Logo
Logo

ओमिक्रोन र डेल्टा भेरिअन्टले सङ्क्रमितको सुनामी ल्याउँछ : विश्व स्वास्थ्य संगठन



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् ।

युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन् ।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको उनले सुझाएका छन् ।

बीबीसीका अनुसार फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् ।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’

त्यस्तै रोयटर्स समाचार संस्थाका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन् । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन् ।

आफ्ना यसअघिका दैनिक सङ्क्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन् । अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक सङ्क्रमण देखा परेको छ जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार सङ्क्रमित पुष्टि भएका थिए । तर सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा न्यून रहेको जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्