Logo
Logo

पर्यटन, जडीवुडि र कृषिको प्रवद्र्धन गर्न बाजुरामा महोत्सव


- दृष्टि न्युज/संवाददाता


बाजुरा (मार्तडी) । जडिवुडि र कृषिको प्रवद्धनका लागि बाजुरामा प्रथम बाजुरा महोत्सव शुक्रबारबाट सूरु भएको छ । बाजुरा उद्योग बाणिज्य संघको आयोजनामा महत्सवको आयोजना गरिएको हो । प्रथम बाजुरा महोत्सवको उद्धघाटन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका छन् ।

कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार भन्ने मुल उद्देश्यका साथ जेठ ३ देखि ९ गतेसम्म जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालन हुन लागेको प्रथम बाजुरा महोत्सवको पुरै ७ दिन सम्म मनोरञ्जन लागायत बिबिध कार्यक्रमको आयोजना गरिने बाजुरा उद्योग बाणिज्य संघले बताएको छ ।

बाजुरा उद्योग बाणिज्य संघले प्रथम पटक संचालन गर्न लागेको महोत्सवलाई सभ्य र भव्य बनाउन जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहेका छन भने राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुरा महोत्सवको मुख्य प्रायोजक रहेको छ । महोत्सव अवलोकन गर्नका लागि सहभागी हुने अतिथि र सर्वसाधारणहरूको स्वागतका लागि सदरमुकाम मार्तडीमा ५ वटा स्वागत गेट राखीएका छन् ।

त्यस्तै दर्शकहरूले अवलोकन गर्नका लागि महोत्सव स्थलभित्र १ सय बढी स्टल राखिएका छन् । महोत्सव स्थलभित्र दर्शकहरूलाई रमाउनका लागि पिङ समेत राखिएको छ । प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि, उद्योग, पर्यटन र व्यापारले बाजुराको विकास र समृद्धि गर्न टेवा पुग्ने आशा राखिएको उद्योग बाणिज्य संघका अध्यक्ष देब बहादुर रोकायाले वताए ।

महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रत्यक दिन प्रस्तुत गरिने आयोजकले बताएको छ । सात दिनसम्म संचालन हुने महोत्सबमा बाजुराबासीलाई भरपुर मनोरन्ज दिन स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक उद्योग बाणिज्य संघले बताएको छ ।

बाजुराको पर्यटनको बिकासमा आबस्यक बजेटको ब्यबस्था गर्ने : मुख्यमन्त्री भट्ट

बाजुरामा प्रथम बाजुरा महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले आफु पहिलो पटक बाजुरा पुगेको बताउँदै बाजुराको विकासका लागि प्रदेश सरकार सक्रिय रहेको बताए ।

बाजुरा जिल्ला पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको बिकास आवश्यक रहेको मुख्य मन्त्री भट्टले बताए । बाजुरा जिल्लामा रहेको बडीमालिका, बुढीनन्दा लगायत बिभिन्न पर्यटकीय क्षेत्रको बिकास मात्र गर्ने हो भने बाजुरा आर्थिक रुपमा सम्पन्न हुने मुख्य मन्त्री भट्टले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट मुख्यमन्त्री भएपछि पहिलो पटक बाजुरा पुगेका हुन् । बाजुरा महोत्सव उद्धघाटनका लागि मात्र मुख्यमन्त्री भट्ट बाजुरा सदरमुकाम मार्तडी पुगेका हुन् ।

मुख्यमन्त्री भएको १५ महिना पुग्नै लाग्दा समेत अहिले सम्म मुख्यमन्त्री भट्ट बाजुराका कुनै पनि कार्यक्रम र अन्य कामका लागि पुग्न सकेका थिएनन् । मुख्यमन्त्री भएपछि पहिलो पटक जिल्लामा पुग्दा जिल्लावासीको अवस्था बारे बुझ्न समेत पाएकाले अव प्रदेश सरकारले बाजुरेली जनताका लागि पनि विशेष कार्यक्रम ल्याउने उनले बताए ।

मानव विकास सुचाङकमा ७७ औँ जिल्लामा पर्ने बाजुरा जिल्लाको सदरमुकाम मार्तडी सम्म नै पक्की सडक पुगे पनि यसले जिल्ला सबै समस्या हल नहुने बताएका छन् । जिल्ला सबै स्थानिय तहलाई आफ्नो पालिकामा आवश्यकता के हो त्यसको बिवरण प्रदेशमा पठाए प्रदेशले बजेटको ब्यबस्थापन गर्ने मुख्य मन्त्री भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्