काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्सफर्मरहरूमा समस्या आएका कारण बिजुली गइरहने समस्या भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत् सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको र ट्रान्सफर्मरहरूमा समस्या आएका बिजुली गइरहने समस्या भइरहेको बताएका हुन् ।
उनले पानी परेका बेला ट्रान्सफर्मरमा समस्या देखिएको र अहिले उक्त समास्या समाधान भइसकेको जानकारी दिए । काठमाडौँ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत् सप्लाई गर्न सक्ने उनले बताए ।
जाडो बढेपछि काठमाडौं उपत्यकामा विद्युतको बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड भइरहेको उनको भनाइ छ । उनले अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको बताए ।
उनले केही स्थानमा त्यहाँका बासिन्दाहरूले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको बताए ।














