Logo
Logo

देउवाविरुद्ध लड्न नेता छान्दै पौडेल समूह


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार उठाउनेबारे छलफल गरेको छ ।

सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा साझा उम्मेदवार उठाउनेबारे शीर्षनेताहरुको बैठक बसेको हो । संस्थापन इतर समूहबाट एउटै उम्मेदवारको नाम अघि सार्न युवा नेताहरूलाई जिम्म दिइएको छ ।

बैठकले यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्यहरुसँग छलफलका लागि मंगलबार दिउँसो १ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बोलाइएको छ।

यही मंसिर २४ देखि हुने महाधिवेशनको नेतृत्व चयनमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि सभापतिका आकांक्षी छन् भने संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।

नवनिर्वाचित प्रदेश सभापतिमा प्रदेश १ का थापा, बागमतीका बानियाँ, कर्णालीका शाही र सुदूरपश्चिमका बलायर कांग्रेस सभापति देउवा पक्षका हुन्। त्यस्तै, गण्डकीका शर्मा र लुम्बिनीका पुन वरिष्ठ नेता पौडेल पक्षका हुन् ।

यता नतिजा सार्वजनिक भएका विभिन्न ६१ जिल्लाहरुमध्ये ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका नेताहरु २७ जिल्लाको नेतृत्वमा पुगेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन् ।

प्रदेश २ मा क्षेत्रीय तहको निर्वाचनमा संस्थापन समूहको पकड रहेको बताइन्छ । प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश २ को नजितापछि अन्तिम चित्र देखिने कांग्रेस नेताहरुको दाबी छ ।

प्रदेश सभापतिका लागि श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापति विमलेन्द्र निधिको पक्षबाट श्रीकृष्ण र देउवा पक्षबाट रामसरोजले उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्