Logo
Logo

दुई वर्षपछि एउटै मञ्चमा ओली-प्रचण्ड, एकै स्वरमा राजावादीको प्रतिवाद



काठमाडौं । करिव दुई वर्षयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पानी बारबारकै अवस्था छ ।

तस्बिरः कान्तिपुर

तत्कालीन नेकपामा बढेको अन्तरविरोध हुँदै शुरु भएको ओली–प्रचण्ड सम्बन्ध ओली प्रतिगमन, नेकपा खारेज र एमाले विभाजनसम्म आइपुग्दा झन चिसियो । पछिल्लो समय यी दुई नेता सबैभन्दा धेरै आरोप प्रत्यारोपमा उत्रने गरेका छन् । कतिपय अवस्थामा यी दुई राजनीतिक हस्ती व्यक्तिगत आरोप प्रत्यारोपमा समेत अभ्यस्त हुँदै गएको आभास हुन्छ ।

ओली र प्रचण्डलाई एउटै मञ्ममा नदेखिएको लगभग दुई वर्ष नै भइसक्यो । एमालेको १०औं महाधिवेशनमा प्रचण्ड सहभागी भएको भए त्यहाँ ओली–प्रचण्ड एउटै मञ्चमा देखिने थिए । तर, एमाले महाधिवेशनमा प्रचण्ड गएनन् । तर, कांग्रेसको १४औं महाधिवेशनमा ओली–प्रचण्ड बाध्यताले एउटै मञ्चमा देखिए । त्यति मात्र होइन एउटा सन्दर्भमा ओली–प्रचण्डको स्वर पनि एउटै थियो !

कांग्रेस महाधिवेशन सफलताको शुभकामना दिने क्रममा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेको एउटा शब्द प्रतिवाद गर्ने क्रममा ओली–प्रचण्डको एउटै स्वार सुनिएको हो ।

सम्बोधनका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले ‘राजनीतिक दलका नेता गाउँ पुग्दा चोर भन्छन्’ भन्दै धारणा राखेका थिए । यसै धारणाको ओली–प्रचण्डले एउटै स्वरमा प्रतिवाद गरेका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनको अभिव्यक्तिलाई माओवादी अध्यक्ष प्रचण्डले विगत झै अहिले पनि अग्रगमन पक्षधरलाई प्रश्चगमनकारी शक्तिले बद्नाम गर्न खोजेको भन्दै प्रतिवाद गरे ।

सम्बोधनका क्रममा प्रचण्डले भने– ‘विचार प्रस्तुत गर्ने क्रममा एकजना वक्ताले नेताहरु गाउँ आउँदा चोर आयो भन्छन् भन्नुभयो । यो साँचो हो त साथीहरु ? होइन । गलत हो । यो के को निम्ति भनियो ? लोकतान्त्रका लागि संघर्ष गरेका, शान्तिका निम्ति संघर्ष गरेका, राजनीतिक दल र नेताहरुलाई बद्नाम गर्न खोजिन्छ, त्यहाँ निरंकुशता र तानाशाही जन्माउने षड्न्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी नै आउने गर्दछ । त्यस कारण हामी सतर्क हुन जरुरी छ ।’

एमाले अध्यक्ष ओलीले आजका सबै उपलब्धीका हिमायती राजनीतिक दल र दलका नेतालाई अपमानित गर्ने अभिव्यक्तिको रुपमा लिङ्देनको धारणा खण्डन गरे ।

सम्बोधनका क्रममा ओलीले भने– ‘राजनीतिक दलहरुले राणा शासन उल्टाउनेदेखि, राजतन्त्र फाल्नेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने सम्मको, नागरिक स्थाभिमान बढाउने र स्थापित गर्नेसम्मको महत्वपूर्ण अभिभार पूरा गरेका छन् । अचम्म लाग्छ । नागरिक स्वाभिमान नै छोडिदिने ? अनि नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन ? हरेक नेता चोर हुन्छन् ? यस्ता कुरा बोकेर हिन्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई, भर्खर भर्खरको बाछो हिन्न जान्दैन अलि बढि कुद्छ क्या !’

राजावादीले आक्षेप लगाउँदा ओली–प्रचण्डले एउटै स्वरमा प्रतिवाद गरे पनि यी दुईको सम्बन्ध सुधार आएको भने होइन । कांग्रेस महाधिवेशनमा ओली सबैभन्दा ढिलो पुगेका थिए । दायाँबाट क्रमस एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा हुँदै ओलीका लागि आसनको व्यवस्था गरिएको थियो ।

बायाँतर्फबाटै मञ्च उक्लनुपर्ने हुँदा क्रमस माधव, प्रचण्ड र देउवालाई नमस्कार गर्दै ओली मञ्च उक्ले । माधव अन्तै फर्केका थिए भने ओलीले नमस्कार गर्दै गर्दा प्रचण्डले मुन्टो अन्तै बटारे । तर, अन्तिममा दुई नेताबीच हेराहेर र मन्दमुस्कान साटासाट देखियो ।

प्रतिक्रिया दिनुहोस्