Logo
साहित्य

‘दिमागमा कुनै विषय झट्ट आए डायरीमा टिपिहाल्छु’



काठमाडौं । युवराज अधिकारी हाल नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुन् । निगममै साढे तीन दशक विताएका अधिकारी कुसल सर्जक पनि हुन् । उनी गीत, कविता र कथा लेखनमा रुची राख्छन् । वि.सं. २०१९ साल साउन १५ गते इलाममा जन्मेका अधिकारीको विद्यालय जीवनमै वि.सं.२०३५ सालमा ‘मेरा चित्कारहरू’ कविता संग्रह प्रकाशित भएको थियो ।

वि.सं. २०७६ सालमा ‘देउरालीको फूल’ गीति एल्बम प्रकाशित भएको छ । उक्त गीति एल्बममा ६ वटा गीत समावेश छन् । सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाको स्वर छ । वि.सं.२०३५ देखि विभिन्न साहित्यिक पत्र–पत्रिकामा अधिकारीका रचनाहरू प्रकाशित हुँदै आएका छन् । उनका गीत र कविताहरूको संग्रह प्रकाशोउन्मुख छ । जसमा अधिकारीले अहिलेसम्म लेखेका गीत र कविता समावेश हुनेछन् । तर, अधिकारीले त्यसको न्वारन भने गरिसकेका छैनन् ।

जहाँ इच्छा, त्यहाँ उपाय

एउटा कर्मचारीले दैनिक कार्यालयमै समय बेथित गर्नुपर्ने हुन्छ । तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै सिर्जनशील अधिकारीलाई लेख्न समयले छेकेन । उनी बिहान र बेलुका अझ कतिपय बेला त रातीको समय सिर्जनामा खर्चन्छन् । उनी भन्छन, ‘सिर्जनाको विषयमा ठ्याक्कै यतिबेला भनेर हुँदैन, कुन समय आफूलाई लेख्न मन लाग्छ, त्यो नोट गरिहाल्छु । जुन बेला फुर्छ, त्यही बेला लेख्छु । घरमा अरु सुतिसकेपछि पनि म कविता लेखेर बस्छु । सवारी चलाएको बेला दिमागमा कुनै विषय झट्ट आयो भने केही पार्किङ गरेर डायरीमा टिपिहाल्छु ।’

कथा, कविता र गीतको भेद

एम.ए., बि.एल.सम्मको औपचारिक शिक्षा लिएका अधिकारीका कथा, कविता र गीतमा फरकपन भेट्न सकिन्छ । सिर्जनामा देशभक्ति, स्वाधिनता र स्वाभिमान झल्कनुपर्ने उनको मान्यता छ । मानवीय पक्षलाई समेटेर आफूले देखेको÷भोगेको र अरुले देखेको÷भोगेको विषयलाई समेटेर उनी कलम चलाउँछन् ।

कवि, कथाकार र गीतबार अधिकारीलाई समय र मेहनतका हिसावले कविता सजिलो लाग्छ । उनी भन्छन, ‘कथामा अलि धेरै समय दिनुपर्छ, गीतमा अलि धेरै मेहनत गर्नुपर्छ । सबै गीत कविता हुन्, सबै कविता गीत हुँदैनन् । गीत बन्नका लागि त्यसको प्यारामिटर मिल्नुपर्छ । म्युजिक मिल्नुपर्छ । स्वरमा पनि लयवद्ध हुनुपर्छ । थोरै शब्दमा धेरै भावना अँटाउन सक्नुपर्छ । त्यसैले कविता अलि सजिलो हुन्छ ।’

सिर्जनाको सोख

नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन (विसं २००९) भएको इलामको नमुना माध्यामिक विद्यालय करफोकमा अध्ययन गर्दादेखि नै अधिकारीमा साहित्यिक चेत जागिसकेको थियो । अतिरिक्त क्रियाकलाप र साहित्यिक गोष्ठी प्रतीभा देखाउन थलो बनेको थियो । यसैपनि इलाम प्राकृतिक रुपमा साहित्यिकको उर्वर क्षेत्र, त्यसमाथि भौगोलिक रुपमा निकट भएकाले दार्जिलिङको प्रभावले अधिकारीलाई सर्जक बन्न प्ररणा दियो ।

समाज रुपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । सिर्जना सकारात्मक हुनुपर्छ भन्ने मान्यता राख्छन उनी । उनी भन्छन ‘सिर्जना समाजलाई योगदान दिने खालको हुनुपर्छ । साहित्यले मानवीय भावना र संवेदनालाई समेट्नुपर्छ । सजिव हुनुपर्छ । राष्ट्रिय परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि समेट्न सक्नुपर्छ । समग्रमा सिर्जनाले मान्छेको जीवनमा सकारात्मक योगदान दिन सक्नुपर्छ ।’

सिर्जनशील र सकारात्मक साहित्य टिकाउ हुन्छ । मानवीय मर्यादा, सामाजिक प्रतिष्ठा कायम राख्दै स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अधिकारीले कलम चलाउदै आएका छन् । अधिकारीले व्यवसायिक नभइ सोखको रुपमा साहित्य सिर्जनालाई अघि बढाउँदै आएका छन् । अधिकारी परिवार प्रशासनिक पृष्ठभूमिको हो । उनको बाजे राइटर विश्वनाथ अधिकारी राणाकालमै इलाम जिल्लामा प्रशासक थिए ।

सिर्जना कुनै पनि धारमा बाँधिनु नपर्ने उनको मत छ । उनी भन्छन, ‘सिर्जना मान्छेको जीवनसँग, प्रकृतिसँग जोडिनुपर्छ । देश, काल, परिस्थितिसँग मिल्नुपर्छ । कुनैपनि सिर्जना कुनै पनि बन्धनभित्र बाँधिनु हुँदैन ।’

अधिकारीको सिर्जना
‘तिमी, तिमी जस्तै हुनु’

तिमी, तिमी जस्तै हुनु
म नि आफूजस्तै हुन्छु
यात्रा हो जीवन साथी
हिंड्दा कहिल्यै नहराउनु
हार्दा कहिल्यै नडराउनु
प्रत्येक हारले जित जन्माउँछ
नभए नि सपना देखाउँछ
हेर त
पाइला शिखरमा पनि हराउँछ
हो तिमी, तिमी जस्तै हुनु
म नि आफूजस्तै हुन्छु
आदर्शमा बहकिएर
उ जस्तै हुन नखोज्नु
तर, मर्म, कर्म र धर्म राख्नु
असफलताको मोडहरूमा
सफलताको विज खोज्नु
जिन्दगी आफ्नै हो
आफै भएर बाच्नु
हो, हाँस्दा सँगै हाँसिदेलान
साथ सम्झेर ढुक्क नहुनु
आँशु पुच्दै आँखा खोल्दा
एक्लो पाएर विचलित नहुनु
जिन्दगी कलिकति भाग्य र
धेरै कर्मको संयोजन ठान्नु
एउटै बतास र एउटै आकाश भएपनि
स्वास आफ्नो–आफ्नै ठान्नु
ईश्वर एउटै भएपनि
संस्कार आफ्नो–आफ्नै मान्नु
साथी तिमी–तिमी जस्तै हुनु
म नि आफू जस्तै हुन्छु
युद्धको मैदानमा उभिएपछि
साहास र कर्तव्यलाई जान्नु
कहिले हुरी, कहिले बतास
घाम पानीको जिन्दगी ठान्नु
रै पनि साथी
एक जुनी न हो जिन्दगी
तिमी, तिमी जस्तै हुनु
म नि आफू जस्तै हुन्छु ।

प्रतिक्रिया दिनुहोस्