Logo
Logo

चितवनको खोला अवैध दोहन, पाँच नियन्त्रणमा, उत्खननमा रोक


- दृष्टि न्युज/संवाददाता


चितवन । कालिका नगरपालिकामा रहेका खगेरी खोला, स्याङ्दी, बुङ र थाङ खोलामा वनजंगल नै मासेर गिटी–ढुंगाको व्यापक उत्खनन् गरिएको छ । स्थानीय प्रशासनले बुधबार गरेको अनुगमनमा खोलाबाट कच्चा पदार्थ उत्खनन् मापदण्डविपरीत रहेको पाइएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी, वन कार्यालयले उक्त खोलामा बुधबार गरेको अनुगमनबाट खोलाको दोहन भएको पाइएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले मापदण्डभन्दा बढी मात्रामा गिटी–ढुंगा निकालिएको पाइएको बताए । नदीजन्य पदार्थको अवैध निकासी र दोहनसँग सम्बन्धित पाँच जनालाई प्रहरीले बुधबार र बिहीबार गरेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नवलपुर रजहरका २० वर्षीय सिमान्त शाही, भरतपुर महानगरपालिका–११ का ४२ वर्षीय भीमबहादुर गुरूङ, कालिका नगरपालिका–८ का २० वर्षीय विशालबाबु श्रेष्ठ, कालिका नगरपालिका–३ का २० वर्षीय जीतबहादुर तामाङ रहेका छन् । त्यसैगरी आज बिहीबार प्रहरीले साङ्दी खोलामा नदीजन्य पदार्थको उत्खनन् कार्यमा नै संलग्न कालिका नगरपालिका–६ का आशिष भण्डारीलाई पक्राउ गरेको छ । सबैजना टिपर, डोजरका चालक र सहचालक रहेको प्रहरीले जनाएको छ ।

अधिकतम एक मिटरसम्म उत्खनन् गर्न पाउनेमा त्यस क्षेत्रमा तीन मिटर बढी उत्खनन् गरिएको छ । त्यस्तै खोलाको दुवैतर्फ २५–२५ प्रतिशत ठाउँ खाली राखेर बीचबाट मात्र उत्खनन् गर्नुपर्नेमा वनजंगल नै मासेर पनि उत्खनन् भएको पाइएको छ । बुधबार अनगुगमनमा गएका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले यतिधेरै दोहन भएको भन्ने लागेको थिएन, यहाँ आएपछि वास्तविकता थाहा भएको बताए । उनले जथाभावी खोला उत्खनन् गर्दा हुन सक्ने पर्यावरणीय असरको बारेमा सामान्य आँकलन पनि नगरी मनपरी भएको बताए ।

इच्छाकामनाको खगेरी खोला क्षेत्र र कालिका नगरपालिकाको स्याङ्दी खोला, थाङ र बुङ खोलामा अत्यधिक दोहन भएको प्राविधिकसहितको टोलीले अनुगमनबाट निष्कर्ष निकालेको छ । सम्बन्धित स्थानीय तहले उक्त क्षेत्रको अनुगमन गर्नुपर्नेमा अनुगमन नहुँदा उत्खनन् बढी र नियन्त्रणबाहिर रहेको पाइएको छ । वनका रुख, बुट्यानहरु पनि मासेर उत्खनन् भएको छ ।

खोलामा जेठ मसान्तसम्म मात्र गिटी–ढुंगा उठाउन पाइन्छ, जसले गर्दा अहिले स्टक राख्नका लागि अत्यधिकरुपमा दोहन गरी मापदण्डविपरीतका ठाउँमा भण्डारण गरिएको छ । सरूवा भई चितवन आएको पहिलो दिन नै एसपी दानबहादुर मल्ल खोलामा भएको उत्खनन् हेर्न पुगेका थिए ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले आफू व्यस्त भएकोले अनुगमन गर्न नपाएको प्रतिक्रिया दिए । खोलामा भइरहेको गिटी–ढुंगा उत्खननको अनुगमन गर्न टोली पुगेको थाहा पाउनेबित्तिकै डोजर चालक र टिप्पर, ट्रयाक्टरका चालक तथा सहचालकको भागाभाग भएको थियो । बिल काट्नका लागि बसेका कर्मचारीहरु पनि भागेका थिए । स्थानीय प्रशासनले त्यस खोलामा बुधबारदेखि उत्खनन् कार्य रोकिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्