काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । उनीहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिइरहेका छन् ।
बुधबार वरिष्ठ नेता पौडेल र जिल्ला सभापति र पूर्वसभापतिहरुसँग छलफल भएको छ । सोक्रममा नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने राय राखेका थिए । केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार छलफलमा सहभागी सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्ने रहेको थियो ।
नेता पौडेल समूहमा सभापतिको ४ जना आकांक्षीबाट २ जनामा झरेको छ । नेता चन्द्र भण्डारीका अनुसार अब शेखर र प्रकाशमानमध्ये एकलाई स्वीकार गर्ने दबाब नेताहरुबाट आएको छ ।

पौडेल समूहका शेखर कोइराला र प्रकाशमान सिंह अहिलेसम्म सभापतिको आकांक्षी छन् । उनीहरुलमध्ये एक जनालाई साझा उम्मेदवार बनाउन पौडेललाई नेताहरुको दवाब बढेको छ । यसै विषण्मा छलफल गर्न आज अपरान्ह ३ बजे केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुने बताइएको छ ।
यसअघि बुधबार बिहान पनि साझा उम्मेदवारबारे पौडेल समूहको बैठक बसेको छ । तर, उक्त बैठकमा उम्मेदवार दावी गर्ने नेता नै उपस्थित नभएपछि त्यसबारे केन्द्रीय सदस्यहरुबीच मात्र छलफल भएको एक नेताले बताए ।
बैठकमा नेता कृष्णप्रसाद सिटौला समेत एकछिन मात्र सहभागी भएर बाहिरिएपछि नेता पौडेल उनकै निवासमा भेट्न पुगेका थिए । सोक्रममा नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेको बताइएको छ । तर सिटौलाले आफ्ना टीमका नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको स्रोतको भनाइ छ । पौडेल समूहबाट सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा लागेका छन् ।














