Logo

कुन अपराधका कारण मलाई डिमोसन गरियो ?


श्रीमाया थकाली, नेता, नेकपा (एमाले)


चार दशक नेकपा (एमाले)मा सक्रिय राजनीति गरेका श्रीमाया थकाली पहिलो (तत्कालीन जिल्ला पार्टी प्रमुख) महिला जिल्ला सचिव थिए । मुस्ताङजस्तो जिल्लामा हुनेखाने परिवारमा जन्मेका थकाली समुदायको महिलाले राजनीति गर्ने कुरा चानचुने थिएन ।

श्रीमाया जोखिम मोलेरै कम्युनिष्ट आन्दोलनमा होमिए । निरन्तर आन्दोलनको अग्रमोर्चामा रहे । जनताको मुक्तिका लागि कम्युनिष्ट आन्दोलनमा होमिएका श्रीमाया अहिले आफैँ अन्यायमा परेका छन् । त्यो पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ।

एमालेको १०औँ महाधिवेशनमा ओलीले धेरैको प्रमोसन गरे, केहीलाई पुरानै जिम्मेवारीमा दोहोर्याए । तर, श्रीमायालाई भने डिमोसन नै गरे । मापदण्डमा कमिटी गठन गरेको भए दुई कार्यकाल पोलिटब्यूरो सदस्य भएर पार्टी काम गरेका श्रीमाया स्थायी कमिटीमा स्वतः पर्ने थिए । श्रीमायासँगै पोलिटब्यूरो सदस्य भएका थममाया थापा हाल स्थायी समिति सदस्य छन् ।

श्रीमायाभन्दा जुनियरले पनि अहिले स्थायी समितिमा स्थान पाएका छन् । तर, श्रीमाया भने घटुवामा पर्दै केन्द्रीय समितिको पनि २६४औँ नम्बरमा रहन बाध्य छन् । दृष्टिसँगको सम्वादको क्रममा श्रीमायाको आँखामा आँसु टिलपिल थियो । जुन आँसुभित्र एमाले नेतृत्व अर्थात्, ओलीले गरेको अन्याय झल्किन्थ्यो । उनै श्रीमायासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

नेकपा एमालेको १०औँ महाधिवेशनमा प्रतिनिधिले सार्वभौम अधिकार नै प्रयोग गर्न पाएनन् किन ?
चितवन महाधिवेशनमा प्रतिनिधिले स्वतन्त्र रुपमा अधिकार प्रयोग गर्ने वातावरण नै भएन । जनताको बहुदलीय जनवादअनुसार स्वच्छ आन्तरिक प्रतिष्पर्धा भएको भए कार्यकर्तामा भिजेका कमरेडहरू पदाधिकारी र केन्द्रीय कमिटीमा निर्वाचित हुने अवस्था बन्थ्यो । तर, अध्यक्ष केपी शर्मा ओलीको इच्छामा पदाधिकारी र केन्द्रीय कमिटी बन्यो ।

मलाई पनि पदाधिकारीमा लड्नुपर्छ भन्ने सुझाव थेरै आएको थियो । पदाधिकारीमा महिलाको उपस्थिति बढाउन पनि मैले उम्मेदवारी दिने सोचेको थिएँ । विगतमा केन्द्रीय कमिटी र पोलिटब्यूरोमा म निर्वाचित भएरै आएको व्यक्ति हुँ । निर्वाचन भएको भए कम्तीमा पनि एकजना उपाध्यक्ष, एकजना उपमहासचिव र एकजना सचिव महिला हुने सम्भावना हुन्थ्यो । तर, नेतृत्वमा महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नभएका कारण पदाधिकारीमा सन्तोषजनक उपस्थिति भएन ।

भीम रावल, घनश्याम भुसालहरूले जस्तो तपाईंले पदाधिकारीमा लड्ने आँट किन गर्नुभएन ?
वास्तवमा भन्ने हो भने हाम्रो आँट नपुगेकै हो । अहिलेको आवश्यकता भन्दै हामीले वडादेखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आयौँ । महाधिवेशनमा रावल र भुसाल कमरेडलाई हामीले अहिलेको अवस्था बुझ्नुस भनेकै हौँ । देशभरबाट प्रतिनिधि चयन हुँदा हामीले महाधिवेशनको हिसावकिताव गरेका थिएनौँ । सबै एमाले हौँ, गुट वा समूह केही छैन भन्ने हिसावले हामीले लियौँ । पार्टीलाई अप्ठेरो परेको बेला सबै एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने मात्रै हामीले सोच्यौँ । त्यहीकारण मैले व्यक्तिगत रुपमा सचिवमा उम्मेदवारी नदिएकी हुँ । तर, अहिले के लाग्छ भने– सचिवमा उम्मेदवारी दिनुपर्ने रहेछ । महाधिवेशन प्रतिनिधिले गरेको फैसलामा चित्त बुझाउने ठाउँ त हुन्थ्यो !

दुई कार्यकाल पोलिटब्यूरोमा रहेको व्यक्ति अहिले केन्द्रीय कमिटीमा झर्नुपर्ने अवस्था कसरी आयो ?
म आफैँ चकित परेकी छु । नौ कक्षामा पढ्दादेखि राजनीतिमा लागेको हुँ । हिमालपारिको जिल्लाबाट संघर्ष गरेर राजनीतिमा लागेकी हुँ । राजनीति गर्नुपर्छ भनेर हाम्रो बाउबाजे, दाजुदिदी कसैले पनि प्रेरणा दिएर आएको होइन । मेरो भविश्य भोलि कता जान्छ भन्ने नै सोचिनँ । निरन्तर पार्टी काममा लागिरहेँ । मुस्ताङको संस्थापक एमाले हुँ म । एमाले–माले विभाजन हुँदा पनि मैले पार्टी छाडिनँ ।

अहिले एमाले–एकीकृत समाजवादी हुँदा पनि मैले पार्टी छाडिनँ । एमाले–माले विभाजन हुँदा म मुस्ताङको पार्टी सचिव थिएँ । हामीले त्यतिबेला मुस्ताङमा पार्टी विभाजन हुन दिएनौँ । कमरेड पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेजस्तै मुस्ताङमा एमाले हामीले स्थापना गरेको हो । आफैँको स्थापना गरेको पार्टी विभाजन गरेर नजाने तर, विकृति, विसंगतिविरुद्ध जुध्ने निर्णयमा म पुगेको हुँ । पदाधिकारीमा मेरो स्वभाविक दावेदारी थियो । तर, अध्यक्षले पेश गरेको सूचीमा मेरो नाम परेन । स्थायी समितिमा पर्नेमा म विश्वस्त थिएँ । महिला चारजनासम्म स्थायी समितिमा जाने अवस्था भयो भने म पर्छु भन्ने थियो । पूर्वाग्रही नभएको भए त थममाया र म आठौँ महाधिवेशनबाट बैकल्पिक पोलिटब्यूरो बनेका हौँ । नवौँमा मापदण्डको आधारमा पोलिटब्यूरो भएका हौँ । आग्रह, पूर्वाग्रह नराखेको भए दुई जनाभित्रै म पर्थे । एक कार्यकाल पोलिटब्यूरो भएको विन्दा पाण्डे र शिवमाया तुम्बाहाङफे पछि त स्थायी समितिमा म पर्नुपर्ने हो । विडम्बना ओलीको सूचीमा म पोलिटब्यूरोमा पनि परिनँ । प्रमोसन त परै जाओस, डिमोसनमा पो परेँ ।

तपाईंले पवित्र मनले एकताको निम्ति जे सोच्नुभएको थियो, अध्यक्षको व्यवहारमा त त्यस्तो देखिएन ?
पार्टीमा अब आग्रह, पूर्वाग्रह हुँदैन । नयाँ ढंगले अगाडि बढ्नुपर्छ भनेर अध्यक्ष ओलीले पटक–पटक भन्नुभयो । म त पार्टीलाई एकतावद्ध भएर लैजानुपर्छ भन्ने पक्षमा उभिएको हुँ । ममाथि नेताबाट कसरी अन्याय होला र ? स्थायी कमिटीमा त पर्छु भन्ने झिनो आशा थियो । केन्द्रीय कमिटी बैठकमा सुरुमा अध्यक्षले मनोनित केन्द्रीय सदस्यको नाम सुनाउनुभयो । त्यसपछि पोलिटब्यूरोको नाम सुन्दा त आफैँ तिरमिराउन थालेँ । यतिधेरै मान्छेहरूको नाम आउँदा श्रीमाया थकाली नपर्ने ! मेरो मापदण्ड के चाहिँ पुगेन ? के शब्दले व्यक्त गर्ने भन्ने ठाउँ नै छैन । ओलीले एकथोक भन्ने र अर्कै गर्ने गर्नुभयो । म जस्तो एउटा बबुरो कार्यकर्तामाथि ओलीले किन राजनीति गर्नुभयो ? मैले बुझ्न सकेको छैन ।

१० बुँदे पक्षधर नेता पनि पदाधिकारीमा हुनुहुन्छ । उहाँहरूको भनाइ के छ ?
मैले उपाध्यक्ष, महासचिवलगायतलाई फोनमा एकसरो कुरा राखेको छु । तपाईंको घरदैलोमा पुगेर कमरेड लालसलाम भन्ने मान्छे पाउनुहोला । हिमालपारिको जिल्ला, थकाली समुदायबाट ४० वर्षसम्म निरन्तर रुपमा पार्टीमा काम गर्ने मान्छे त न हिजो थियो, न आज छ, न भोलि नै तपाईंहरूले पाउनुहुन्छ । कोही एउटा देखाउनुस त ? होइनभने, म दुई कार्यकाल पोलिटब्यूरो भएको व्यक्ति, मलाई आज प्रमोसन नभएपनि डिमोसन त नगरेको भए हुने नि ? कि त मलाई भन्नुपरो–तिमीले पार्टीलाई आघात पुर्याउने यो–यो काम गर्यौं । कि पार्टीले मलाई अनुशासनको कारबाही गरेको हुनुपर्यो । कि पार्टीमा मैले गलत काम गरेको हुनुपर्यो । मलाई कारण दिनु, साधारण सदस्य मात्र भएर बस्न तयार छु । हिजो राजनीति गर्दा न माधव नेपाललाई चिनेको हुँ, न झलनाथलाई । न केपी ओलीलाई नै । मैलै त कम्युनिष्ट पार्टीको विचार, नीति, सिद्धान्तलाई मन पराएर आएको हुँ ।

१०औँ महाधिवेशनमा आइपुग्दा मप्रति किन पूर्वाग्रही ? मैले पार्टीमा के बिगारेको छु ? मैले के अपराध गरेँ ? तपाईंहरूको घरदैलोमा नआएर अपराध गरेँ ? चाकडी–चाप्लुसी नगरेर अपराध गरेँ ? जसको कारण मलाई डिमोसन गरियो ? मलाई यसको जवाफ चाहियो ? कि त तिमीहरू जस्तोको अब काम छैन, दिनैपिच्छे नेताको घर धाउने मान्छेको मात्र काम छ भन्नुपर्यो । म त अहिले पनि सच्चा कम्युनिष्ट पार्टीको आदर्श पच्छाइरहेको छु । म माथि किन अन्याय ? किन विभेद ? विगतमा १४ अञ्चल हुँदा म मात्रै एउटा महिला अञ्चल इञ्चार्ज थिए । आठौँ महाधिवेशनपछि धौलागिरीको ईन्चार्ज भएर पाँच वर्ष कुशलतापूर्वक काम गरेको हुँ । मैलै नेतृत्वसँग सबै विषय राखेको छु, तर, चित्तबुझ्दो जवाफ पाउन सकेको छैन ।

केन्द्रीय कमिटी बैठकमै पनि तपाईंले असन्तुष्टि राख्नुभयो होइन ?
केन्द्रीय कमिटी बैठकमा नाम प्रस्ताव हुँदा पनि मैले हात उठाएर आफ्ना कुरा राखेको छु । के कारणले मेरो डिमोसन भयो भन्ने प्रश्न गरेको छु । मैले लिखित रुपमै नेतृत्वको ध्यानाकर्षण गराएको छु । तर, नेतृत्वले जवाफ दिएको छैन ।

माओवादी पृष्ठभूमिबाट आएकालाई च्याप्ने र १० बुँदे पृष्ठभूमि भएकालाई पेल्ने गरेको देखियो नि ?
यो त कि अध्यक्षलाई सोध्नुपरो, कि पदाधिकारीमा रहेकालाई नै । उहाँहरूले आफैँलाई त व्यवस्थित गर्न सक्नुभएन भने तलका कार्यकर्ताको के व्यवस्थापन गर्न सक्नुहुन्छ ? म माथिका नेताको बारेमा बोल्नै चाहन्नँ । १० बुँदे सहमति गरेर आएपछि उहाँहरूले तलसम्मका कार्यकर्ताको बारेमा सोच्नुपथ्र्यो । उहाँहरूले तलका तमाम कार्यकर्ताको बारेमा बोल्नुपथ्र्यो । उहाँहरूले नबोल्ने अनि हामी तलका कार्यकर्ताले उहाँहरूको बारेमा किन बोल्नु ? मर्यादाक्रम र जिम्मेवारी नमिलेको कुरा त दुनियाँले छर्लङ्गै देखेको छ । भर्खर आएका माओवादी नेताहरू पहिलो वरियतामा परेका छन् ।

१० बुँदे पक्षधर नेताहरूले हिजो कार्यकर्तालाई एमालेमै बसौँ भन्नुभयो । तर, आज ती कार्यकर्ताको नेतृत्व किन लिन सक्नुभएन वा चाहनुभएन ?
त्यो त इतिहासले एक दिन उहाँहरूलाई सोध्ला । कुनै दिन समीक्षा त पक्कै हुन्छ । त्यो बेला उहाँहरू कुन कठघरामा उभिनुहुन्छ, हेरौला । हुन त हामी तलका कार्यकर्ताले माथिका नेतालाई हेरौला भनेर त के सकिएला र ! त्यो त उहाँहरूले नै बुझ्ने कुरा हो ।

अब एमालेले कम्युनिष्ट आचारण भुलेकै हो त ?
हामी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता हौँ । कम्युनिष्ट पार्टी अरुभन्दा भिन्न हुनुपर्छ । पार्टीको नीति, विधि, आचरणमा भिन्न हुन सक्दैनौँ भने हामी कम्युनिष्ट किन बन्ने ? नाम मात्रैको कम्युनिष्ट किन बन्ने ? हाम्रो व्यवहार, आचरण, सोच शैली कांग्रेसभन्दा केही फरक छौँ भन्ने लाग्दैन ।

जनताको बहुदलीय जनवादको पनि गलत व्याख्या भयो होइन ?
त्यो त आफ्नो पायक पर्ने ठाउँमा लागू गर्ने, गुनगान गाउने तर, पायक नगर्ने ठाउँमा लागू गर्न नपर्ने हो भने त जसलाई जे मन लाग्छ त्यही गर्दा भयो नि त । साँच्चै भन्ने हो भने जबजको प्रयोग अहिले यही रुपमा भएको छ ।

अन्याय भए पनि पार्टीमै रहने ?
अहिले त म पार्टीमै छु । केन्द्रीय कमिटीमा छु । म हेर्दै छु, पार्टीले कसरी सोच्छ, नेतृत्वले कसरी सोच्छ ? म अवसरको राजनीति गर्ने मान्छे होइन । म पदको लागि कुनै पनि नेताकहाँ गइनँ । अब पनि त्यसरी जान्नँ ।

थममाया थापा र तपाईं आठौँ महाधिवेशनमा सँगै वैकल्पिक पोलिटब्यूरो हुनुभयो । नवौँ महाधिवेशनपछि मापदण्डको आधारमा तपाईंहरु दुबै पोलिटब्यूरो बन्नुभयो । १०औँमा आइपुग्दा थममाया स्थायी कमिटी, तपाईं केन्द्रीय कमिटी । अन्यायविरुद्ध विद्रोह गर्ने सोच्नुभएको छैन ?
अवसरको राजनीति मात्र गर्ने हो भने त अहिले अवसर धेरै छ । जहाँ गएपछि बिक्न पनि सकिन्छ, अरुलाई बिकाउन पनि सकिन्छ ।

अब भोलि न्याय भएछ भने त्यही ढंगले अगाडि बढौँला । मैले पार्टीभित्र राख्नुपर्ने सबै कुरा राखिसकेको छु । नेताहरू नाजवाफ छन् । म देखेर लाज मानेका छन् । त्यो लाज मान्नु पनि ठूलो कुरा हो जस्तो लागेको छ । तर, त्यसो मात्र भनेर अबको राजनीति अगाडि बढ्दैन । नेतृत्वले आफूले गरेको गल्ती, कमजोरी महसुस गर्नुभयो भने त्यो नै ठूलो कुरा हो । होइन भने, अब राजनीति गरिरहनुपर्छ भन्ने पनि लाग्दैन । जहाँ आफ्नो सम्मान हुँदैन, शिर ठाँडो पारेर हिँड्ने अवस्था हुँदैन भने राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन । कम्युनिष्ट छाडेर अन्त जान पनि सकिँदैन । अहिले म पर्ख र हेरको अवस्थामै छु ।

पाँचौ महाधिवेशनबाट निरन्तर एमाले महाधिवेशनमा सहभागी हुँदै आउनुभएको छ । यसपालिको १०औँ महाधिवेशन र यसअघिमा महाधिवेशनमा के फरक पाउनुभयो ?
विगतका महाधिवेशनमा राजनीतिक प्रतिवेदन, कार्यदिशा, कार्यनीतिबारे गहन छलफल हुन्थ्यो । कस्तो नीति बनाउने, कस्तो विधि बनाउने भन्ने माहोल हुन्थ्यो । विगतका राम्रो र नराम्रो कामको समीक्षा हुन्थ्यो । तर, यसपाली त्यस्तो भएन । हुन त हामीले नवौँ महाधिवेशनबाट विधान महाधिवेशन र नेतृत्वको महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गर्यौं । तर, यसपालि विधान महाधिवेशनमा पनि घनिभूत रुपमा छलफल भएन । राष्ट्रिय राजनीतिमा यतिधेरै फेरबदल आएको छ । दुईतिहाइ हाराहारीको नेकपा मात्र होइन, एमालेसमेत विभाजन भएको छ । विभाजन के कारणले भयो, किन विभाजन रोक्न सकिएन ? संघ र प्रदेश सरकारबाट किन बाहिरिनुपर्ने अवस्था आयो भन्नेबारे कुनै समीक्षा नै भएन ।

प्राविधिक रुपमा विधानमा के–के थपघट गर्नुपर्ने भन्ने विषयमा मात्र छलफल भयो । नेतृत्व चयनको महाधिवेशन त चितवनको सौराहमा घाम ताप्ने थलो मात्रै बन्यो । प्रतिनिधिमा उल्साह नै देखिएन । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको सूची सार्वजनिक गर्ने र सोहीअनुसार चयन हुने काम भयो । यद्यपि, भीम रावल, घनश्याम भुसाललगायतका कमरेडहरूले प्रतिनिधिको सार्वभौम अधिकारलाई बञ्चित गराउनुहुँदैन भन्ने धारणा राख्नुभयो । उहाँहरूको कुराको सुनुवाई भएन । अध्यक्षले पढेर सुनाउने र हलले ताली पिटेर नाम अनुमोदन गराउने काम भयो । अहिलेको महाधिवेशन दालमा नुन नपुगेको जस्तै अत्यन्तै खल्लो महसुस भयो ।

प्रतिक्रिया दिनुहोस्