Logo

जनताका मुद्दा कसले उठाउने ?



पुस २५ गते झापामा एमाले अध्यक्ष खड्गप्रसाद ओली बग्गीमा सवार भएर जलपार्कको उद्घाटन गर्न गएको दृश्यलाई केही उट्पट्याङहरुले सामाजिक सञ्जालमा व्यंग्य गरे ।

मुलुक कोभिड संक्रमणको महामारीमा हल न चल भएका बेला राम–सीताका मूर्तिलाई तामझामका साथ आयोध्या पठाउने ओली पूर्वराजा ज्ञानेन्द्रको शैलीमा पञ्चेबाजासहित बग्गी चढेर गृहजिल्ला सवार हुनु खासै अचम्म मानिरहनुपर्ने कुरो होइन । आगामी चुनावको बेलासम्म यस्ता खालका रामरमिताहरु अझै देख्न पाइनेछ ।

लाग्छ, नेपालजस्तो गरिब मुलुकमा दुई–दुईपटक प्रधानमन्त्री भइसकेको नेतालाई आत्मतुष्टि र ‘म विशेष धातुबाट बनेको विशेष हुँ’ भन्ने अहंकारले यस्तो ठाउँ पुर्याउँछ । ओलीको मात्रै के कुरा सलामी प्रथाको कटू आलोचक रामकुमारी झाँक्री स्वयं मन्त्री भएपछि सलामी लिएको तस्वीर आलोचनाको विषय बन्यो ।

महाधिवेशनताका नारायणीतीरमा ओलीका पुतला (डमी)को खिल्ली उडाएर रमाइरहेका माओवादीका क्रान्तिकारीहरू स्वयं प्रज्ञा भवनमा प्रचण्डको पुतलासँग उभिएर फोटो खिचाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । यस्ता विवादित धन्दामा माधवकुमार नेपालले बरु अलिक चतुर्याइँ पुर्याएका देखिन्छ । कांग्रेसीहरूले भृकुटीमण्डपमा तूल, पर्चा बाँडे पनि देउवाको पूतलै उभ्याएर जात्रा भने गरेनन् ।

नेपालका कम्युनिष्ट पार्टीको झण्डा देखाएर माक्र्स, लेनिन, माओका नाममा राजनीति गरिरहेका दलहरुलाई राजतन्त्रको अन्त्य भएपछि बडो फसाद परेको छ । प्रधान शत्रु को हो ? अलमलमा छन् । ओलीले नेपाललाई, नेपालले ओलीलाई प्रधान शत्रु देखेका छन् । एकातिर जनतालाई केही न केही भनिरहनुपर्ने, कार्यकर्तालाई जोगाइरहनुपर्ने संकट उनीहरूलाई छ ।

प्रचण्ड र ओलीको घमासानमा कोही सबैभन्दा आक्रोशित छ भने त्यही बिचौलिया समूह छ । जसको धन्दामा ठूलो असर परेको छ । जमिनको मानिसलाई ओली सरकारमा हुनु र नहुनुको तात्विक असर केही पनि छैन ।

पञ्चायतीविरुद्ध आन्दोलन गर्दाको माले होस् या जनयुद्धको क्रममा जनवादी नेपालको सपना देखाएर कार्यकर्ता उचाल्दाको माओवादी नेतृत्वको कुरा होस्, पटक–पटक सत्तामा पुग्दा उनीहरूले बहुदलीय प्रतिस्पर्धालाई माध्यम बनाएर लोककल्याणकारी राज्य निर्माण गर्ने रणनीति, कार्यनीतिको प्रयास त के बहससम्म पनि गरेनन् । जनताका मुद्दा कसले उठाउने ?

हिजो यती समूह र ओम्नीका नाममा ओली समूहले लुट चलाएको थियो, अहिले बतासको नाम चर्चामा छ । सक्नेले खाने र लुट्ने धन्दा त मुलुकमा यो वा त्यो रूपमा जारी नै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्ना कारिन्दाहरुको भर्तिकेन्द्र बनाएर आफ्नो सरकारका सबै भ्रस्टाचारलाई जोगाउने ओली स्वयं भ्रस्टाचारीलाई घृणा गर्नुहोस् भनेर झापामा गफ लगाएको सुन्न विवश छन् जनता । मुलुकमा विधिको शासन हुन्थ्यो भने ओली भाषण गर्दै हिँड्ने होइन, राज्यलाई आफूमाथि लागेका भ्रष्टाचारका मुद्दाहरुको कठघरामा उभिएका हुन्थे ।

हिजो संगठन निर्माणको क्रममा, पञ्चायती राजशाहीविरुद्ध आन्दोलन गर्दाको माले होस् या जनयुद्धको क्रममा जनवादी नेपालको सपना देखाएर कार्यकर्ता उचाल्दाको माओवादी नेतृत्वको कुरा होस्, पटक–पटक सत्तामा पुग्दा उनीहरूले बहुदलीय प्रतिस्पर्धालाई माध्यम बनाएर कसरी लोककल्याणकारी राज्य निर्माण गर्ने भन्ने रणनीति, कार्यनीतिको प्रयास त के बहससम्म पनि गरेनन् ।

दलभित्रको वैचारिक बहस गर्न खोजेका प्रचण्ड, माधव नेपाल, झलनाथहरुलाई ओलीले घुँडा टेकेर बस्नुपर्ने या त बिद्रोह गर्ने बाध्य अवस्थामा पुर्याइदिए । संस्थापनसँग बिद्रोह गर्ने काम आफैँमा चुनौतीपूर्ण कदम हो । आफूलाई हरेक मोर्चामा साथ दिएका १० भाइले खुट्टा कपाए पनि माधव नेपालले भने त्यो चुनौती स्वीकारे । यो राजनीतिककर्मीको इमान्दारिता थियो ।

पार्टीभित्र बहसको ढोका ओलीले बन्द नगरेको भए पार्टी अरु लोकतान्त्रिकरण भएर नेपालका कम्युनिष्ट आन्दोलन अझ बलियो हुन सक्थ्यो । किनभने, तामझाम ठूलो कुरा होइन, मुख्य कुरा विचार हो । मदन–आश्रितको सहानुभूति, माक्र्स एङ्गेल्सका जार्गन र मनमोहन अधिकारीको नौ महिनाबाहेक ओलीका गफ सबै आउटडेटेड भइसकेका छन ।

जिल्ला–जिल्लामा अधिवेशन गर्ने लोकतान्त्रिक प्रक्रियाको उल्टो गतिमा एमाले अहिले केन्द्रमा नेता चुनेर जिल्ला अधिवेशनतिर लागेको छ । ओलीको हुकुम प्रमाङ्गी पाएका बाहेक अरुलाई नेतृत्वमा आउन बन्देज गरिएका दृश्य र समाचारहरु आइरहेका छन ।

माधव नेपाल र प्रचण्डको सत्तोसराप नै एमालेको मूल एजेण्डा बनेको छ । इमानदार कार्यकर्ताको ठाउँ ठेकेदार र जग्गा दलालहरुले कब्जा गरेका छन् । जसको जोत उसको पोतको नारा लगाएको एमालेका खर्चिला अधिवेशन र बितेका चुनावहरु हेर्दा पैसा नहुने मानिस राजनीतिमा नआए हुन्छ भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

वास्तवमा एमाले पूर्णत वामपन्थबाट विचलित भइसकेको छ । भारतीय जनता पार्टीको शैलीमा ऊ पूर्णतः लोकप्रियतावाद अर्थात् पपुलिज्मको बाटोमा राजनीतिक बेडा लान खोज्दैछ । उत्पादनमूलक काम, कृषिमा आत्मनिर्भर, पूँजीको सही परिचालनका कुरा त पर भए । उसले हिजो वर्गीय आधारमा गरेको लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पनि तिलाञ्जलि दिएर डेमोगग खडा गरेर जनोत्तेजक राजनीति गरिरहेको छ ।

हिजोसँगै संघर्ष गरेका नरेश खरेल, मनकुमार गौतमहरु उनीहरुका निम्ति अनुत्पादक भए, मोतीलाल दुगड दुर्गा प्रसाईंहरू महत्वका पात्र हुन गए । शान्ता मानवीहरूले संगठन बनाए, कोमल ओलीहरूले अवसर पाए ।

यो सबै कुरा किन हुन्छ त ? किनभने, विचारबाट च्यूत भएर लोकप्रियतावादको राजनीतिमा होमिएपछि मतदाताको मत प्राप्त गर्न ‘पोइला जान पाम’ खालका गीतहरू बजाउनुपर्ने हुन्छ । रामेशका गीतहरू त्यहाँ पुराना भइसके ।

एमालेमा सकेसम्म उग्र कुरा गर्ने, मानिसहरुलाई देब्रे ढल्कुवा होस् वा दाहिने वैचारिकरुपमा रित्तो बनाउँदै पार्टीभित्र बहस निषेधित गर्दै केही व्यक्ति, गुट र व्यापारिक स्वार्थका निम्ति गुप्तरूपमा काम गर्न यिनीहरू सधैँ तयार हुन्छन् ।

सानो उदाहरण– त्यत्रो युवाशक्ति खाडीलगायत विभिन्न मुलुकमा क्रियाशील छ । त्यो शक्तिलाई नेपाल फर्काउने भिजन छ त कसैसँग ? अहिले त सकेसम्म युवालाई विदेशै पठाएर उनीहरूको श्रममा देश चलाउने कामलाई रोक्न यिनीहरू तयार छैनन् ।

जनताको मन जित्न कालापानीका चर्का कुरा उठाए राष्ट्रवादी भइने नै भयो । नक्साको राजनीति गर्नेसँग पाठ्यपुस्तक किन थन्क्याइयो भन्ने कुराको जवाफ छैन ।

यदि, नेपालमा वर्गीय मुक्तिको राजनीति गर्ने हो भने एमालेका इमानदार कार्यकर्तालाई पनि स्पेश दिने गरी माधव नेपाल नेतृत्वको बिद्रोहीले यी मुद्दाहरु सम्बोधन गर्नुपर्दछ ।

यस्तो होस् कि, सर्वहारा अधिनायकत्वको सपना देखेका माओवादीका इमानदार कार्यकर्ताहरु पनि त्यो पुनर्संगठनमा अटाउन सकून । कम्युनिष्टको नाममा पपुलिज्मको यो ओली फण्डा एमाले हाटबजारमा धेरै टिक्नेवाला छैन ।

भूमिको असमान वितरण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सबैको बराबर पहुँच, देशको श्रमशक्तिलाई देशमै टिकाइराख्ने योजना एकीकृत समाजवादी पार्टीले इमानदारीपूर्वक ल्याउँछ भने ऊ नै अबको दिनमा स्थापित हुने समाजवादी पार्टी नै हो ।

त्यसको निम्ति पिर्के सलामी खान छोडौं । जनताका घरदैलोमा भुटेका मकै खान थालौं । यो गर्नुपूर्व अबको बाटो के हो ? स्पष्ट होऔँ । जमिन नछाडौं कामरेडहरू । समयले भोलि टेक्ने जमिनै नरहने पनि बनाइदिन सक्छ ।

मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्