Logo
Logo

जनतालाई आधारभूत सेवा दिनु सरकारको कर्तव्य हो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई प्रभावकारी रुपमा आधारभूत सेवा उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताउँदै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास प्राथमिकता चालु आर्थिक वर्षको पाँच महिनाको प्रगति र सुशासन प्रवद्र्धन सम्बन्धमा नेपाल सरकारका सबै मन्त्री र सचिवलाई निर्देशन दिँदै आज उनले सो कुरा बताएका हुन् ।

जाडो बढेसँगै हिमपात र शीतलहरले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले जनतालाई आवश्यक सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री देउवाले कृषिप्रधान मुलुकमा मलखाद र बीउको कुनै कमी हुन नदिनसमेत आग्रह गरे ।

विकास निर्माण र जनतालाई सेवा दिने काममा अवरोधका रुपमा देखिने कानुनी समस्या समाधानका लागि लाग्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सबै सचेत रहेको र यसलाई नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गरे । मुलुक जलस्रोतको अपार भण्डारण भएकाले लगानीकर्तालाई आकर्षित गरेर बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकिनेमा उनले जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुक अहिले धेरै किसिमले समस्यामा छ, कोभिड–१९ ले पनि ठूलो समस्या ल्याएको छ । बेमौसमी वर्षा र बाढी धेरै क्षति पु¥याएको छ । विपक्षी पार्टीले संसद् सुचारु गर्न नदिएर अर्को समस्या खडा गरेको छ । यसले संसद्मा महत्वपूर्ण विषयमा गर्नुपर्ने छलफल हुन सकेको छैन । संसद्मा होहल्लाका बीचमा कतिपय कुरा पास गरेका छौँ, त्यो उचित त होइन तैपनि गर्नुपर्ने बाध्यता छ ।’

विकास निर्माणमा कार्यान्वयको समस्या पुरानै रहेको बताउँदै उनले समाधानका लागि विकासे मन्त्रालय र अर्थ मन्त्रालयबीच निरन्तर छलफल र सल्लाह गरेर अघि बढ्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन नसकेको बताउँदै उनले सम्बन्धीत निकायलाई ध्यान दिन निर्देशन दिए ।

कोभिड–१९ का बेला सरकारले धेरै महत्वपूर्ण निर्णय गरेको जानकारी गराउँदै उहाँले निःशुल्करुपमा कोभिडविरुद्धको खोप वितरण गर्ने नीतिले सफलता हासिल गरेको बताए । अझै पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै उनले खोप सहयोग गर्ने मुलुक तथा बहुपक्षीय निकायलाई धन्यवादसमेत दिए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनाताको जीवन हो । सबैको जीवन बचाउनुछ । अझै पनि कोभिडको समस्या हुन सक्छ । त्यसकारण प्राथमिकतामा राखेर खोपको मात्रा बढाउनुछ । कुनै पनि व्यक्ति खोपबाट वञ्चित हुन नपरोस् । खोपका सम्बन्धमा जनतालाई अझै सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि मैले देखेको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्