Logo
Logo

हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका मन्त्री १२ घन्टा पौडिएर बाँचे



एजेन्सी । पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रमा पौडी खेलेर ज्यान जोगाएका छन् ।

द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन्।

मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल र एक जना अर्का प्रहरी अधिकारी छुट्टाछुट्टै रूपमा माहाम्बो सहरमा आइपुगेका हुन्।

सोमबार बिहान मादागास्करको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो जहाज समुद्रमा डुबेको थियो। उक्त घटनामा ३९ जनाले ज्यान गुमाएका थिए।

मन्त्री गेललगायत अधिकारीहरू उक्त घटनाको निरीक्षण गर्न गएका थिए। उनीहरू चढेको हेलिकप्टर कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे खुलाइएको छैन।

गेल तटमा आइपुगेपछि सामाजिक सञ्जालमा उनको एउटा भिडिओ सार्वजनिक भएको छ। निकै थकित देखिएका गेलले आफूलाई चिसो भए पनि घाइते नभएको बताएका छन्। ‘मेरो मर्ने बेला अझै भइसकेको रहेनछ,’उनले भनेका छन्।

गत अगस्टमा मन्त्री बन्नुभन्दा अघि गेलले तीन दशकसम्म प्रहरीमा सेवा गरेका थिए। प्रहरीमा काम गरेकाले स्टामिना धेरै भएकाले उनी १२ घन्टासम्म पौडिन सकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्