Logo
Logo

राप्रपाले समान विचारधारा भएकासँग एकता र सहकार्य गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान विचारधारा भएका पार्टी, संस्था, व्यक्ति, धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले समान विचारधारा भएकासँग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पार्टीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको मर्यादाक्रम निर्धारणका लागि उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीका सवै भातृसंगठनलाई ३ महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका पेश गर्न पनि निर्देशन दिएको उनले बताए ।

बैठकले महाधिवेशनलाई सम्पन्न गर्न सहयोग गर्ने सवैप्रति धन्यवाद प्रकट गर्ने निर्णय पनि गरेको छ । बैठकमा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यलाई आवश्यक जिम्मेवारी दिइने भन्दै काम नगर्ने सदस्यलाई पार्टीभित्र कुनै ठाँउ नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्