Logo
Logo

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिनुपर्ने छ ।

यसै गरी पुस १८ र १९ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

२१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्