Logo
Logo

नेपाली समाजमा क्रुरता बढ्दै, यस्ता छन् सामूहिक हत्याका श्रृङखला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।
नेपाली समाजमा क्रुरता बढ्दै गएको छ । सोमबार बेलुका पाँचथरमा दुई परिवारका नौ जनाको हत्याले समेत यस्तो प्रवृत्ती बढ्दै गएको देखाउँछ ।
सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’

गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।

१५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् ।
त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।

सामूहिक हत्याका बढ्दो श्रृङखला
नेपालमा सामूहिक हत्याका श्रृङखला समेत बढेका छन् । यस्ता घटना खासगरी आफन्तबाटे भएका छन् । यस्ता छन् सामूहिक हत्या घटनाका श्रृङखलाः

जेठानबाटै नगरकोटी परिवारको हत्या

१६ असोज ०६० मा दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी र उनका परिवार मासुभात खाएर सुतेका थिए । सोही रात भानुसहित ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । यो सामूहिक हत्याको घटना लामो समयसम्म रहस्यमै रह्यो । तर, १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भयो ।

भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको महानगरीय अपराध महाशाखाले पुष्टि र्गयो । सुरुमा पक्राउ परे पनि संलग्नता पहिल्याउन नसकेपछि प्रहरीबाट छाडिएका उनी २ भदौ ०७२ मा संलग्नता पुष्टि भएर पक्राउ परेका थिए । आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नसामा मध्यराति बहिनीज्वाइँको परिवारकै हत्या गरेको अनुसन्धानमा खुलेको हो । तर, जेल परेको एक वर्षमै चन्द्रबहादुरको मृत्यु भइसकेको छ ।

भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै

०७४ असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन ।

नेपालगन्जमा ससुराबाटै ज्वाइँसहित परिवारका ६ को हत्या

नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका वेला श्रीमती भारत गएकी थिइन् ।

नागरिकताका लागि दाइको परिवारकै हत्या

सप्तरीको राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए । दाइले नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए । दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्