Logo
Logo

किन नेता चोर भए ?



सर्पको खुट्टा सर्पले देख्छ भनेझैँ एकजना नेताले अरू नेतालाई ‘चोर’ देखे । कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्नेक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू गाउँ गए भने जनताले ‘चोर’ भन्न थालेको कुरा सुनाए । उनले मञ्चबाटै भने, ‘गाउँको भाषामा फलानो नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले कुन नेता आएछ भनेर नेताको नाम सम्झँदैनन् । कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् ।’

हालै सम्पन्न राप्रपाको महाधिवेशनबाट निर्वाचित अध्यक्ष लिङ्देनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा ब्यापक चर्चा पायो । समर्थन र विरोधले सामाजिक सञ्जाल रंगिए । लिङ्देनको कुरा सही हो भन्ने पनि देखिए । गाली गर्ने पनि उत्तिकै । लिङ्देनलाई ‘चोर’ भन्नेको संख्या पनि कम छैनन् ।

लिङ्देनको अभिव्यक्तिलाई लिएर समारोहमै अन्य दलका नेताहरूले प्रतिवाद गरे । उनीपछि बोलेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘तानाशाही जन्माउन’का लागि लोकतान्त्रिक दल र नेताहरूलाई बदनाम गराउन खोजिएको बताए ।

प्रचण्डले मञ्चबाट कांग्रेस नेता–कार्यकर्तालाई ‘गाउँतिर नेताहरू आए भने चोर आए भन्छन्, के यो साँचो हो त साथीहरू ?’ भनेर सोधे । तर, प्रचण्डले अनपेक्षित जवाफ पाए । मासबाट गुञ्जियो–हो । प्रचण्डले हात हल्लाउँदै भने– होइन । तर, कांग्रेस नेता–कार्यकर्ताले दोहोर्याए– हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनलाई नागरिक स्वाभिमान नै छोडिदिने ? भन्दै प्रश्न गरे । उनले ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन अलि बढी कुद्ने’ भन्दै टिप्पणी गरे । सामाजिक सञ्जालमा कसैले लिङ्देनको अभिव्यक्तिमा समर्थन जनाएका छन् भने कसैले उनको दलको राजावादी नीतिलाई राम्रो देखाउन खोजिएको बताएका छन् । केहीले लिङ्देन राप्रपा भएकैले उनका ‘चोर’ फण्डालाई गलत भन्न नमिल्ने बताएका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा त्यो ‘चोर’ समूहमा आफैँ पनि छु भन्ने उनले स्वीकार गरेको र त्यो सबैले आत्मालोचना गर्न सकेको भए स्थिति धेरै फरक भइसक्ने तर्क गरेका छन् ।

लिङ्देनको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गरेको टिप्पणी हेर्दा÷सुन्दा नेताप्रति जनता आक्रोशित छन् भन्नेमा दुईमत छैन । लिङ्देलको तन्त्र, वाद, मुद्दालगायतका धेरै कुरामा असहमति छ । तर, यहाँ ती विषयको बहस गर्न खोजिएको होइन । केवल समाजले कस्तो राजनीतिक नेता खोजिरहेको छ ? जन्माइरहेको छ ? भन्ने विषयमा मात्रै चर्चा गर्न खोजिएको हो ।

हुन त ‘सत्य कुरा तितो नै हुन्छ’ भन्छन् । तितोले फाइदा गर्छ र गुलियोले हानी गर्छ भन्ने प्रायः सबैलाई थाहा भएपनि धेरैले मन पर्ने भनेको गुलियो नै हो, खानेकुरा होस् या बोली । नेताको गुलियो कुरामा कति जनता फसे, कति ठगिए भन्ने धेरैले हिसाबकिताब राखेकै होलान । यहाँ ‘चिप्लो जिब्रो, मन कालो’ भएका धेरै छन् । जसले गर्दा राजनीतिप्रति वितृष्णा बढेको छ । जनता वाक्कदिक्का भएका छन् ।

राजनीतिक दल र नेताहरूप्रति देशवासीमा चरम वितृष्णा छ भन्ने गरिन्छ । चियागफदेखि सामाजिक सञ्जालका टिप्पणीहरू हेर्दा त्यस्तै लाग्छ । ‘नेता खत्तम भए, चोरले देश बिगारे, नेता काम लागेनन्’ भन्ने जस्ता अभिव्यक्ति धेरैको मुखबाट सुनिन्छ । आफूले भोट दिएर जिताएको नेतालाई सल्लाह दिने र गाली गर्ने अधिकारै आफूसँग भएको मतदातालाई लाग्नु स्वाभाविकै हो ।

राजनीतिप्रति वितृष्णा जाग्नु र नेतालाई यसरी गाली गर्नु उनीहरूले नै गरेको कामको प्रतिफल हो । चुनाव आएपछि आश्वासनको पोको लिएर मतदातासामू पुग्ने । चुनाव जितेर गएपछि फर्केर नहेर्ने, जनताको समस्या एउटा कानले सुन्ने र अर्को कानले उडाइदिने प्रवृत्तिले हो । त्यसमाथि स्वार्थपूर्ण राजनीति ।

अहिले राजनीति देश र जनताका लागि नभएर मोजमस्तीका लागि बन्न थालेको छ । राजनीति समाज परिवर्तन, मुलुकको समृद्धि र विकासका लागि नभएर पद, प्रतिष्ठा र पैसामा केन्द्रित बन्न पुगेको छ ।

राणा शासनदेखि संघीय गणतन्त्रसम्म स्थापना गर्न लामो संघर्ष गरेका नेताका महत्वपूर्ण योगदानलाई कदापि भुल्न हुँदैन । तर, नेताले पनि आफ्ना आदर्श, सिद्धान्त र संघर्षका गाथा बिर्सिदै गएका छन् । व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थालेका छन् ।

विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारीका सिद्धान्त, नैतिकता र विचार खोलाको तिरमा सेलाइसक्यो, बेचिसकियो । भ्रष्टाचार, स्वेच्छाचारिता, व्यक्तिवादी सोचहरू हावी हुँदै गयो । राजनीतिक र सामाजिक परिवर्तनका लागि संघर्ष गरेकाहरू पाखा लाग्दै गए । राजनीतिलाई ठेकेदार, व्यापारी र स्वार्थ समूहसँग मिलेर पैसा काउने माध्यम बनाइँदै लगिएको छ ।

‘पैसा कमाउन राजनीति गर्ने कि तस्करी ? भनेर सोध्यो भने राजनीति रोज्छु भन्ने दिन आइसक्यो । काम पनि सजिलो । केही मान्छे जम्मा गरेर अर्को पार्टीको नेतालाई गाली गरे पुगिहाल्यो । जसले धेरै गाली गर्न सक्यो, उ नै जननेता ! त्यसैले पनि राजनीतिप्रति वितृष्णा बढ्यो । र, नेतालाई गाली गर्न थालियो ।

गाली खाने काम नेता आफैले गर्दै आएका छन् । पहिले आफैँ सपना देखाउँछन्, मैले नै गर्ने हो भनेर आफैँमात्र तम्सिन्छन्, म जस्तो जान्ने बुझ्ने केही छैन भन्ने ठान्छन् । अरूको सुझाव केही सुन्दैनन् । अनि सपना पूरा गर्न सक्दैनन् । त्यसैले गाली त आउने नै भयो । जनतालाई बोल्ने होइन, काम गर्ने नेता चाहिएको छ । जनताले नेतालाई होइन, उनको प्रवृतिलाई गाली गरेका हुन् ।

अर्को, स्वार्थपूर्ण राजनीति । मूल्यमान्यता, सिद्धान्त, निष्ठा र आदर्शमा आधारित राजनीति नभएर पद, पैसा र प्रतिष्ठाका लागि गरिने राजनीति मौलाएको छ । त्यसैले नेताले जनविश्वास गुमाउँदै गएका छन् । नेताले ती कुरा सोच्न अबेला भइसक्यो । अब, नेताले सच्चिन ढिला गर्नु हुँदैन । फेरि रात पर्न सक्छ । नत्र राप्रपाका अध्यक्ष लिङ्देनले भनेजस्तो गाउँ गयो भने ‘चोर’ मात्र होइन, ‘डाका’ नै भन्न बेर छैन ।

चुनावमा भोट माग्न हिडेका नेताले मतदातालाई ठूल्ठूला आश्वासन बाड्ने गर्दछन् । घोषणपत्र पनि उस्तै हुन्छन्, पे्रमिले प्रेमिकालाई तिम्रो लागि आकाशका जुन–तारा झारिदिन्छु भनेजस्तै । प्रेमिले प्रेमिकाको लागि जुन–तारा झार्नु र नेताले चुनाव बेला गरेका बाचा पूरा गर्नु उस्तै हो, कहिल्यै पूरा हुदैँन ।

राजनीतिक दल र नेताहरूप्रति जनतामा चरम वितृष्णा छ भन्ने बारम्बार सुन्दै आएका छौँ । सामाजिक सञ्जालदेखि चिया पसलसम्मका टिप्पणीहरू हेर्दा/सुन्दा त्यस्तै पनि देखिन्छ । ‘नेताहरू खत्तम भए, देश बिगारे, गतिलो नेतै कोही छैन’ जस्ता अभिव्यक्ति धेरैको मुखबाट सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्