Logo
Logo

एमालेमा मेरोभन्दा ठूलो त्याग कोमल वलीहरूको होला !


नरेश खरेल, नेता, नेकपा (एमाले)


काठमाडौं । निरंकुश राजतन्त्र र तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध भएको झापा बिद्रोहको क्रममा नरेश खरेलले सर्वस्वसहित जन्मकैदको सजाय भोग्नुपर्याे । शोषण, दमण र उत्पीडनमा परेका जनताको मुक्तिका लागि कठोर सजाय स्वीकारेका खरेलले १६ वर्ष जेलजीवन बिताए ।

जेलभित्र होस या बाहिर निरंकुशताविरुद्ध खरेल खरो रुपमा उत्रिए । पञ्चायती शासकलाई चुनौती दिँदै खरेलसहित सीपी मैनाली, घनेन्द्र बस्नेत, नारद वाग्ले, हर्क खड्का, भिष्म धिमाल, जीवन मगर, धर्म घिमिरे, प्रदीप नेपाल, माधव पौडेल, वीरबहादुर लामा, अशोक न्यौपाने, राजन राजवंशी, गोपाल शाक्य, कामेश्वर हलुवाई नख्खु जेल ब्रेक गरेर हिडेका थिए ।

जेल ब्रेक गर्ने १५ जनामध्ये पाँच जना पाँच दिनपछि पुनः पक्राउ परे । त्यसमा खरेल एक हुन् । प्रहरी हिरासतमा यातनाको सीमै थिएन । पञ्चायती शासकले अनेक प्रलोभन र धम्की दिन्थे । तर, पनि उनी गलेनन् ।

०४६ सालको राजनीतिक परिवर्तनपछि मात्रै उनी जेलबाट छुटे । नयाँ जनवाद आउँछ र त्यसले सवै समस्याको समाधान गर्छ भन्ने मान्यतामा दृढ रहेका खरेल लोकतान्त्रिक गणतन्त्रमा आफ्नै पार्टीसत्ताको निशानामा परे । सँगै जेलमा बसेका योद्धाको सूची केन्द्रीय कमिटीको सदस्यमा नपारेका केपी शर्मा ओलीले खरेललाई हराउन चिट नै बाँडे ।

जबकी, खरेलले मनोनयन दर्ता गरेर फिर्ता लिइसकेका थिए । आफ्नै कार्यकर्तामाथि त्यसमा पनि परिवर्तनको आन्दोलनमा सँगै जेल बसेका योद्धामाथि पार्टी नेतृत्व किन अनुदार ? नरेश खरेल गरिएको कुराकानी प्रस्तुत छः

चितवन महाधिवेशनलाई कसरी लिनुभएको छ ?
नेकपा (एमाले)को दशौँ महाधिवेशन भइसकेको छ । चितवन महाधिवेशनमा के–के भयो भन्ने कुरा तपाईं हामीले देखिहाल्यौँ । यो एउटा इतिहासको विषय पनि बन्यो । विश्लेषकका लागि विश्लेषणको विषय पनि बन्यो ।

तपाईंले मनोनयन दर्ता गरेर फिर्ता लिनुपर्ने अवस्था किन बन्यो ?
मैले लामो समय पार्टीमा काम गरिसकेँ । पार्टीमा लागेको ५५ वर्ष भयो । सक्रिय राजनीतिबाट टाढा रहने मेरो सोच थियो । महाधिवेशनको क्रममा सर्वसम्मत कमिटी चयन गर्ने विषय आयो । पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर सर्वसम्मत गर्ने निर्णय पनि भयो । तर, नेतृत्वबाट सूची सार्वजनिक गर्ने बेलामा सर्वसम्मतको झल्को आएन ।

म जीन्दगीभर पदमा झुण्डिरहनुपर्छ भन्ने मान्यता राख्दिनँ । म कम्युनिष्ट भएँ, अहिलेसम्म कम्युनिष्ट भइरहेको छु । मैले जे गरेँ, ठीक गरे भन्ने लाग्छ । अब पनि म त्यही आदर्शप्रति इमान्दार भए बस्छु । नेतृत्वको ध्यानाकर्षण होस भन्ने हिसावले मनोनयन दर्ता गरेको थिएँ । ध्यानाकर्षण गराएरै जिम्मेवारीमा नरहने सोचअनुसार नै मैले अन्तिममा उम्मेदवारी फिर्ता लिएको हुँ ।

झापा आन्दोलनका क्रममा १६ वर्ष जेल बस्नुभयो, त्याग र तपस्याको खानी नै हुनुहुन्छ । तपाईं केपी ओलीको सूचीमा नपर्ने अनि हिजो भर्खर पार्टी छिरेका अवसरवादीहरू पर्ने स्थिति कसरी बन्यो ?

त्यो त नेतृत्वले नै विचार गर्ने कुरा भयो । ती साथीहरू नै अहिलेको लागि आवश्यक हुन भन्ने नेतृत्वको बुझाइ हुनुपर्छ । हामी हिजो संकट परेको, अप्ठेरो बेलामा काम गरेका मान्छे हौँ । अहिले सजिलो स्थितिमा सम्भ्रान्त वर्गका मान्छेले पार्टी संचालन गर्ने हो भन्ने भएरै होला । उनीहरूसँग अकुत सम्पत्ति, गाडी, आदि इत्यादि सबै कुरा उपलब्ध छ । म त सडकबाट राजनीति गरेको मान्छे । मसँग त्यो सम्भव छैन् । ती सबै कुरा उपलब्ध नभएको कारणले मेरो आवश्यकता महसुस भएन होला ।

जहाँसम्म त्याग, तपस्याको कुरा गर्नुभयो, यसको आ–आफ्नै परिभाषा हुन्छ । कोमल वलीले ठूलो त्याग, तपस्या गरेर विवाहसम्म गर्न नगरी अगाडि बढ्नुभयो । यो त्याग एउटा किसिमको होला । झापा आन्दोलनमा केपी कमरेडले गरेको त्याग र उहाँका अरू साथीहरूले गरेको त्याग अर्कै खालको होला । मोती दुगडलगायतका साथीहरूले गरेको पनि त त्याग नै होला ।

त्यागको परिभाषा कसरी गर्ने भन्ने समस्या नै अहिले रह्यो । हाम्रो त्याग त अतीतको कुरा भइसक्यो । हामीले यसो गर्यौं, उसो गर्यौं भनेर सम्झनु नै अब त व्यर्थ छ । अबको पुस्ताले हिजोको कुरा सम्झेर, गरेर हुने स्थिति पनि छैन । हामीले त्याग गर्यौं भन्ने पनि लाग्दैन । हामीले कर्तव्य गर्यौं । जुन त्यतिबेला गर्नुपर्ने थियो । हामीले हिजो जे गर्यौं ठीक गर्यौं । त्यसमा पश्चताप छैन । अहिलेको सबै गतिविधि हेर्दा समयसापेक्ष त्याग हुन्छ होला जस्तो लाग्छ । सायद, अहिलेका साथीहरूले गरेको महान त्यागलाई ध्यान दिएर केन्द्रीय कमिटीको सूची बनाइएको होला ।

पैसाले नै मूख्य भूमिका खेल्यो त ?
अब, राजनीतिक रुपमा सक्षम भएर मात्र हुँदैन, धन सम्पत्तिमा पनि सक्षम हुनुपर्छ भन्ने स्थितिमा पार्टी पुग्यो ।

प्यानल बनाउन नपाउने निर्णय उलंघन गरेर अघोषित प्यानलसहित केपी ओली महाधिवेशनमा गए । तपार्इंहरू केही एक्लै पर्नुभयो होइन ?
दशौँ महाधिवेशनमा प्यानल नबनाउने हाम्रो संस्थागत निर्णय नै हो । त्यतिमात्र होइन, सर्वसम्मत बनाउन २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने निर्णय तत्कालिन स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट सर्वसम्मत पारित भयो । जबकि, हामीले विधान महाधिवेशनबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय लिएका थियौँ ।

बाह्य आक्रमणको स्थितिलाई मध्यनजर गर्दै संख्या बनाउने सर्वसम्मत निर्णय भएको थियो । तर, विडम्बना नाम प्रस्ताव गर्ने बेला सर्वसम्मतको छनक नै आएन । पुराना साथीहरू उपाध्यक्ष (भीम रावल), उपमहासचिव (घनश्याम भुसाल)को नाम ओलीको सूचीमा पदाधिकारीमा अटाएन । उनीहरूको नाम सदस्यमा मात्रै राख्ने प्रस्ताव आयो ।

जसले एउटा असन्तुष्टि पैदा गर्यो । ओलीको त्यो प्रस्तावलाई सहज रुपमा स्वीकार गर्ने स्थिति बनेन । प्रस्ताव स्वीकार नगरेपछि महाधिवेशन प्रतिनिधिलाई खुला रुपमा छाडिदिएको भए राम्रो हुन्थ्यो । त्यसमा पनि हस्तक्षेप गर्ने काम भयो ।

झापा आन्दोलनको अगुवा, सँगै जेल बसेको योद्धामाथि ओलीले मतदान नगर्नू भनेर चिट नै बाँड्नुपर्ने अवस्था कसरी आयो ?
सर्वसम्मतको नाममा ओलीबाट पदाधिकारी र केन्द्रीय सदस्यको सूची बन्दसत्रमा पेश भयो । त्यसमा सर्वसम्मत भएन । त्यसपछि आफूले तयार पारेको सूचीअनुसार निर्वाचन गराउन महाधिवेशनमा चिट बाँडिएछ । पहिला त नाम मात्र बाँडिन्थ्यो । अहिले त भोट नदिनेको नाम क्रस गरेर बाँडिएछ । त्यति मात्र होइन, फलाना, फलानालाई भोट नदिनू भनेर प्रतिनिधिका हातहातमा चिट पुर्याइएछ । आफूले इच्छाएका व्यक्तिलाई मात्रै भोट हाल भनेर चिट बाँड्नु गैरराजनीतिक चरित्र हो ।

वास्तवमा यस्तो अहिलेसम्मका कुनै पनि महाधिवेशनमा कहिल्यै भएको थिएन । प्यानल नबनाउने भन्ने समझदारी विपरित नै ती काम भए । त्यो नहुनुपर्ने थियो । अब त, त्यसको परिणाम पनि आइसक्यो । नेतृत्वले त्यसै गर्न उपयुक्त ठानेर गरेको होला, यसो गर्दा नै फाइदा हुन्छ भन्ने लागेको होला । अहिले तत्कालका लागि त फाइदा भइनै सक्यो । यसो गरेर भोलि फाइदा नहुन पनि सक्छ ।

ओलीको सूचीप्रति चुनाव जित्छु भन्ने लागेका नेता असन्तुष्ट भएपनि आवाज उठान सकेनन् किन ?
सबै कमरेड पार्टीभित्रकै हुन । स्वच्छ प्रतिष्पर्धा गरेर जित्नुपर्छ भन्ने मान्यता बनाइदिएको भए सबैभन्दा राम्रो हुन्थ्यो । आफूले भनेको मान्छेले नजिते पनि एमालेकै नेता त निर्वाचित हुन्थे, कांग्रेस, माओवादी वा राप्रपा त आउने थिएनन् । अहिले जुन प्रवृति देखापर्यो, त्यो उपयुक्त होइन भन्ने लाग्छ । भन्ने एउटा, गर्ने अर्को भयो ।

लिष्ट नबाँड्ने भनियो, तर बाँडियो । सर्वसम्मत गर्ने भनियो, तर त्यसको छनक पनि आएन । भन्नका लागि भनिने कुरामा धेरै विश्वास गर्नु हुँदोरहेनछ । गर्ने कुरो के हो त्यसलाई विश्वास गर्नुपर्ने रहेछ । त्यसैलाई आधार बनाएर अगाडि बढ्नुपर्ने रहेछ । धेरै साथीहरूलाई प्रतिष्पर्धामा अब्बल सावित भएर आउँछु भन्ने लागेको थियो । तर, प्रतिष्पर्धाको वातावरण नै नेतृत्वले बनाइदिएन ।

एमाले भनेकै ओली, ओली भनेकै एमाले भन्ने अवस्था बन्यो होइन ?
माधवकुमार नेपाल, झलनाथ खनालहरूले पार्टी छाडेपछि एमालेमा ओली नेता हो कि होइन भन्नेमा कुनै विवाद नै थिएन । प्रतिद्धन्द्धी नेताहरू पार्टीमा नभएपछि ओलीकै नेतृत्व हुनेमा शंकै थिएन । ओली भएपनि जो भएपनि हामी सबैले रगत पसिना बनाएर स्थापित गरेको पार्टी हो एमाले । यसका कमिकमजोरीहरू छन् ।

कमिकमजोरीहरू समयक्रममा सुध्रिन्छन, सुधार्न सकिन्छ भन्ने मान्यतामा हामी थियौँ । ओलीका विचारसँग हाम्रो असहमति थियो, तर ओलीलाई नेता मान्नु हुँदैन भनेर हामी आएका थिएनौँ । व्यक्ति सर्वेसर्वा हुँदैन । ओली कमरेड पनि यही महाधिवेशनबाट आउने अध्यक्ष त हो । तर, भोट नै नहाल भनेर चिट बाँड्ने कामसमेत भयो । मैले त केन्द्रीय सदस्य बन्नका लागि उम्मेदवारी दर्ता गरेको होइन, नेतृत्वको ध्यानाकर्षण गराउन मात्रै हो । महाधिवेशनमै नआउँदा गलत अर्थ लाग्ला भनेर मात्रै चितवन गएको थिएँ ।

ओलीको सूचीमा परेका मात्रै कमिटीमा रहने अवस्था बन्यो । अब एमालेमा गुटबन्दी अन्त्य हुन्छ त ?
जतिसुकै गुटबन्दीलाई अन्त्य गर्छु भनेपनि स्वार्थहरूको टकराव हुन्छ । भरपर्दा, विश्वासिला भनिएकासँग पनि अन्तरविरोध सुरु हुन्छ । अन्तरविरोध सर्वव्यापी विषय हो । मलाई के लाग्छ भने १०बुँदे पक्षधर सवै निख्रेर गए पनि एमालेमा फेरि गुटबन्दी हुन्छ । त्यहाँ स्वार्थहरूको टकराव हुन्छ । त्यो अनिवार्य विषय हो । अहिले हामीले कामना गरेर हुने पनि केही छैन् ।

विधि, पद्धतिको लागि पार्टीभित्र आन्तरिक संघर्ष गर्नुभयो, १०औँ महाधिवेशनबाट तपाईं कमिटी बाहिर हुनुहुन्छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?
सामान्य लेखपढ गरेर आफ्ना अनुभव, अनुभूतिहरूलाई समेटेर अगाडि बढ्छु । एमालेले राम्रो काम गरोस भन्ने मेरो चाहना हो । यहाँ धेरै साथीहरूको रगत, पसिना बगेको छ । यसलाई सम्मान एमालेले गरोस, अगाडि बढोस भन्ने चाहना हो । अरु कुरा त यसको नीति, कार्यक्रमहरू हेरेपछि नै धारणा बनाउने कुरा हुन्छ ।

म ६८ वर्ष पुगिसकेँ । कमिटी बाहिर रहेकोमा कुनै गुनासो छैन । यसो गरौँ भनेर सल्लाह गरेको भए, सर्वसम्मत नहुने भयो के गरौँ भनेको भए अलि सहज हुन्थ्यो भन्ने मात्रै हो । अर्को कुरा, ओलीको त्यो सूचीमा पर्छु भन्ने मलाई आशा पनि थिएन ।

विधि, पद्धति अनुसार पार्टीलाई हिडाउनुपर्छ र जनताको बहुदलीय जनवाद अनुसार पार्टीमा आन्तरिक प्रतिष्पर्धा हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न मात्र तपाईंको उम्मेदवारी थियो ?
पक्कै पनि । मैले ध्यानाकर्षण गराउनका लागि उम्मेदवारी दर्ता गराएको थिएँ । सुवासजी (सुवास नेम्वाङ)ले फोन गर्नुभयो, ‘अध्यक्ष (केपी ओली) सँगै छु’ भन्नुभयो । मैले उहाँहरूलाई फोनमै भने, ‘पार्टीको परम्परा र विधि, पद्धतिअनुसार अगाडि बढ्नुस । मेरो उठ्ने मनस्थिति होइन । मेरो मुख्य उद्देश्य तपाईंहरूको ध्यानाकर्षण गर्नु थियो, गरेँ । म उठ्दिन, फिर्ता लिन्छु ।’ कतिपय कुरा नैतिकतासँग गाँसिन्छन । मैले त्यहाँबाट फिर्ता हुनु नैतिक कर्तव्य थियो । मैले त्यो पूरा गरेँ । समयमै मनोनयन दर्ता फिर्ता गरेँ ।

अब तपाईं एमालेको सल्लाहकार परिषदमा बसेर काम गर्नुहुन्छ ?
सल्लाहकार परिषदको कुरा कसैले सुने त ठीकै हुन्थ्यो होला । अहिले मैले सल्लाहकार परिषदमा बस्ने÷नबस्ने बारे केही सोचेको छैन । म अहिले खास जिम्मेवारीमा रहेर काम गर्ने मनस्थितिमा पनि छैन् । कुनै पनि ठाउँमा समेटिएर बस्नुपर्छ भन्ने पनि लाग्दैन ।

महाधिवेशनमा १०बुँदे पक्षधर एकजुट हुन सकेनन्, भीम रावल र घनश्याम भुसाल एक्लै परे होइन ?
१० बुँदेसँग मेरो धेरै साइनो, सम्बन्ध पनि रहेन । मेरो आफ्नै किसिमको बुझाइ छ । उहाँहरू के गर्दै हुनुहुन्छ, थाहा भएन । महाधिवेशनभर मेरो कसैसँग पनि सम्पर्क भएन । त्यसकारण उहाँहरूको के स्थिति छ भन्न सक्दिनँ ।

महाधिवेशनमा रावल र भुसालले तपाईंसँग भोट माग्नुभएन ?
माग्नु भएन । उहाँहरूले मलाई भोट दिनु भनेर एसएमएस पनि गर्नुभएन, भेटेर पनि माग्नु भएन । मैले विवेक प्रयोग गरेर मतदान गरेँ ।

भोट पनि माग्न नसक्ने अवस्था थियो र ?
भीम रावलले त अलि पहिले नै अध्यक्षमा उठ्ने घोषणा गर्नुभएको थियो । उहाँले त माग्दा हुन्थ्यो पनि । घनश्यामजीलाई त सर्वसम्मतमा आफू पर्छु भन्ने नै लागेको थियो होला । अधिकांश साथीमा भोट माग्नुपर्छ भन्ने सोचाइ नै थिएनन् । सर्वसम्मत भएर जान्छ भन्ने भएकाले धेरै साथीहरूले भोट माग्ने अवसर नै प्राप्त गर्नुभएन ।

अध्यक्षमा उम्मेदवारी दिनु, सहमतिको प्रयास गर्दा पनि उपाध्यक्षमा बस्न नमान्नु, केन्द्रीय सदस्यको सपथ लिन्न भन्नु भीम रावलको पार्टीबाट बाहिरिने चरण हो भनेर एमालेजनले भने । तपाईंले कसरी लिनुभएको छ ?
उहाँसँग मेरो प्रत्यक्ष कुराकानी भएको छैन । बन्दसत्रमा माइकमा बोलेको मात्र सुनेको हुँ । उहाँको आन्तरिक कुरो के हो मलाई धेरै जानकारी छैन । बाहिरिने मनस्थित भए पहिल्यै बाहिरिनुभएको भए हुन्थ्यो । त्यस्तो हो जस्तो पनि लाग्दैन । कुरो कति भने कुनै न कुनै कारणले उहाँको चित्त नबुझेको प्रष्टै हो । के कारण चित्त बुझेन ? नेतृत्वले बुझ्नुपथ्र्यो ।

ओली र रावल बसेर कुराकानी गरेर समाधान खोज्नु उत्तम हुन्थ्यो, अहिलेको परिस्थिति पनि बन्दैनथियो । त्यसको लागि को जिम्मेवार छ भन्ने चाहिँ मैले अहिले ठ्याक्कै भन्न सक्दिन । चुनाव लड्दा हार्छु भन्ने त रावललाई पहिल्यै थाहा थियो । थाहा हुँदाहुँदै पनि जनताको बहुदलीय जनवादलाई स्थापित गर्न चुनाव लडेको भन्नुहुन्छ उहाँ ।

भित्री कुरो त समयक्रममै थाहा हुन्छ । उहाँलाई उचित ढंगले नेतृत्वले समेटेर अघि बढे उहाँ एमालेमा बस्नुहोला । होइन भने, उहाँको आवश्यकता सकियो भन्ने ढंगले नेतृत्व अघि बढे उहाँले छाड्नुहोला । त्यो अहिले नै भन्न सकिदैन ।

एमालेमा अध्यक्षमा पराजितलाई वरिष्ठ नेता बनाउने लन छ ? त्यो स्थान रावलले लिने सम्भावना कतिको देख्नुहुन्छ ?
अहिलेको विधान अनुसार त्यस्तो म देख्दिन । उहाँ पूर्व अध्यक्ष होइन । अध्यक्षमा उठ्नेलाई वरिष्ठ नेता दिने कुरो त्यतिखेर पनि थिएन, अहिले पनि छैन । कसरी समेट्ने भन्ने चाहिँ नेतृत्वले जान्ने कुरा हो । उहाँले केन्द्रीय कमिटी सदस्यमा जित्नुभयो कि भएन भन्ने पनि थाहा छैन । केन्द्रीय कमिटी सदस्यमा पनि हार्नुभयो भने त कि सल्लाहकार भएर बस्नुपर्यो, कि त निष्कृय हुनुपर्यो । त्यो भन्दा बाहेक त उहाँसँग उपाय छैन ।

आगामी चुनावमा एमालेले बहुमत ल्याउँछ भनेर ओलीले हरेक कार्यक्रममा भन्ने गरेको सुनिन्छ । तपाईंलाई के लाग्छ ?
त्यो कुरा ओलीलाई नै थाहा होला, अथवा चुनावमा जनताले निर्णय गर्ने कुरा हो । जुनसुकै ठाउँमा पनि केन्द्रीय कमिटी अध्यक्षको मातहतमै रहेर चल्ने हो । अहिले त झन चल्ने नै भयो । कसरी गति लिन्छ भन्ने विषय त पछि गतिविधि हेरेर थाहा हुन्छ । एकमत भएर अगाडि बढेपछि विरोध, आलोचना हुने कुरै भएन । यसले ठूलो उपलब्धि प्राप्त गर्न पनि सक्छ । तर, भनेजस्तो सजिलो पक्कै छैन ।

प्रतिक्रिया दिनुहोस्