Logo

एमालेको गैंडा अधिवेशनबाट के सिक्ने ?



एमाले महाधिवेशनस्थल सौराहामा ‘भीम रावल मूर्दावाद’ भनेर महाधिवेशन हलभित्र नारा लगाउने कमरेड ह्वास्स गन्हाइरहेको थियो । नशाको जोसमै उसले माधव नेपाललाई समेत गाली गर्नुपर्ने औचित्य ठान्यो ।

ओलीका दायाँ हात महेश बस्नेतका प्रायोजित मानिसहरुले पहिल्यै माधव नेपाललाई सरापिरहेका थिए । उ पनि हूलमा मिसियो र चिच्यायो, ‘माधव नेपाल मुर्दावाद !’

विधि, विधान र कम्युनिष्ट पार्टीका सबै सिद्धान्तलाई नारायणीमा विसर्जन गरेर नग्न नृत्य गरिरहेका खड्गप्रसाद ओलीको ‘ग्याङ’ पूर्णतः विचार चेत स्खलित शून्य गैंडा भइसकेको थियो । एकातिर ओलीको आशीर्वाद थाप्न आतुर नवदासहरुको भीड, अर्कातिर ओलीको निगाहामा अकूत कमाउन सफल धनाढ्यहरुको आरती, संसारले कम्युनिष्टका नाममा ब्यक्ति पूजाको भद्दा र कुरूप दृश्य एकैचोटि हेर्न पायो ।

आजको एमाले बनाऊन मृत्युको मुखमा पुगेर, जेलनेल खपेर सिंगो जीवन बिताएका मोहनचंद्र अधिकारी, मोदनाथ प्रश्रित, राधाकृष्ण मैनालीहरुलाई सम्झनु त के ? त्यो आदर्श र महान यात्राका सहयात्रीहरु भ्mलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमलगायतको सिंगो टीम बाहिरै बसेको यो भेलालाई एकता अधिवेशन भनेर भ्रम छर्ने कोशिश गरियो ।

ओलीले हुर्काउँदै, मलजल गर्दै यहाँसम्म ल्याइपुर्याएको गुटको भेलाभन्दा फरक भएको भए त्यहाँ घनश्याम भुसाल, भीम रावलविरुद्ध नाराबाजी र कमल थापाको मन्तव्यमा तालीको गडगडाहट पक्कै हुने थिएन ।

कुनै पनि समाज परिवर्तनको एजेन्डा स्थापित हुने र नेतृत्वदायी भूमिका खेल्ने कुरा मुलतः पार्टीले लिएको विचार नै हो । आफूलाई कम्युनिष्ट पार्टी र अझ जनताको बहुदलीय जनवादको अभ्यासकर्ता मान्ने पार्टीले गर्ने महाधिवेशन विचारको बहसको थलो हुनुपर्ने हो ।

देशका विभिन्न भागबाट चितवन आएका एमाले कार्यकर्ताको ठूलो पंक्तिलाई अझै पनि एमाले वर्गः संघर्ष मान्ने पार्टी हो भ्रम छ । जसको जोत उसको पोतको नारा लगाएर त्यसलाई ब्यबहारमा उतार्ने पार्टी हो भन्ने भ्रम छ ।

विधान अधिवेशनको नाम दिएर गोदावरीबाट पारित गरिएको कुरा नै बाको तजबिजीमा तत्कालै फेरिन सक्छ भने विचार, नीतिका कुरा गर्नुको के अर्थ रहन्छ ? ओली नेतृत्वमा रहँदासम्म नेकपा एमाले उनकै प्राइभेट कम्पनीको रुपमा रहने कुरा यो ‘गैंडाधिवेशन’ले छर्लङ्ग पारेको छ ।

एमालेमा लामो समय संघर्ष गरेका र वर्ग संघर्षको चरका नारा दिएर नेतृत्वमा स्थापित भएका अरु नेताहरु पनि यसरी दासको रुपमा फेरिएलान् भनेर कसैले कल्पना पनि गरेको थिएन । चुनावमा प्रतिस्पर्धा गर्छु भन्ने सहयोद्धालाई धम्क्याएर, होच्याएर, अपमानित गरेर लोकलाजका कारण बाध्य भएर चुनावी प्रक्रियामा गएका ओली कतिसम्म लोकतान्त्रिक रहेछन् प्रष्ट देखियो ।

जनताको सार्वभौमथलो संसदको असमयमै हत्या गरेर आफ्नो नेतृत्वमा कस्तो खालको चुनाव उनले गराउन चाहेका रहेछन् जनताले देख्ने, बुझ्ने मौकÞा पाए चितवनको कुम्भमेलाबाट ! वायुपुत्र विशाल भट्टराईले ठीकै भनेका हुन्, ओली कामरेडले लिष्ट पढ्नुहुन्छ, हामीले ताली बजाउने हो ।

आजको एमाले यत्तिकै ओलीको उखान, टुक्काको भरमा बनेको पार्टी होइन । न त केवल ओलीको एक्लो बलमा मात्र जन्मिएर, उभिएको हो । सयौं शहीदहरुको बलिदानी, सयौंका घर उजाडेर र हजारौं निमुखाहरुलाई जीवनको आश देखाएर क्रान्तिको मैदानमा होमेर जन्मिएको पार्टी हो । विचार र नीतिमा सिमान्तकृतहरुको पक्षधरता लिएकै कारण मजबूत भएको हो ।

असहमति, वैचारिक बहस, विवादलाई पार्टी पद्धतिको अंग मानेर अभ्यास गरिएको कारण शसक्त भएको हो । ओली पूर्णत त्यसको खिलाफमा छन् । मदन भंडारीले ब्याख्या गरेको बहुदलीय जनवादको कोही विरोधी छ भने त्यो ओली हो ।

२१ औं शताब्दीको यो कालखंडमा लोकप्रियतावादका सबै विधि बनाएर पार्टीको सम्पूर्ण शक्ति आफूमा केंद्रित गरेर समाजवादी मूल्य, मान्यताको वर्खिलाप हिड्नु कुनै पनि अर्थमा माक्र्सवादी, लेनिनवादी अभ्यास हैन । सर्वहाराको नारा लगाएर केन्द्रमा आएको एमालेलाई विघटनको बाटोमा लैजाने अभ्यास मात्र हो ।

देशका विभिन्न भागबाट चितवन आएका एमाले कार्यकर्ताको ठूलो पंक्तिलाई अझै पनि एमाले वर्गः संघर्ष मान्ने पार्टी हो भ्रम छ । जसको जोत उसको पोतको नारा लगाएर त्यसलाई ब्यबहारमा उतार्ने पार्टी हो भन्ने भ्रम छ ।

यो नेतृत्व पूर्णत दलाल पूँजीपतिको हित र बिचौलिया वर्गको हितमा काम गर्ने ग्यांग भइसकेको छ । ओली गूटबाट पार्टीलाई मुक्त नगर्ने हो भने कम्युनिष्ट पार्टीका नाममा लूट मच्चाउने क्रम चलिरहन्छ ।

ओली गुटको दास भएर बाँच्ने की पार्टीको विरासत बचाउन हिम्मत गर्ने, पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुले फैसला गर्ने बेला भएको छ ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्