Logo

एमसीसीमा ओलीको निर्लज्ज खेल



एकताको महाधिवेशनका नाममा बँचेखुचेको पार्टी जीवनको आन्तरिक लोकतन्त्रलाई नारायणी नदीमा विसर्जन गरेपछि अहिले एमालेमा दुर्गा प्रसाईंहरू विजयी र घनश्याम भुसालहरू पराजित हुनु नौलो कुरा भएन ।

पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा एमालेभन्दा नेपाली कांग्रेस बढी पारदर्शी देखियो । एमालेले झैँ गोजीबाट लिष्ट झिकेर त्यागी, इमान्दार कार्यकर्ताहरुलाई छानीछानी पन्छाइएको कांग्रेसी वृत्तमा देखिएन ।

देउवाबाहेक जुन–जुन अनुहार कांग्रेसमा विजयी बने, त्यसले आम मानिसको आशा जगाएको छ । एमाले अधिवेशनमा रावल र भुसालहरूले जस्तो अपमान गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा भोग्नु परेन ।

वास्तवमा, आफूलाई जनताको बहुदलीय जनवादी दाबी गर्ने जो कोही एमालेले लोकतान्त्रिक प्रकृयासँग भाग्नु भनेको आफैले मान्दै आएको नीतिविरुद्ध जानु हो । गोदावरीको भेलाले दिएको म्यान्डेटलाई आफू अनुकूल बनाउन केरमेट गर्ने ओली गुटका लागि यी सबै देखाउने दाँत भए । कांग्रेस महाधिवेशनको नतिजाले आन्तरिक लोकतन्त्रमा एमाले कमजोर कांग्रेस बलियो भएको सन्देश दिएको छ ।

खोक्रो राष्ट्रवादको पक्षपाति एमाले नेतृत्व एमसीसी प्रकरणमा नांगिएको छ । यही मौकामा सत्ता गठबन्धन ढाल्न एमालेले च्याँखे थापेर बसेको छ । आफ्ना सहयात्री जोगाउन नसक्ने असफल एमालेले संसदमा अवरोध खडा गरेर भत्ता खान लाज मानेका छैनन् ।

दुई–दुई पटक संसदको वध गर्न खोज्ने एमालेहरूका लागि संसद कुनै महत्वको विषय नै भएन । आफू प्रधानमन्त्री हुँदा एमसीसी टेबुल नगरेकै कारण सभामुख अग्नि सापकोटाविरुद्ध विषवमन गर्दै एमालेले सापकोटाको राजीनामा माग्नुको कारण पनि एमसिसी नै हो ।

सरकारले एमसीसी पास गरे एमालेले राष्ट्रघाती सम्झौता भन्दै युवाहरू उचालेर सडक तताउने, देउवाले सत्ता गठबन्धन भत्काएको खण्डमा मिलेर एमसीसी पास गर्ने दाउमा एमालेजन लागेका छन् । एमसीसीमा ओली निर्लज्ज खेल खेलिरहेका छन् । यो भन्दा राष्ट्रघाती कदम के हुन्छ ?
एमालेका सचेत कार्यकर्ताले प्रश्न गर्नुपर्ने हो, एमसीसी राष्ट्रघाती हो भने पास गर्नुहुन्न । यसलाई सत्ताको भर्याङ र बार्गेनिङको विषय बनाउनु राजनीतिक बेईमानी हुनेछ । तर, ओली र उनका अन्धभक्तहरूका विरुद्ध बोलेर एमालेमा कोही आफूलाई खतरामा पार्न चाहदैन् ।

जति छिटो चुनाव हुन्छ, पार्टीलाई त्यति नै फाइदा हुन्छ भन्ने भ्रम एमालेले पालेको छ । पार्टीमा कुलिन जात र सम्प्रदायको बोलवाला यथावत राखेर पार्टी जीवनको सम्पूर्ण अधिकार ओलीलाई सुम्पिएर एमालेले समाजवादलाई ‘सोम शर्मा’को कथामा परिणत गरेको छ ।

सम्भवतः एजेन्डा सकिएरै होला, ओलीले प्रचण्ड र ज्ञानेन्द्रबीचमा सम्झौता थियो भनेर प्रचार गर्न पनि बाँकी राखेनन् । यदी, उनीहरूका बीचमा भएका गोप्य सम्झौताबारे थाहा थियो भने त्यही प्रचण्डसँग हिजो किन एकता गरेको ? अनि, आज बाहिर निस्किएपछि हिजो सहकार्य गरेको व्यक्ति खराव हुने ? यो कस्तो प्रवृत्ति हो ?

माधव नेपाल सम्मिलित सर्वदलीय बैठकसमेत बहिष्कार गरेर ओलीले आफ्नो छुद्र रूप देखाइरहेका छन् । फरक विचारहरूलाई निषेध गरेर, असहमतहरूलाई किनारा लगाउनु अलोकतान्त्रिक चरित्र हो ।

सत्य के हो भने, समृद्ध नेपाल र सुखी नेपालीको नारा सुनेर प्रचण्ड र ओली नेतृत्वका वामशक्तिहरूको एकताले देशमा केही होला भनेर जनताले मतदान गरेकै हुन् । सबै वामपन्थीहरूको एकताले शान्तिपूर्ण रुपमा सत्ताकब्जा भएकै थियो ।

केन्द्रीय सरकार, सात मध्ये ७ वटा प्रदेश सरकार र स्थानीय सरकारसमेत वामपन्थीहरूको कब्जामा थियो । दुईतिहाइको सुनौलो अवसरलाई उपयोग गर्न नसकेर, स्वार्थ र अहंकारको कारण गुमाउँदै ओलीले यहाँसम्म आइपुग्दा एक्लै बहुमत ल्याउँछु भनेर गफ लगाउँदा पनि पत्याइदिने नेता कार्यकर्ता कस्ता उल्लु हुन् ? आफ्नाले गरेका सबै भ्रष्टाचार माफ हुने र त्यही विषयमा बोल्नेहरूलाई निषेध गर्ने ओलीसँग जनताले अझै किन अपेक्षा गर्नुपर्ने ? जसका मेहनत र रगतले पार्टी आजको स्थानमा आयो, उसैलाई अपमानित गर्दै सीमित बिचौलिया, भ्रष्टहरूको कब्जामा पार्टी पुर्याइसकेपछि जनताले फेरि के अपेक्षा गर्ने ?

ओली नीतिप्रधान होइन, केवल व्यक्तिप्रधान बन्दै गए । सर्वहारा वर्गको नाममा जेवी टुहुरे र रामेश श्रेष्ठका गीत गाउँदैमा कोही क्रान्तिकारी हुँदैन । अहंकारीहरूले रसातलमा पुर्याएको वर्गीय आन्दोलनको उठान अहिलेको खाँचो हो । समाजवादी क्रान्तिको लागि फेरि एकपटक परिवर्तनकारी वामपन्थीहरूको एकता आवश्यक छ ।

मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्