Logo
Logo

शहरमा मौलाउँदै ‘लिभिङ टुगेदर’ संस्कृति



अध्ययनका निम्ति होस् वा रोजगारी, अधिकांश युवाको रोजाइ बन्दैछ शहर । त्यसमा पनि मुख्य गन्तव्य बनेको छ– संघीय राजधानी काठमाडौं ।

शहर जाने, राम्रो पढ्ने र सफल व्यक्तित्व बन्ने सपना र लक्ष्य राख्नु नराम्रो होइन । यस्ता सपना र लक्ष्यले दुर्गमका युवालाई शहरले तानिरहेको हुन्छ । त्यसैले शहरी क्षेत्रमा मानिसको चाप बढ्दै गएको छ । मुलुकका मुख्य शहरहरूमा कोठा भाडामा पाउन मुस्किल हुन थालेको छ । विषेशगरि, काठमाडौं, पोखरा, विराटनगर, धनगढीलगायत ।

ठूला शहरमा मानिसको बढ्दो चापसँगै ‘लिभिङ टुगेदर’ बढ्दो छ । नेपाली समाजमा ‘लिभिङ टुगेदर’ तीव्र गतिमा विकसित हुँदैछ । कलेज पढ्ने युवादेखि रोजगारीका लागि शहर पस्नेसम्म ‘लिभिङ टुगेदर’मा रमाइरहेका छन् । यस्ता सम्बन्धमा किशोरकिशोरी र अविवाहितमात्रै होइन, विवाहितसमेत रम्ने गरेका छन् ।

परिवर्तित समय र परिस्थितिअनुसार नेपाली समाज पनि पश्चिमा संस्कारमा डुब्दै गएको छ । जानेर होस् या नजानेर । बुझेर होस् या नबुझी, युवामा पश्चिमा संस्कृति अँगीकार गर्ने क्रम मौलाएको छ । यही संस्कृतिले ल्याएको एउटा पाटो हो ‘लिभिङ टुगेदर’ ।

‘लिभिङ टुगेदर’ कसैको बाध्यता होला, कसैको रहर । तर, बाध्यताले भन्दा रहर गर्नेको जमात ठूलो छ । आर्थिक हिसाबले एक्लै बस्न समस्या हुँदा समेत यस्ता सम्बन्धको ट्रेण्ड बढ्दै गएको छ । व्यक्तिगत स्वतन्त्रताको नाममा पनि कतिपय ‘लिभिङ टुगेदर’मा बस्ने गरेका छन् ।

‘लिभिङ टुगेदर’मा रम्नेको संख्या बढेपनि उनीहरू आफ्नो सम्बन्धबारे कसैलाई स्पष्ट भन्न चाहँदैनन् । उनीहरूलाई घर, परिवार र समाजको डर छ । त्यसैले सकेसम्म यस्ता सम्बन्ध गुपचुप राख्न चाहन्छन् । एकान्तमा युवायवती कुरा गरिरहेको देख्दा कुरा काट्ने समाजले बिहेअघि सँगै बस्नुलाई सहजै पचाउँन सक्दैन । बिहेअघि महिला र पुरुष एकै ठाउँमा बस्नु सामाजिक र नैतिक दृष्टिकोणले उपयुक्त मानिएको छैन ।

नेपाली समाज पनि पश्चिमा संस्कारमा डुब्दै गएको छ । यही संस्कृतिले ल्याएको एउटा पाटो हो ‘लिभिङ टुगेदर’ । तर, सामाजिक तथा सांस्कृति रुपमा मान्यता पाउन नसक्दा ‘लिभिङ टुगेदर’ सम्बन्ध नभएर समस्या बनेको छ ।

‘लिभिङ टुगेदर’मा बस्ने सबैको साझा उद्देश्य भनेको कालान्तरमा पतिपत्नी भएर जीवनयात्र हुन्छ । बिहे गर्ने हो । त्यसैले एकले अर्कालाई राम्रोसँग बुझ्न ‘लिभिङ टुगेदर’ बस्ने गरेको बताउँछन् । ‘बिहेपछि मन नमिलेर सम्बन्धविच्छेद गर्नुभन्दा लिभिङ टुगेदर बसेर एकअर्कालाई बुझेर बिहे गर्नु उत्तम हो’ उनीहरूको तर्क ।

तर, ‘लिभिङ टुगेदर’मा रहेका सबै कालान्तरमा पति–पत्नी हुँदैनन् । कोही हुन्छन् पनि । कुनै बीचैमा छुटिन्छन् । यस्ता सम्बन्धमा बस्ने जोडीले एक–अर्काप्रतिको दायित्वबारे सुरुमै छिनोफानो गरेपनि दीर्घकालीन असरबारे सोचेका हुँदैनन् । पछि कस्तो समस्या आइपर्छ ? भन्ने ख्याल गर्दैनन् । समाधानको उपाय पनि थाहा हुँदैन ।

सम्बन्ध राम्रो भइञ्जेल केही हदसम्म सहज होला । तर, सम्बन्ध बिग्रियो भने यसले ठूलो अपराधको रुपसमेत लिनसक्छ । विशेषगरि यसको मारमा बढी महिला पर्ने गरेका छन् । महिला र पुरुषसँग कुनैपनि बेला यौन सम्पर्क रहन सक्छ, हाल यो सामान्य भइसक्यो । चाहेर वा नचाहेर गर्भ रहन सक्छ । त्यो पनि स्वाभाविकै हो ।

तर, जब पुरुषले गर्भ स्वीकार्दैन, त्यसपछि महिलालाई आपत्ति आइलाग्छ । यस्ता सम्बन्धबाट जन्मेको बच्चाको जिम्मेवारी कसले लिने ? कसले संरक्षण गर्ने ? कसले पालनपोषण गर्ने ? केटाले तिमीसँगको सम्बन्ध यति नै हो, अर्कै खोज भनेको अवस्थामा के गर्ने ? जस्ता प्रश्नहरू धेरै उठ्छन् ।

सबैको नियत राम्रै हुन्छ भन्ने हुँदैन । बिहे गर्ने आश्वासनमा यौन सन्तुष्टिका लागि मात्रै ‘लिभिङ टुगेदर’ बसेको पनि हुन सक्छ । यस्ता नियत भएका व्यक्तिका सम्बन्ध केही समयसम्म राम्रै होला । तर, जब घर लैजाने, बिहे गर्ने कुरा उठ्छ त्यहाँबाट विवाद सुरु हुन्छ । महिलाले जब वैधानिकताको कुरा उठाउन थाल्छन्, त्यसपछि सम्बन्धहरू बिग्रँदै जान्छ ।

सुुरुका दिनमा आकाशका तारा खसालिदिने सपना बाँड्दा मनको लड्डु घ्यूसँग खानेहरु शोषणको सिकारमा पर्छन् । भित्रभित्रै सहेर बस्न बाध्य हुन्छन् । तारा झारिदिन्छु भन्नेले दाह्रा झारिदिन्छु भन्न थाल्छन् । कुटाकुट गर्ने गर्छन्, चरित्र हत्यादेखि अश्लील भिडियोसमेत सार्वजनिक गरिदिन्छन् । जसले गर्दा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ । यिनै कारणले डिपे्रशनको सिकार भई आत्महत्यासमेत गर्ने गरेको तथ्यांक छ ।

महिला मात्रै होइन, कतिपय पुरुष पनि यस सम्बन्धबाट पीडित हुन्छन् । सहमतिमै बस्ने महिलाले छुट्टिँदा पैसा माग्ने गरेका छन् । सहमतिमै भएको यौन सम्बन्धलाई बलात्कारको आरोप लगाएर प्रहरीमा उजुरीसमेत दिने गरेको समाचार आइरहेका छन् ।

‘लिभिङ टुगेदर’सँग सम्बन्धित घटना वार्षिक ४०–५० वटा आउने प्रहरीको भनाइ छ । उजुरीको प्रकृति हेर्दा पे्रममा परेपछि विवाह गर्ने, सहमतिमा सँगै बस्ने, पटक–पटक गर्भपतन गर्ने, मन्दिरमा गएर विवाह गर्ने र पे्रमीले धोका दिएपछि अप्ठेरोमा पर्ने गरेका देखिन्छन् ।

नेपालमा अहिलेसम्म ‘लिभिङ टुगेदर’बारे स्पष्ट कानुन बनेको छैन । यससँग सम्बन्धित घटनालाई घरेलु हिंंसामै राखिएको छ । कानुनले यसलाई घरेलु हिंसामा समेटे पनि पीडितलाई न्याय दिलाउन गाह्रो हुने प्रहरी अधिकारी बताउँछन् । यस सम्बन्धी आउने उजुरीको अनुसन्धानका लागि सबैभन्दा गाह्रो काम प्रमाण जुटाउनु हो । यस्ता घटनामा प्रायः प्रमाण नभेटिने प्रहरी अधिकारी बताउँछन् । त्यसैले लिभिङ टुगेदरसम्बन्धी कानुुन अभावले यस्ता सम्बन्धबाट पीडित भएकाहरूले न्याय पाउन सकिरहेका छैनन् ।

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने कुरा बेलाबेलमा उठ्दै आएपनि यस्ता सम्बन्धलाई कसैले गम्भीर रुपमा लिएको पाइँदैन । नेकपा माओवादीका नेता मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने कुरा उठाएका थिए । तर, उनका कुरा कसैले पनि मनन गरेको पाइएन ।

गत असोज १८ गते कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा यादवले भनेका थिए– ‘लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी–चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।’

यादवले भनेजस्तै ‘लिभिङ टुगेदर’लाई स्पष्ट गर्नुपर्छ । यस्ता सम्बन्धका कारण आउने विकृतिको परिणामलाई बेलामै औँल्याउनुपर्छ । यसबारे बृहत्त बहस गर्नुपर्ने देखिन्छ । र, यसलाई नियन्त्रण गर्न आवश्यक कानुन बनाउनुपर्छ । यदि ‘लिभिङ टुगेदर’ अवैध हो भने राज्यले एउटा प्रस्ट कानुन बनाएर सम्बन्धित निकायलाई कारबाही गर्ने बाटो खुलाउनुपर्छ । र, सँगै बस्न पाउनुपर्ने हो भने पनि त्यसको प्रस्ट व्याख्यासहितको कानुन बनाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्