काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् ।
माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै उनले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखिएको बताएका हुन् ।
‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी नै हो भन्ने छ । महाधिवेशन उदघाटनमै पनि यहाँहरुले सुन्नु भयो’ प्रचण्डले भने, ‘प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’
प्रचण्डले फेरि थपे, ‘मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।’
उनले नेपाली जनताका सपना पुरा गर्नका लागि आवश्यक परे जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएका छन् । माओवादी आन्दोलन जतिसुकै विग्रेको भए पनि क्रान्तिकारी पार्टी निर्माणका लागि जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए ।
‘कतिपयले प्रचण्ड फेरी झुपडीमा जान सक्लान त ? चिल्लो गाडी छोडन सक्लान त ? काठमाडौंको रमझम छोडन सक्लान त ? भनेर पनि भन्ने गर्छन्’ अध्यक्ष प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पदा मलाई गाउँघरमा जान, उनीहरुसंगै बस्न, मजदुरसंग खान, जनतामाझ गएर बस्न कुनै गाहरो छैन् । यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउँन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न्’
पार्टीमा कतिपय बिचलन आए पनि माओवादी मुल चरित्र यथास्थितिवादी र सुधारवादी नभएको उनले बताए ।
‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । ययसमा म छलाङ र गतिशिलता देख्छु’ प्रचण्डले भने, ‘कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् तर २०४५ सालमा सानो समुहबाट सुरु गरेर २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्ति प्रक्रिया हुदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो की अस्थिरता हो ?’
त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन आफूहरु तयार रहेको र अहिले पनि एउटा छलाङ हान्न खोजिरहेको प्रचण्डले बताए ।
माओवादीको बन्दसत्र गत सोमबारबाट सुरु भएको हो । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न हुनेछ ।














