै लागेका छन् –रक्तसम्बन्ध, कुलकुटुम्ब र आफन्तको परिवार वा आर्थिक कारोवारमा संलग्न परिवार वा बिचौलियापन, कमिशन र सौदाबाजीको परिवार । अनि राजनीति त देखाउने दाँत मात्र । यिनले धनसम्पत्ति र वितरणको स्वामित्व समाज वा राज्यको नियन्त्रणमा राख्न कति पाइलो चाले, कुन बजेटमा समावेश गरे, निजी सम्पत्ति राष्ट्रियकरण गर्ने प्रक्रिया कहिले चाले, शिलो नै खोज्नुपर्छ ।

अब एक वर्षभित्र चुनावको रन्काले देश चुर्लुम्म डुबिसक्छ । समाजवादका ठेकेदारहरू पैसा बाँडेर फेरि जित्छन् । वर्षभरि तिनलाई नै सरापेर तिनकै पक्षमा भोट हाल्न जनता लामबद्ध हुन विवश हुन्छन् ।

धनवाद तिम्रो जनवाद हाम्रो एक दिन दाँजौला
आमाको काखमा, देशको नाममा एक दिन बाझौँला ।
(भूपि शेरचन, ‘नयाँ झ्याउरे गीत’)
२०७८ मङ्सिर १३

[email protected]

प्रतिक्रिया दिनुहोस्