Logo

कक्षा दोहोर्‍याइराख्ने ओलीबाट उत्कृष्ट परिणामको आशा !


डा. प्रदीप भट्टराई


एमालेको १०औं महाधिवेशनमा केपी शर्मा ओलीले खुलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा कम मत (५६५) पाए । यो मतले उनलाई केन्द्रीय सदस्यमा जिताएन, हरायो । यसले भन्छ, अध्यक्षमा १८३७ मतका साथ प्रचण्ड बहुमतले विजयी भएका ओली केन्द्रीय सदस्यमा चाँहि विजयी हुन सकेनन् ।

एमालेमा पदाधिकारीका उम्मेद्वार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुन सक्ने ‘डिफल्ट’ प्रावधानका कारण ओली पनि खुलातर्फ केन्द्रीय सदस्यका उम्मेद्वार थिए । यही प्रावधानअनुसार सचिवमा पराजित भएका टंक कार्की ९०५ मत ल्याएर खुलातर्फ अन्तिम क्रमसंख्यामा केन्द्रीय सदस्य भए । यसको अर्थ योभन्दा थोरै मत ल्याउने केन्द्रीय सदस्यमा हारे ।

यसलाई आधार मान्दा यसपटक एमालेका १९ पदाधिकारीमध्ये सचिवमा विजयी छविलाल विश्वकर्मा मात्र केन्द्रीय सदस्यमा पनि विजयी भए । ओलीसहित अरू १८ पदाधिकारी ९०५ भन्दा कम मत पाएर केन्द्रीय सदस्यमा हारे । यसको सोझो अर्थ हो, केन्द्रीय सदस्यमै हारेका १८ जना अहिले एमालेमा पदाधिकारी छन् ।

ठूला नेता पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा जिताएर स्थायी समिति सदस्यसम्म बनाउन राखिएको प्रावधानको कुरूप तस्बिर हो यो । यसले उनीहरूको नैतिक धरातललाई लिएर प्रश्नचिन्ह उब्जाएको छ । त्यसमा पनि बडेमानको प्रश्न त ओली सामुन्ने नै छ ।

भन्नलाई त अध्यक्षमा त्यत्रो प्रचण्ड बहुमतले जितेका ओलीले केन्द्रीय सदस्य पदमा चुनाव लडेकै थिएनन, यो त चुनावी प्रावधानको प्राविधिक कुरा मात्र हो । तर, यो त्यति मात्र हैन, उनी उम्मेदवार भएको हो र ५६५ जनाले मत दिएकै हुन् । अनि, कैफियतमा ‘पदाधिकारीमा विजयी भएकोले हटाइएको’ लेखिएको पनि हो । हो, यस तथ्यलाई बेवास्ता गरियो; कसैले देख्नै चाहेन, कसैले देखेर पनि नदेखेजस्तै गर्यो– यो बेग्लै कुरा हो ।

यसरी आफ्नो केन्द्रीय नेतृत्व छानेको एमालेले भर्खरै केन्द्रीय कमिटीको नयाँ वरीयताक्रम सार्वजनिक गरेको छ । एमालेलाई एउटा विद्यालय मान्ने हो भने यो कमिटी नै उसको सबैभन्दा माथिल्लो कक्षा हो । अर्थात्, एमालेको पास आउट हुन लागेको कक्षा हो यो । यो कक्षामा यसपटक विद्यार्थीको कोटा बढाएर ३४५ पुर्याइएको छ । पूरापूर कोटा फुल छ यो कक्षा ।

यो कक्षाका फस्ट ब्वाई अर्थात् रोल नम्बर १ हुन् केपी शर्मा ओली । यसअघिको ब्याचमा पनि ओली रोल नम्बर १ मै थिए । उनले त्यतिबेला भनेका थिए, ‘म कक्षा दोहोर्याउदिन ।’ तर, उनले आफ्नो वचन फेरे । त्योभन्दा माथिल्लो कक्षा नभएको वहानामा उनले कक्षा दोहोर्याए ।

सामान्यतः कक्षा दोहोर्याइने भनेको फेल हुँदा हो । बाहिरबाट हेर्दा उनी फेल नै देखिए । अर्को विद्यालयसँग मर्ज गरेर ठूलो विद्यालय बनाइएको थियो, उनले त्यो सफलता पनि बिचैमा तुहाइदिए । आफ्नो कक्षाका थुप्रै सहपाठीलाई कक्षा मात्र हैन, विद्यालय नै छोड्नुपर्ने अवस्थामा पुर्याइदिए । तर, पनि उनले आफूले कक्षा दोहोर्याएको कारण फेललाई देखाएनन्, माथिल्लो कक्षा नभएको बताए ।

यसपटक एमाले विद्यालयमा सर्वसम्मतिको नाममा गज्जबको नियम बनाइयो । कक्षाको फस्र्ट ब्वाई नै सर्वेसर्वा भयो, बनाइयो । उसले जे चाह्यो त्यही नै विधि विधान बन्यो । कक्षामा कस–कसलाई प्रवेश दिने, सबै उसकै तजबिजमा चल्यो । उसले नै सूची बनाएरै बाँड्यो । प्रवेश दिनेको त सूची बाँडियो नै, प्रवेश दिन नहुनेको पनि सूची बाँडियो ।

ओली कक्षामा प्रवेश दिनै नहुनेको सूचीमा चढाइएका थिए, एमालेका पुराना नेता टंक कार्की । सचिवमा उनलाई तगारो लगाइए पनि केन्द्रीय सदस्यका रूपमा उनी ओली कक्षामा छिरिछाडे । त्यसो त उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकै हैनन् । पदाधिकारीमा उम्मेदवारी दिने स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने डिफल्ट सिष्टमले उनलाई उम्मेदवार बनाएको थियो ।

यही प्रक्रियाबाट उम्मेदवार बनाइका भीम रावलले त्यतिबेला विजयी भनिए पनि केन्द्रीय सदस्यमा आफूले मनोनयनपत्र नै दाखिला नगरेको भनेर सपथ लिएनन् । सपथ नलिएपछि ओलीको ‘रबरछाप’ निर्वाचन आयोगले रावल पराजित र कार्की निर्वाचित भएको भन्दै परिणाम सच्यायो । रावलको अडानका कारण कार्कीलाई फाइदा भयो र उनी ओली कक्षामा छिरे ।

ओली कक्षामा एउटै कक्षाभित्र पनि रोलक्रमको दुईवटा पद्धति बनाइयो । रोल नम्बर ९९ सम्म ओलीलाई लागेको वरिष्ठताका आधारमा रोलक्रम बन्यो, त्यसपछि भने वर्णानुक्रमको आधारमा लिइयो । पछिल्लो आधार वैज्ञानिक भएकाले विवाद हुने कुरा भएन । अघिल्लो आधार भने ओलीको तजविज भएकाले विवादास्पद बन्यो ।

पहिला भएको निर्णयभन्दा सचिवको मर्यादाक्रम फरक बनाएर अपानि जारी गरिए पनि त्यसले सबैको हकमा न्याय दिन सकेन । तर, एमाले ओले भैसकेको यतिबेला उनले आफ्नो दया मायाले जसलाई जे दिन्छन्, त्यसैमा चित्त बुझाउनुपर्ने अवस्था छ । अन्याय भए पनि दिन खराब भएको ठानेर तैं चुप मै चुप भएका छन् ।

रोलक्रम त विवादमा पर्यो नै, अझ जिम्मेवारीलाई लिएर असन्तुष्टिको ओइरो नै लागेको छ । ओलीलाई मन परेका मानिस केन्द्रीय सदस्य भए पनि उनीहरूलाई पदाधिकारीलाई भन्दा पनि उम्दा र प्रभावकारी जिम्मेवारी दिइयो । एउटा मात्र होइन, दुई–तीनवटा पनि जिम्मेवारी दिइयो । तर, उनलाई मन नपरेकालाई पहिलो त नाम मात्रको जिम्मेवारी दिइयो, केही सम्भावना भएकामा पनि विशेषज्ञता नै नभएको जिम्मेवारी दिइयो ।

उदाहरणका लागि टंक कार्कीलाई विज्ञान तथा प्रविधि विभागको प्रमुख बनाइएको छ । उनीसँग यो विभागसित गोरू बेचेको साइनो पनि छैन र उनले यो आफ्नो इच्छाले लिएका पनि होइनन् । यो उनलाई जबर्जस्ती थम्याइएको जिम्मेवारी हो ।

चीनका लागि राजदूत रहिसकेका कार्कीलाई विज्ञान तथा प्रविधि विभागमा लगेर कूटनीतिसँग ‘क’ को पनि साइनो नभएका बादललाई कूटनीति सम्बन्धको संयोजक बनाइयो । यसको अर्थ कार्की र बादल त जोकको विषय त बनाइए नै, एमाले विज्ञान तथा प्रविधि र कूटनीतिजस्तो विषयलाई कति महत्वहीन ठान्दोरहेछ भन्ने पनि छर्लङ्गै भयो ।

सामान्यतः रोलक्रमको आधार पार्टी अर्गानोग्रामको पदीय जिम्मेवारीले दिन्छ । समान पदमा रहेको अवस्थामा लोकप्रिय मत, पार्टी सदस्यता लिएको मिति र त्यसअघि निर्वाह गरेको पदीय जिम्मेवारीलाई आधार मानिन्छ । यस अतिरिक्त, योग्यता, क्षमता र योगदान पनि आधार हुन सक्छन् । तर, सहज पार्टी जीवन भएको पार्टीमा पछिल्ला यी आधार पनि अघिल्ला दुईले नै निर्धारण गर्ने मानिन्छ ।

तर, एमाले अब त्यस्तो पार्टी रहेन । सामुहिक नेतृत्व भनेर बहुपदीय सांगठनिक ढाँचामा लगिए पनि एमालेको अहिलेको व्यवहार त्यस्तो छैन । सर्वसम्मतिका नाममा एमालेलाई यतिबेला यस्तो पार्टी बनाइएको छ जहाँ एमाले र केपी ओली एक अर्काका पर्याय हुन् । ओलीले जे बोल्यो, त्यही फर्मान चल्छ ।

अर्थात् एमाले ओले भैसकेको छ । यो भाष्यले ओली नै अहिलेको एमालेका अनुहार हुन् । उनी जस्तो देखिन्छन्, त्यही एमाले हो । उनी जस्तो चरित्र बोक्छन्, मूलतः एमालेको चरित्र पनि त्यही नै हो । अहिले एमालेको चरित्र भनेको एक किसिमको स्याडिस्ट चरित्र हो । अर्थात्, आफूलाई भएन भने कसैलाई पनि नहोस् ।

ऊ आफ्नो लागि एक मानक बनाउँछ, अर्काको लागि अर्कै । आफूले त्यही गर्दा ठीक हुन्छ, तर अरूले त्यही गर्याे भने बेठीक हुन्छ । यो एक द्वैधचरित्रको पराकाष्ठा हो, पाखण्डपन हो । यसले एमालेलाई त सकाउँछ नै, नेपालको वामपन्थी आन्दोलन पनि यो वा त्यो कोणबाट रफ्तारमा स्खलित हुन्छ ।

एमालेको मूल नेतृत्वमा अहिले सत्ताको भोक यस्तो चलेको छ कि ऊ त्यसका लागि जे गर्न पनि तयार छ । भनिन्छ नि, संसारमा सबैभन्दा ठूलो भोक भनेको सिंहलाई काँचो रगतको हो । अहिले ओलीलाई त्यही स्तरको सत्ताको भोक लागेको छ । आफूले चबाइरहेको शिकार प्रचण्ड र माधव नेपालले खोसिदिएपछि ओली विक्षिप्त भएका छन् । अनि संसद चल्नै नदिने, जे गरेर भए पनि गठबन्धन भत्काउने रोडम्यापमा छन् ओली ।

तर, मुलुकको पछिल्लो राजनीतिक ध्रुवीकरण र संवैधानिक व्यवस्थालाई आधार मान्ने हो भने ओली कम्पासले दिशा देखाउन छोडिसकेको छ । तैपनि, उनी एमालेको गाडीलाई अन्धाधुन्ध अघि बढाइरहेकै छन् ।

फेरिपनि समस्या ओलीकै नियत र ल्याकतमा छ । जब, यी दुबै ठीक नहुँदा पनि उनी त्यो मान्न तयार हुँदैनन् र मात्र कक्षा दोहोर्याइरहन्छन्, तब कसरी आउँछर उत्कृष्ट परिणाम ?

प्रतिक्रिया दिनुहोस्