Logo
Logo

बिहेको साइत अहिलेसम्म जुरेको छैन-दुर्गा खरेल, गायिका


- दृष्टि न्युज/संवाददाता


‘काले काले’जस्ता चर्चित गीतका गायिका दुर्गा खरेल अहिलेसम्म सिंगल छिन् । ‘न मेरो अफेयर्स छ, न त डेटिङको रहर नै’ उनी भन्छिन्, ‘म त मागी विवाह गर्ने हो । त्यो पनि जुर्नु पर्ने रहेछ ।’ नेपाली गीतसंगीत क्षेत्रमा थोरै तर राम्रो गाउने गायिकामा पर्छिन् उनी । २०६२ मा आयोजित गायन सियालिटी शो, ‘नेपाली तारा’मार्फत सांगीतिक क्षेत्रमा उदाएकी दुर्गाको मिठास स्वरमा लठ्ठिने त छन्, उस्तै, उनको सुन्दरतामा लोभिनेहरुको संख्या पनि कम छैन । ‘प्रेम प्रस्ताव त कति हो कति’ दुर्गा भन्छिन्, ‘घरमै माग्न आउँछु भन्नेहरु पनि थुप्रै छन् ।’ ‘आँखामा गाजल’, ‘सुन्छु तिमीले मलाई भुल्नै खोजेको छौं रे’, ‘भेटेरै सुन्नु छ’, ‘छुट्छ कि साथ’जस्ता दर्जनौँ चर्चित गीतका गायिका दुर्गाको ‘दिल’ र ‘युग’ दुई सोलो एल्बम प्रकाशित छन् । पाश्र्वगायन र आधुनिकमा दुवैमा जम्दै आएकी गायिका दुर्गा खरेलसँग एमपी सुब्बाको जम्का भेट :

तपाइँको नयाँ–नौलो के हुँदैछ ?

मेरो चाँडै ‘नेपाल आइडल’ रवि ओढसँग गाएको युगल गीत आउँदैछ । त्यसबाहेक चलचित्र ‘पासपोर्ट’ र ‘निरफूल’को गीत रिलिज हुँदैछ । मेरा अरु गीतहरु पनि रिलिजको तयारीमा छन् ।

त्यसो भए ‘वेटिङ’मा हुनुहुन्छ ?

हजुर । मेरो तत्काल पाँच÷६ वटा गीत सार्वजनिक हुँदैछ । ती गीतहरुबाट आशावादी पनि छु । फिल्म ‘पासपोर्ट’मा फरक शैलीमा गाएकी छु । जुन गीतमा सन्नी लियोनीले नाचेकी छन् । त्यस्तै, फिल्म ‘निरफूल’को गीत पनि राम्रो बनेको छ । ती गीतहरु रिलिज भएपछि केही होला भन्ने आशा गरेकी छु ।

तपाइँ फिल्मी गीतमै बढी व्यस्त हो ?

यसैमा व्यस्त भन्ने छैन । मैले आधुनिक, फिल्मी, डान्सिङ सबै किसिमका गीतहरु गाउँदै आएकी छु । समयअनुसार डान्सिङ गीत पनि गाउनुप¥यो । रवि ओढसँग गाएको गीत फरकशैलीको छ । उक्त गीतको भिडियोमा रविसँग मैले नै अभिनय गरेकी छु । यसै साता भिडियोे सार्वजनिक हुँदैछ ।

तपाइँका गीतहरु प्रायः सबै हिट छन् । तर, कार्यक्रममा कम देखिनुहुन्छ नि ?

हो, म प्रोगामा कम गाउँछु । प्रोगाममा गाउनका लागि गु्रप पनि हुनुपर्ने रहेछ । अब जहाँ पायो, त्यहाँ गाउने भन्ने पनि छैन । प्रोगाममा गाउनका लागि धेरै कुरा मिल्नुपर्छ ।

पारिश्रमिक नमिलेर स्टेममा कम देखिनुभएको हो ?

त्यस्तै भन्नुप¥यो । जति भन्यो, त्यतिमा गाउनु पनि भएन । कलाकारको पनि इज्जत हुनुपर्छ । मलाई कार्यक्रममा गाउनैपर्छ जस्तो पनि लाग्दैन । राम्रो लाग्यो र कुरा मिल्यो भने गाउँछु ।

स्टेज कार्यक्रमका लागि तपाइँले आफ्नो रेट राख्नुभएको छ ?

मैले आफ्नो रेट राखेकी छु । उपत्यका र बाहिरका लागि मेरो छुट्टाछुट्टै रेट छ । तर, आफ्नो रेटमा तलमाथि हुन्छ । मुख्य कुुरा त आफूलाई राम्रो लाग्नुप¥यो । रेट त आफ्नै ठाउँमा छँदै छ नि ।

तपाइँ गाउनुबाहेक अरु केही गर्नुहुन्छ ?

म केही गर्दिनँ । म फूलटाइम गायनमै हो । संगीत मेरो रुचिको क्षेत्र पनि हो । मलाई यसै क्षेत्रमा खुसी र सुन्तुष्टि पनि मिलेको छ । म थोरै गाउँछ, तर राम्रो होस् भन्ने चाहन्छु ।

फिल्म अभिनयका लागि अफर आएको छ कि छैन ?

फिल्मका लागि त छैन । तर, मोडलिङका लागि भने थुपै्र अफर आइरहेको हुन्छ । तर, म आफ्नोमा मात्र अभिनय गर्छु । अरुको गीतमा गर्दिनँ ।

अब कहिलेसम्म सिंगल बस्ने हो ?

अहिलेसम्म चाहिँ सिंगल छु । कहिलेसम्म भन्ने त थाहा छैन । घरजम गर्ने उमेर पनि हो । म रेडी नै छु । तर, जुर्नुपर्ने रहेछ । यदि जु¥यो भने दुई÷तीन महिनाभित्र पनि हुन्छ र वर्ष दिन पनि लाग्न सक्छ ।

‘लभ अफेयर्स’ त होला नि ?

छैन । लभ म्यारिज भन्दा मागी विवाह गर्ने मेरो सोचमा छु । प्रस्ताव राख्नेहरु पनि घरमै माग्न आउँछु भन्छन् । तर, अहिलेसम्म जुरेको छैन । हेरौँ, कतै मेरो लागि पनि जुरेको होला ।

प्रतिक्रिया दिनुहोस्