Logo
Logo

किरावि संघले मुख्यमन्त्रीलाई बुझायो प्रदेश १ को नाम ‘किरात’ राख्ने पाँच आधार



धरान । प्रदेश नम्बर १ को नाम किरात राख्न माग गर्दै किरात राई विद्यार्थी (किरावि) संघ तथा किरात राज्य समन्वय समितिले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएको छ । किरावि संघले प्रदेश १ को नाम किरात राख्ने पाँच बुदे आधारसहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश नामाङ्कन प्रदेश नं १ का जनताको माग र चाहना बमोजिम राख्नुपर्ने संघले माग गरेको छ । किरात शब्द बहुपहिचान सहतिको सर्वप्राचिन तथा सर्वस्वीकार्य नाम भएको र किरात शब्दले कुनै एक जातीलाई मात्र सम्बोधन नगरेर किरात भुगोलमा बसोबास गर्ने सबै जातिलाई प्रतिनिधित्व गर्ने संघको भनाइ छ ।

ज्ञापन पत्रमा भनिएको छ– ‘किरात एक ऐतिहासिक, सांस्कृतिक, भौगोलिक विशेषतासहितको एक मानव सभ्याता हुनको साथै नेपालको एक कालखण्डको किरात प्राचीन इतिहास र भुगोल भएकाले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्न उपयुक्त हुन्छ ।’

विभिन्न राजनीतिक दलहरुले पनि उठाउँदै आएको बहुपहिचान, पहिचान भेटिने र द्वन्द मेटिने नारालाई सार्थक बनाउन समेत किरात प्रदेश सबैको साझा हुने र स्वीकार्य हुने संघको भनाइ छ ।

विषेश गरेर पहिचानको मुद्दालाई लिएर आन्दोलनरत संघ संस्था तथा राजनितिक दलहरुको यस किसिमको मुद्दालाई सम्बोधन गरि मुलुकलाई समृद्ध र विकाशको मार्गमा एक ढिक्का भएर अघि बढाउनको निम्ति किरात नामले कुनै पनि वाधा नपुर्याउने ज्ञापन पत्रमा उल्लेख छ । प्रदेशको नाम सगरमाथा र कोशी राखे पहिचान हुन नसक्ने संघले बताएको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले आफ्नो ठाउँबाट प्रदेशमा नाम किरात राख्न सक्दो कोसिस गर्ने बताए । प्रदेश नामाङ्कनको विषय संसदले पास गर्ने कुरा भएकोले यो प्रस्तावमा सहमतिको लागि आफ्नो तर्फबाट भरपुर प्रयास गरेको बताए ।

किरात राई विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष सन्तोष मुक्मिन राई, सुनसरीकी अध्यक्ष नीता राईलगायतका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्