Logo

ओलीको ‘ज्वाइँसाव’ र देउवाको ‘आफ्नैमान्छे’



‘ओलीले ज्वाइँसाहेव भन्नुहुन्छ, देउवाको आफ्नै मान्छे हुँ ।’ यो हुँकार हो, आनन्द बतासको । अहिले बतासको समय छ, यतिबला उनी चर्चाको हुरीबतास चलाइरहेका छन् । ओलीको ‘ज्वाइँसाव’ र देउवाको ‘आफ्नैमान्छे’ का रूपमा उनको यति ठूलो ब्राण्डिङ भएको छ कि अब उनलाई थप परिचयको कुनै खाँचो नै छैन, सन्तान दरसन्तान पुग्ने भएको छ ।

बतास नेपालमा अभ्यास भइरहेको आसेपासे अर्थतन्त्रका एक कुरूप मोहरा हुन् । राजनीतिक नेताहरू, नोकरशाहीतन्त्र र दलाल पूँजीपतिहरूले सिर्जना गरेको आसेपासे अर्थतन्त्रको माखेसाङ्लोमा देश कसरी फसिरहेको छ ? र, त्यसले देशको समावेशी र समानुपातिक विकासलाई कसरी ध्वस्त पारिरहेको छ ? कसरी समान प्रतिस्पर्धाको अवसरबाट गरिखान चाहनेहरू विमुख पारिदैछन् ? यी प्रश्नहरूको उत्तर खोज्दा कडीका रूपमा बतास नामको मोहरा देखिन्छ । अझ उनले गब्बर सिंह स्टाइलमा ‘ओलीले ज्वाइँसाहेव भन्नुहुन्छ, देउवाको आफ्नै मान्छे हुँ’ भनेर जे भन्न खोजेका हुन्, त्यसले दिने संकेत भयानक छ । अड्कल काट्न सकिन्छ कि मुलुकमा देउवाको ‘आफ्नैमान्छे’ र ओलीले ‘ज्वाइँसाहेब’ भनेपछि जे गर्न पनि पाइन्छ, जति लुट्न पनि पाइन्छ ।

ओलीका पालामा ओम्नी र यती थिए, देउवाका पालामा बतास आए । दरबार हुँदा चौधरी, गोल्छा, खेतान, दुगड, वैद्य, मणिहरू थिए । चौधरी अझै एमाले हुँदै कांग्रेसको फेरो समातेर नयाँ लय समात्ने प्रयत्नमा छन् । बाँकी पुराना लगभग दृश्य बाहिर भइसके । असान्दर्भिक भएर पनि हुनसक्छ, स्थापित भइसकेकाले ओम्नी, यती र बतासस्तरको उठबस गर्न जरूरी नभएर पनि हुनसक्छ ।

मुलुकमा हरेकपटकको परिवर्तनले केही नयाँ बिचौलिया थपेको छ, केही नवधनाढ्यहरू बढाएको छ । रूपमा पात्र नयाँ थपिनेबाहेक सारमा केही फरक परेको छैन । फरक परेको छ भने लुटतन्त्रको दायरा, काइदा र आकारमा फरक परेको छ । कुनै समय करोडको कुरा हुन्थ्यो, मन्त्रालयसम्मकै सेटिङमा सकिन्थ्यो । अहिले अर्बमा कुरा हुन्छ, भ्रष्टाचार छल्न क्याविनेटसम्म पु¥याइन्छ । पहिला केही महारानी हुन्थे, अहिले अनेक महारानी छन् । सबै महारानीका आ–आफ्ना लाइन एजेन्सी छन् ।

आखिर किन यस्तो भयो त ? तपसिलमा यसका अनेक कारणहरू बताउन सकिन्छ । तर, मूलकारण समाजमा सबै व्यापार भयो । राजनीतिदेखि समाज सेवासम्म, धर्मकर्मदेखि परोपकारी पत्रकारितासम्म । अनि ती मान्छे मात्र सफल मानिए जोसँग पैसा हुन्छ । पैसा भएपछि पद मात्र हैन, जे पनि किन्न पाइने भयो । अरू त के कुरा भयो र इमान–जमान पनि किन्न पाइने भयो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै इमानजमान बोलकबोलमा चलेको छ यतिबेला । सबै मिलाएर लुट्नमा लागेका छन् । र, यो मिलाउन सबै एक ठाउँमा छन् । अहिलेसम्म आंशिक मिलेको क्षेत्र भनेको पत्रकारिता मात्र हो, त्यसैको बलमा मात्र मुलुकमा लुटतन्त्रले गियर डाउन गर्नुपरेको हो ।

नेपालमा नागरिक समाज एनजीओ मुभमेन्टको देखाउने दाँत भएको छ । एनजीओकर्मीहरू विदेशी एजेण्डाका खेतालाभन्दा बढी केही हुन सकेका छैनन् । जसले पैसा दिन्छ, उसैको पर्म जान खुट्टा उचालेर बसेका हुन्छन् उनीहरू । मण्डला फोहर पारेर नै यिनीहरूलाई सबै पुग्नु आफैंमा एक अचम्मलाग्दो कुरा छ । कर्तव्य नसम्झाएर मात्र अधिकारको लागि लड्न उत्प्रेरित गर्ने यिनीहरूले हरेक क्षेत्रमा अधिकारको कोटा पूरा गरिसकेका छन् । तर, कर्तव्यको कोटामा भने छिर्नै चाहेका छैनन् । अधिकार र कर्तव्यमध्ये अधिकारको मात्र पांग्रा बढाउन खोज्दा यिनीहरूको रथ जाममा परेको छ । यिनीहरूको समाजमा विश्वसनियता छैन । आफैँले दाबी गर्नु एउटा कुरा हो ।

मुलुकमा पैसाले किन्न नसकिने एउटै कुरा भनेको प्रतिष्ठा मात्र रहेको छ । जसले पद पाएका छन्, सबैको पैसा बढेको छ । तर, प्रतिष्ठा बढेको छैन, उल्टो घटेको छ । पद पाएर पनि प्रतिष्ठा जोगाउने वा अतिरिक्त प्रतिष्ठा कमाउने मानिस समाजमा दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । अरूको त के कुरा, घनश्याम भुसाल, योगेश भट्टराई, गगन थापाको मन्त्री हुनु अगाडि र मन्त्री भएपछिको प्रतिष्ठाको पारो नापौं न, घटेकै पाइन्छ ।
यसको मूल कारण के हो ? मूलकारण सबैका आ–आफ्ना तहका ‘बतास’ छन् । यिनीहरूलाई ठेक्कापट्टा वा यस्तै केही दिएर आसेपासे अर्थतन्त्रलाई बढावा दिइएको छ । मन्त्री भएको बेला दिएन भने उनीहरूले सिधै भन्छन्, ‘गर्ने भनेकै पदमा पुगेको बेला हो, अहिले नगरे कहिले गर्ने ?’ एक कोणबाट हेर्दा हो पनि । अनि उनीहरू पनि चाहेर/नचाहेर आ–आफ्ना ‘बतास’हरूको सुरक्षा गर्न लाग्छन्, यसो गर्दा हुने भनेको आसेपासे अर्थतन्त्रलाई भरथेग मात्रै हो ।

यसपछि निर्माण हुन्छन् ‘जुन जोगी आए पनि कानै चिरेको’, ‘सतीले सरापेको देश’ जस्ता संकथनहरू । फेरि चुनाव आउँछ, रूख, सूर्य र हँसिया हथौडा वा यस्तै–यस्तै ढ्वाङ थापेर यिनै आउँछन् । जति भोट खसेपछि एक भोट बढी पाउनेले जित्ने व्यवस्था छ नेपालमा । सयकडा ९० मतदानमै नगए पनि खसेको १० मतमध्ये बढी पाउनेले जित्ने हो । जित्ने भनेको एक किसिमले बतासहरूको खेती गर्ने लाइसेन्स हात पार्नु नै हो ।
मुलुकमा कांग्रेसमा विनोद चौधरी र एमालेमा मोतीलाल दुगडहरुलाई आर्थिक सल्लाहकार राखेर समाजवादको फुँइ हाँकिन्छ । योभन्दा सफेद झुट के हुन्छ ? प्रकारान्तरमा मुलुकमा काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने भाष्य निर्माण हुने हो र आलोपालो गरेर लुटतन्त्र चलिरहने हो । यही नै आसेपासे अर्थतन्त्रको कुरूप रूप हो ।

यो अवस्थाबाट आजित भएर मुलुकमा आफ्नो भविष्य नदेख्दा बर्सेनी हजाराँै सक्षम युवाहरू मुलुक छोड्छन्, छोडिरहेका छन् । ब्रेन ड्रेन जारी छ, ब्रेन ब्याक हुने वातावरण बनिरहेको छैन । जसले जहाँ जाने र जति समयका लागि जाने हैसियत बनाउँछ, जाने क्रम रोकिएको छैन । जानेको प्राथमिकतामा अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली मुलुक पर्छन्, त्यहाँ पाए त्यही जाने । नपाए जापान, कोरिया जाने । त्यहाँ पनि नपाए दुबइ जाने । त्यहाँ नपाए अन्य खाडी मुलुक जाने । कही नपाए मात्र नेपालमा बस्ने । जब कही जान नपाउनेहरू मात्र देशमा बस्ने अवस्था हुन्छ, त्यस्तो देशको भविष्य के हुन्छ ? सजिलै अनुमान लगाउन सकिन्छ ।

अहिले यस्तै भविष्य नभएको देश भएको छ नेपाल । एक किसिमले भन्ने हो नेपाल अघोषितरूपमा असफल राष्ट्र भइसकेको छ । तर, पनि नेताहरू समृद्धिको भ्रम बाँडेर राज गरिरहेका छन् । ‘जनतालाई भेडो बनाऊ र शासन गर’, यतिबेला मुलुकमा यही त भएको छ ।
त्यसैले त सोलेका गब्बर सिंहको भाषामा बतासहरू हुंकार गरिरहेका छन्, ‘ओलीले ज्वाइँसाहेव भन्नुहुन्छ, देउवाको आफ्नै मान्छे हुँ ।’ उनले भन्न बाँकी रहेको कुरा हो, ‘जे गर्न सक्छस् गर ?’ जब स्थिति यस्तो हुन्छ, त्यसपछि त एउटै कुरा भन्नुपर्ने हुन्छ, सक्किगो नि । आगे यहाँहरूकै मर्जी ।

प्रतिक्रिया दिनुहोस्