Logo

एमालेजनलाई थापाको चिन्ता !



सभ्य समाजमा असल मानिस पुरस्कृत र खराब मानिस दण्डित हुन्छन् । खराब मानिसहरूले शासन गरेको समयमा भने असल मानिस दण्डित र खराब मानिस पुरस्कृत हुन्छन् । जसैजसै शासकहरूको अत्याचारको सीमा नाघेर समाजमा दुर्गन्ध फैलिन थाल्छ, त्यही दुर्गन्ध खप्न नसकेर मानिस आकुल ब्याकुल मात्र हैन, बिद्रोहमै उत्रिन लामवद्ध हुन्छन् । क्रान्तिका आधार तयार हुने शासकहरूको अत्याचारको कारणले नै हो । ठीक यहीबेला मानिस ध्रुवीकरण शुरू हुन्छ ।

शासकको स्तुति गाएर लाभ लिनेहरू, परिवर्तनको भाषालाई आत्मसात गर्न नसक्नेहरू अत्याचारी शासकको जयगान गाउने, शासकको देवत्वकरण गर्ने ध्याउन्नमा लागिरहन्छन् । परिवर्तनको भाषा उनीहरूले बुझ्दैनन् । विधि र पद्धतिको कुरा गर्नेहरू, आफ्ना आलोचकहरूलाई नामेट पारेर आफू मात्र एक्लो अधिपति बन्ने सोचले शासकहरूलाई निवस्त्र बनाइरहेको हुन्छ । बोल्नु एकथोक र गर्नु अर्कोथोक । भन्नु एकथोक तर ताक्नु अर्थोक । आफ्ना अन्धभक्त र दासहरुलाई प्रयोग गरेर भ्रम छर्न लगाएर आफ्ना अभिष्ट पूरा गर्न उनीहरु लागिरहेकै हुन्छन् । मानिसहरु पनि एकहिसाबले भ्रममा बाँचिरहेका हुन्छन् । कहिलेकाहीँ जनताको भ्रम टुट्न ठूला–ठूला घटनाहरू नै हुनु पर्दछ । अनिमात्र त्यस्ता नेताहरूको चेत खुल्छ ।

नेपाली राजनीति वद्मास र चटकेहरुको हातमा पुगेको धेरै भइसक्यो । जोगी हुन राजनीति गरेको होइन भनेर त आफूलाई कम्युनिष्ट भन्नेहरुले पहिले नै घोषणा गरिसकेका हुन । यहाँनेर गम्भीर कुरा के छ भने, देशलाई नै नाङ्गो बनाएर आफ्नो र आफ्ना आसपासको मात्रै भलाई गर्न नेताहरुलाई जनताले अगाडि सारेको होइन । जनताले त देश र जनताको हितमा काम गर्न अगाडि सारेका हुन् ।

प्रमुख राजनीतिक पार्टीहरू अधिवेशनको व्यस्ततामा छन् । नारायणी किनारमा केपी शर्मा ओलीको कुम्भ मेला सकियो । विचार, नीति र सिद्धान्तलाई ओलीको चरणमा सुम्पिएर ख्वामितको आदेश सुनेर भक्तहरू घर फर्किए । कम्युनिष्ट पार्टीका नाममा घोर व्यक्तिवादी संस्कृति र जनताको बहुदलीय जनवादको धज्जी उडाउँदै हार्न पाऊ कमरेड, चुनावमा उठ्न पाऊ कमरेड भन्ने दयनीय जनवादको रिहर्सल भयो सौराहामा ।

घनश्याम भुसालहरू हारेर रामबहादुर थापाहरू विजयी भए, नरेश खरेलहरू सूचीमा नपरेर कोमल वलीहरूको विजयोत्सव देख्न पाइयो । पर्चा र पम्प्लेट बाँडिनेको खुट्टा बाँचिदिने ओलीभक्तहरूले भीम रावलविरुद्ध मूर्दावादको नारै घन्काए । बालुवाटारबाट गलहत्तिनुको जड कारण, प्रदेश सरकारबाट निकालिनुको मूल कारणको समीक्षा हुनु त कता हो कता, ओली अहंकारको पूर्णत अनुमोदनमा भीम रावल र भुसालहरु बाधा व्यबधान भए पनि पार्टीभित्रको लोकतन्त्रको पूर्णत चीरहरण गरेर ओली जत्था सौराहाबाट फर्कियो ।

लोभ लालचका कारण र राजनीतिक भविष्यको भयले ओलीको दाउ र पाउमा लम्पसार पर्ने केही बहादुर कमरेडहरूको हिसाब–किताब इतिहासले गर्ने नै छ । दास त दास भइहाले । माक्र्सवाद, लेनिनवादको आवरणमा गुट चलाएर सिङ्गो वाम आन्दोलनलाई नारायणी नदीमा लगेर सेलाउने खलपात्र कौरव शैलीमा डँका पिटिरहेको दृश्य हेर्न सबै विवश भए ।

एमालेका कार्यकर्तालाई यसपटक कमल थापा हारेकोमा ठूलै चोट परेको छ । सामाजिक सञ्जालमा तिनका सहानुभूतिका शब्दहरु विचित्र शैलीमा आइरहेका छन् । ओलीको प्रशंसामा थापाको भक्तिगानको गुन तिर्न हुन सक्छ, थापा प्रति यति ठूलो सहानुभूति । राजेन्द्र लिङगदेन हुन या कमल थापा, यी दुवै प्रतिगमनका मतियार हुन् । यी दुईमा जो आए पनि कुनै भिन्नता हुने केही होइन । तर, गाई र राजाको नाम बेचेर वर्षौदेखि फाइदा लिइरहने थापाको फट्याइ उनका भक्तहरूले बुझे र उनलाई अस्वीकृत गरिदिए । राजनीतिमा न्यूनतम इमान्दारिता हुन्थ्यो भने आफूले लिएको मूल विचार जतिसुकै अप्ठेरो स्थितिमा पनि मानिसले छोड्ने थिएनन् ।

पञ्चायती निरंकुशताको कहालीलाग्दो त्यस्तो संकटका बेला नडगेकै कारण वीपी र पुष्पलाल पूजनीय भएका हुन । कम्तीमा आफूलाई प्रतिगामी कित्तामा रहेर राजाको वकालत गर्नेहरूले समेत काजीलाई मिल्काइदिए । आफूलाई माक्र्स, लेनीन, पुष्पलाल, मनमोहनका अनुयायी, परिवर्तनका नेतृत्वकर्ता दावी गर्ने एमालेका कमरेडहरू पूर्णत दासमा परिणत भएर निस्किए ।

एमाले भित्र हुर्किएको यो दास प्रवृत्तिले कालान्तरमा घाटा एमालेलाई नै हुने हो । दलहरु जबसम्म आफै लोकतान्त्रिक हुँदैनन्, तबसम्म अग्रगमनको नारा फगत नारा मात्र हुनेछ । न्यायालय नै भ्रष्टहरूको अड्डाको वद्नामी कमाइरहेको बेला समाजमा भ्रष्टहरूकै हाईहाई हुनु स्वाभाविक हो । यदि यो मुलुकमा न्याय हुन्थ्यो भने हरेक परिवर्तनको घडीमा जनतामाथि गोली ताक्ने कमल थापाहरू नेता होइन, जेल सजाय भोगिरहेका हुन्थे ।

अहिले अग्रगमन र पश्चगमनकारी बीचको खाडल झन फराकिलो हुँदै गइरहेको छ । हरेक आन्दोलनका उपलब्धिहरु केहि सिमित ब्यक्तिको फाइदाको निम्ति मात्र प्रयोग भएका छन् । नीति र सिद्धान्त व्यक्ति र गूटको फाइदाको निम्ति जनता भुलाउने माध्यम बनेका छन ।
यो अन्तरसंघर्षमा समय लाग्ला तर विजय अग्रगमकारीकै हुनेछ । परिवर्तन विरोधी प्रतिगामीहरूलाई समयले पक्कै दण्डित गर्नेछ ।
मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्