Logo
Logo

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिमा नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास



धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको अधिवेशनको निर्धारित मनोनय दर्ताको कार्यतालिका परिवर्तन भएको छ । शुक्रबार बिहान ८ बजेका लागि तय भएको कार्यतालिका दिउँसो मात्र हुने भएको छ ।

नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयास जारी भएकाले तालिका परिवर्तन गरिएको अधिवेशन प्रचारप्रचार समितिका प्रमुख नृपबहादुर सुनारले जानकारी दिए । सुदूरपश्चिम प्रदेश समितिमा सभापतिसहितका पदाधिकारी चयनमा सर्वसम्मतिको प्रयास भइरहेको छ ।

सुनारका अनुसार कार्यतालिका हेरफेर गर्दै मनोनयन पत्र दर्ताको समय दिउँसो दुईदेखि चार बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध गर्ने समय साढे ४ देखि पाँच बजेसम्म, उम्मेदवारको नाम प्रकाशन गर्ने समय साढे ५ बजेसम्म, उम्मेदवारी फिर्ता लिने समय साढे ५ देखि साढे ६ बजेसम्म र साढे ७ बजे अन्तिम नामावली प्रकाशनको समय तय गरिएको छ । मतदान शनिबार बिहान ८ बजेदेखि गर्ने कार्यसूची छ ।

आकांक्षीबीच सर्वसम्मतिको प्रयासका लागि छलफल भइरहेकाले निर्वाचन कार्यतालिका परिवर्तन गरिएको उनको भनाइ छ । कांग्रेस सुदूरपश्चिमको सभापतिका लागि अहिले करिब एक दर्जन नेताहरू आकांक्षी देखिएका छन् ।

पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, कैलाली जिल्ला सभापति नरनारायण शाह, पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह, नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष पुष्प शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा, कैलालीका तत्कालीन जिल्ला विकास समितिका सभापति नारायण मिश्र, कञ्चनपुरका नेता गोपाल गुरुङलगायतका नेताहरु सभापतिको दौडमा देखिएका छन् ।

जसमध्ये पूर्वपूर्वाधार तथा यातायातमन्त्री बलायर, कैलालीका सभापति शाह र सुदूरपश्चिम प्रदेशसभा सदस्य बोहरा प्रमुख दावेदार देखिएका छन् । उनीहरु तीनैजना पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्