Logo
Logo

वैकल्पिकहरुको कब्जामा प्रहरी संगठन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीको नेतृत्वमा वैकल्पिकमा नाम निकालेर प्रहरी सेवामा प्रवेश गरेकाहरु हावी हुने भएका छन् । आईजिपी सर्वेन्द्र खनालको अवकाश लगत्तै वैकल्पिकहरुको हातमा प्रहरी संगठन जाने छ ।

खनालकै ब्याचबाट वैकल्पिकका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली, तारिणी लम्साल लगायतले त्यसपछि प्रहरी नेतृत्व सम्हाल्नेछन् । एकै पटक फर्म भरेका खनाल लगायतको भर्ना २५ फागुन २०४६ मा भएको थियो भने ज्ञवाली, लम्साल लगायत त्यतिबेला वैकल्पिक सूचीमा थिए । उनीहरुलाई असारमा भर्ना लिइएको थियो । वैकल्पिकमा नाम निकाल्नु नै उनीहरुका लागि भाग्य बनेको छ । किनकि त्यही कारण उनीहरुमध्ये एकजना आईजीपी हुने अवसर पाउने भएका छन् ।

त्यस्तै त्यसपछि पनि वैकल्पिकमै नाम निकालेका अधिकारीहरु प्रहरी नेतृत्वमा जानेछन् । हाल अरुलाई उछिनेर बढुवा भएका विश्वराज पोखरेल पनि वैकल्पिकमै नाम निकालेका अधिकारी हुन् । शैलेश थापाको ब्याचका उनीहरु बैकल्पिक हुन् । एक वर्षपछि वैकल्पिक उम्मेदवारहरु भर्ना गर्न मिल्दैन । अन्तिम समयमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवामार्फत् उनीहरु भर्ना भएका थिए । पछि रिक्त भएको पदमा उनीहरुलाई भर्ना गरिएको थियो । सो ब्याचका धिरजप्रताप सिंह, उत्तम सुवेदी लगायत सबै वैकल्पिक हुन् ।

त्यसपछि वैकल्पिकमै भर्ना भएका दीपक थापाले पनि यसपटक बढुवामा फट्को मारेर भावी आईजीपीको लाइन बनाएका छन् । रमाइलो के छ भने प्रहरीमा अगाडि नाम निकाल्ने प्रहरी अधिकारी पछि पर्दै गएका छन् भने वैकल्पिकमा नाम निकालेर सेवामा प्रवेश गर्नेहरु भने हावी हुँदै गएका छन् । ‘यसले प्रहरी कता जाँदैछ भन्ने प्रष्ट संकेत दिन्छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘प्रहरीमा अब सिनियर र जुनियर भन्ने रहेन ।’

प्रतिक्रिया दिनुहोस्