Logo
Logo

गृहलाई महानिर्देशकको चुनौती



काठमाडौं । अध्यागमन विभागमा हुने चलखेलले नेपाल विदेशीको क्रिडास्थल बन्दै गएको छ । अध्यागमन विभागको कर्मचारीको निकम्मापन र भ्रष्ट आचरणका कारण पर्यटक भिसामा आएर अपराध गर्नेदेखि बिजनेश भिसामा बसेर धर्म प्रचार गर्ने गतिविधि बढेको छ ।

विभागले अवैध धन्दामा संलग्नलाई पनि संरक्षण दिने गरेको पटक पटक पुष्टि भइसकेको छ । बालबालिकालाई सहयोग गर्ने नाममा स्थापना भएको एक संस्थाले नेपालमा धर्म परिवर्तन तथा व्यापारको काम गरेको पाइएपनि विभागले कारबाही गरेको छैन । जबकी गृह मन्त्रालयले गरेको छानबिनमा अवैध धन्दा गरेको पुष्टि भइसकेको छ । ललितपुरमा रहेको माउन्टेन चाइल्ड नामक संस्थाका सञ्चालकले सामाजिक सेवाको नाममा गैरकानुनी काम गरेका हुन् । हालै संस्थाले ललितपुरमा १३ रोपनी जग्गा खरिद गरेको छ ।

अमेरिकाको माउन्टेन चाइल्ड नामक संस्थामार्फत सहयोग लिएर नेपालमा माउन्टेन चाइल्ड इन्क नेपाल संस्था सञ्चालन हुँदै आएको छ । सोही संस्थाका सञ्चालकहरूले माउन्टेन चाइल्ड गेस्ट हाउस, माउन्टेन चाइल्ड एडभेन्चर ट्राभल एन्ड ट्रेकिङ, एभ्रिडे हिमालय, धार्चाेक रिट्रिट सेन्टर, बौद्ध होस्टेल र स्टारलाइट फाउन्डेसनजस्ता संस्था सञ्चालन गर्दै आएका छन् । खासगरी धर्म प्रचारमा आउने विदेशीलाई सहजीकरणका लागि यी विभिन्न किमिसका संस्था बनाइएका हुन् । सुरुमा उनीहरुले बालगृह चलाउने गरेकोमा त्यसको मापदण्डमा कडाई भएपछि होस्टेल बनाएर चलाउँदै आएका छन् । जहाँ दुर्गमका बालबालिकालाई पढाउने नाममा धर्म प्रचार गराइन्छ ।

अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत नेपालमा पैसा ल्याएर विभिन्न क्षेत्रमा लगानी हुँदै आएको छ । नेपाली मूलका अमेरिकी नागरिक सुजन घिमिरेसँग मिलेर एनजिओको नाममा धर्म र व्यापार गरेको गृहको छानबिन रिपोर्टमा प्रष्ट भइसकेको छ । तर, घिमिरे लगायतलाई विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जोगाएका छन् ।

सो संस्थामार्फत उनीहरूले हिमाली जिल्लाका दुर्गम गाउँमा स्कुल खोल्न भनेर सामाजिक कल्याण परिषद्बाट स्वीकृति लिएका थिए, जसले गोरखाको नुर्बुलगायत ठाउँमा स्कुल पनि खोल्यो । शिक्षा दिनुभन्दा त्यसको उद्देश्य धर्म परिवर्तन भएको खुलेपछि परिषद्ले सो संस्थाको प्रोजेक्ट नै रद्द गरेको थियो । बुद्धिस्ट बालबालिकालाई उनीहरूले क्रिस्चियन धर्ममा लगाएको पुष्टि भएपछि परिषद्ले कारबाही गरेको थियो ।

गृहले यस्तो गतिविधिमा संलग्न विदेशीलाई कानुनी कारबाही गरी निष्कासन गर्न निर्देशन दिएको छ । सोही आधारमा संस्थाका सञ्चालक ज्याक रेड, स्कट निकोलस स्मिथ, क्रिस्टोफर चार्ल्स रिचर्डसन, सुजन घिमिरे, सारा डुइट घिमिरेमाथि छानबिन गरेपनि नेपाल छाडिसकेका केही विदेशीलाई कालो सूचीमा राखेर अन्यलाई जोगाउने काम भएको छ । मुख्य व्यक्तिलाई जोगाएर कर्मचारी स्तरकालाई मात्र विभागले कारबाही गरेको हो ।

विभागका महानिर्देशक भट्टराई गोरखामा सिडिओ हुँदा नै सो संस्थासँग नजिकिएका थिए । जसकारण गृहको निर्देशक बाबजुत उनले कारबाही रोकेका हुन् ।

गृहले माउन्टेन चाइल्डमाथि अनुसन्धान गरी कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालयलाई पनि पत्राचार गरेको थियो । महिला मन्त्रालयले संस्थालाई कारबाही गर्न समाज कल्याण परिषद्लाई भनेको छ । तर, समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टका पनि संस्थाको प्रभावमा पारेर कारबाही गर्न सकेका छैनन् । संस्थासँग करोडौं सम्पत्ति भएकाले उनीहरुले नेपालमा प्रशासकदेखि नेतासम्मलाई आर्थिक प्रभावमा पार्दै आएका छन् ।

नेपालमा सामाजिक कामका नाममा आएका यस्ता धेरै संस्था धर्मप्रचारमा संलग्न भएपनि अध्यागमन र समाज कल्याणमा सेटिङ मिलाउनेलाई उन्मुक्ति दिने गरिएको छ । जसकारण गाउँ–गाउँमा विदेशी लगानीमा चर्च खोल्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्