Logo
Logo
एमालेमा जिम्मेवारी बाँडफाँड

ओली र राष्ट्रपति निकटलाई महत्वपूर्ण जिम्मेवारी

तेस्रो धारका नेतलाई महत्वहीन जिम्मेवारी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ‘खास मान्छे’ लाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गर्दा ओलीका खास मान्छेले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् । एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेतालाई महत्वपूर्ण जिम्मेवारी दिइएको छैन् ।

एमालेको पूर्वउपाध्यक्ष रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेताले समेत महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पुर्वमाओवादीबाट एमाले भएका नेताहरुले पनि महत्वूर्ण जिम्मेवारी पाउनुका साथै वरियताक्रममा माथि रहेका छन् ।

गत मंसिर २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँडका साथै वरियताक्रम निर्धारण गरेको हो । बैठकले स्थायी कमिटी, पोलिटव्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारी समेत चयन गरेको छ ।

अध्यक्ष ओली आफ्नो जिम्मेवारी पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल ओलीभन्दा पनि राष्ट्रपति भण्डारीसँग निकट मानिन्छन् ।

उपाध्यक्षहरु युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापा बादललाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेवारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी उपमहासचिव प्रदिप ज्ञवालीलाई दिइएको छ । ज्ञवाली ओली निकट नेता हुन् । यस्तै प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरूङले पाएका छन् ।

अर्का उपमहासचिव विष्णु रिमालले दुई वटा मुख्य जिम्मेवारी पाएका छन् । उनलाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको प्रमुख बनाइएको छ । रिमाल पनि राष्ट्रपति भण्डारी निकट हुन् ।

पार्टी सचिव टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख पाएका छन् भने यससँग सम्बद्ध संगठनको उनी इन्चार्ज बनेका छन् । अर्का सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाएका छन् । रायमाझी र भट्ट पुर्वमाओवादीका नेता हुन् । सचिवको वरियताक्रममा उनीहरु पहिलो र दोस्रो रहेका छन् ।

यस्तै सचिव गोकर्ण विष्ट उर्जा, जलश्रोत तथा सिँचाई विभागको इन्चार्ज बनेका छन् । उनी यसअघि मोर्चा विभाग प्रमुख थिए । अर्का सचिव योगेश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख बनेका छन् । यसअघि उनी प्रचार प्रसार विभाग प्रमुख थिए । सचिवको मर्यादाक्रममा विष्ट र भट्टराई क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

सचिव रघुवीर महासेठ प्रदेश २ को इन्चार्ज बनेका छन् भने अर्का सचिव छविलाल विश्वकर्माले लुम्बिनी प्रदेशको ईन्चार्जको जिम्मेवारी पाएका छन् । सचिव पद्मा अर्याल गण्डकी प्रदेश इन्चार्ज बनेकी छन् ।

पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको प्रमुख स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाएका छन् । अधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि निकट मानिन्छन् । नवौं महाधिवेशपछि एमालेमा संगठन विभागको प्रमुखको जिम्मेवारीमा तत्कालिन उपमहासचिव विष्णु पौडेल रहेका थिए ।

स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी बागमती इन्चार्ज बनेका छन् । स्थायी कमिटी सदस्य यमलाल कँडेल कर्णाली इन्चार्ज बनेका छन् ।

महत्वपूर्ण मानिने परराष्ट्र मामिला विभागको प्रमुखमा राजन भट्टराईलाई दिइएको छ । स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे संसदीय विभागको प्रमुख भएकी छन् ।

यसपटक पार्टीको जिम्मेवारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ । उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी मात्रै दिइएको छ । नवौं महाधिवेशनपछि उपाध्यक्षले भूगोलको समेत इन्चार्जको जिम्मेवारी पाएका थिए ।

जिम्मेवारी बाँडफाँडको आधार हेर्दा ओलीले आफू निकट मानिएका उपाध्यक्षद्वय पौडेल र नेम्बाङलाईसमेत महत्वपूर्ण जिम्मेवारी नदिइएको चर्चा एमालेभित्र भइरहेको छ । १०औं महाधिवेशनमा पौडेलको दाबी महासचिवमा थियो भने नेम्बाङको दाबी वरिष्ठ उपाध्यक्षमा रहेको थियो । तर, ओलीले दुबैलाई उपाध्यक्षमा ल्याएर राष्ट्रपति भण्डारी निकट मानिने नेता ईश्वर वरिष्ठ उपाध्यक्ष भए भने शंकर महासचिव भए । यि दुबै नेता सर्वसम्मत भएका थिए ।

पुर्व उपमहासचिव रहेका नेता घनश्याम भुसालले अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै गुरुप्रसाद बराल शिक्षा विभाग प्रमुख, देवराज घिमिरे प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् भने भीमप्रसाद आचार्य पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि प्रदेश १ को इन्चार्ज आचार्य रहेका थिए ।

किरण गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन विभागको प्रमुख, लालबाबु पण्डितले सम्पर्क समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । काशीनाथ अधिकारी बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठले वागमती प्रदेशको सहइन्चार्जका साथै काठमाडौं जिल्लाको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् । अधिकारी र श्रेष्ठ ओली निकट नेता हुन् ।

स्थायी कमिटी सदस्य रघुजी पन्त संस्कृति विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल जनसंगठन समन्वयको प्रमुख, मणिचन्द्र थापाले भूमि व्यवस्था विभागको प्रमुख, स्थायी कमिटीका सदस्य शेरधन राईले प्रदेश १को सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

स्थायी कमिटीका सदस्य यामलाल कँडेल कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का स्थायी कमिटीका सदस्य अग्निप्रसाद खरेलले झापा जिल्ला कमिटीको इन्चार्ज पाएका छन् । स्थायी कमिटीका सदस्य प्रभु साहले प्रदेश २ कमिटीको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

स्थायी कमिटीका सदस्य सीता पौडेलले अखिल नेपाल महिला संघको इन्चार्जको जिम्मेवारी पाएकी छन् । स्थायी कमिटीका सदस्य डा. बिन्दा पाण्डेले श्रम तथा रोजगार विभागको प्रमुख, गोरखबहादुर बोगटी कर्णाली प्रदेश कमिटीको सहइन्चार्ज तथा हुम्ला जिल्लाको इन्चार्ज, कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज, राजेन्द्रप्रसाद गौतम प्रदेश १ को सहइन्चार्ज र संखुवासभा जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

थममाया थापाले अखिल नेपाल महिला संघको सहइन्चार्ज, शेरबहादुर तामाङले बागमती प्रदेशको सहइन्चार्ज तथा सिन्धुपाल्चोक जिल्लाको इन्चार्ज, डा.शिवमाया तुम्बाहाब्फेले संसदीय विभागको प्रमुख र हिक्मतकुमार कार्कीले प्रदेश १ को सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

सचिवमा हेरफेर

नेकपा एमालेले सचिवहरुको वरियताक्रम सच्याएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएपछि उनले सचिवहरुको वरियताक्रम सच्याएका हुन् ।

गत मंसिर २६ बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड सहित वरियताक्रम निर्धारण गरेको थियो । अध्यक्ष ओलीले जारी गरेको अपानी–१मा सचिवको वरियताक्रम सच्याएका हुन् ।

अपानी–१ अनुसार सचिवद्धय गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रहने गरी सचिवद्धय रघुवीर महासेठ र छविलाल विश्वकर्माको प्रस्ताव गर्दै बैठकले निर्णय गरेको थियो ।

९औं महाधिवेशनमा सचिव भैसकेको र १०औं महाधिवेशनमा लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरियताक्रम निर्धारण गर्दा अध्यक्ष ओलीले महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो । महासेठ ९औं महाधिवेशनमा सचिव र केन्द्रीय सदस्य दुबै पदमा पराजित भएका थिए ।

यस्तै टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो बरियताक्रममै रहेका छन् । रायमाझी र भट्ट पुर्व माओवादी केन्द्रका नेता हुन् । सच्याएको वरियताक्रममा क्रमश रायमाझी र भट्टपछि तेस्रोमा विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी पाँचौ र छैठौंमा महासेठ र विश्वकर्मा रहेका छन् । सचिवको सातौं वरियताक्रममा पद्मा अर्याल रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्