काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव जित्नेमात्रै नभएर जनताका समस्या समाधान गर्ने लक्ष्य रहेको बताएका छन् ।
शुक्रबार एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले परिणाममुखी काम देख्न चाहेको र त्यसका लागि इमानदारिता र निष्ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताए । उनले भने, ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौँ ।’

अध्यक्ष नेपाले केही राजनीतिक दलहरु चुनाव चुनाव भनिरहेको भन्दै उनले भने, ‘हामी भन्दैनौँ चुनाव । हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हाम्रो समस्याका रुपमा लिएका छौँ ।’ जनताका समस्या समाधान गर्ने सन्दर्भमा आफ्नो पार्टी अग्रपंक्तिमा उभिने उनले दावी गरे ।
अध्यक्ष नेपालले गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने बताए । कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको छ ।














