Logo
Logo

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन । नारायणग–मुग्लिन सडकखण्डमा मोटरसाइकललाई र ट्रकले ठक्कर दिँदा आइतबार साँझ एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप खड्का रहेका छन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–२९ केराबारीमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते खड्काको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन्
त्यसैगरी धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नंको मोटरसाइकललाई एउटा अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।

पौडी खेल्ने क्रममा एकको मृत्यु

काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरू अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्