प्रहरी बढुवामा तक्माको अंक कटौती « Drishti News – Nepalese News Portal
Logo

प्रहरी बढुवामा तक्माको अंक कटौती


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ ।

यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए । संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउन फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिन थालेको र यसबाट बढुवाका ज्येष्ठ सदस्यलाई समेत मर्का परेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेको थियो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभूषणबाट पाउने नम्बर कटौती गर्दै त्यो अंक वरीयताक्रममा अगाडि रहेका ज्येष्ठ सदस्यलाई थपिने व्यवस्था गरेको हो ।

सरकारले हरेक वर्ष संविधान दिवसमा प्रहरीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभूषण घोषणा गरी वैशाख १ गते प्रदान गर्ने गरेको छ । एक पटक पाएको विभूषणअन्तर्गत एक पटकको बढुवाका लागि २ नम्बर जोडिन्छ । वरीयताक्रममा अगाडि रहेका प्रहरी कर्मचारीले बढुवा हुँदा ज्येष्ठ सदस्यबापत अधिकतम २० नम्बर पाउने प्रावधान छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्