काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबीचको बैठकपछि प्रमुख सचेतक लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीसँग पार्टीले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग दोहो¥याएको उनले बताए ।
‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं’ लेखेकले भने, ‘प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो । हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ ।’
उनले भोलि सोमबार बस्ने पार्टीको संसदीय कार्यसमितिको बैठकबाट त्यसबारे निर्णय गर्ने पनि बताए ।














