Logo
Logo

तराईमा २० प्रहरीको आतंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका हिंसात्मक गतिविधि झन् बढ्दै गएका छन् । विप्लव समस्या समाधानमा सरकार गम्भीर हुन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ ।

गत साता सो समूहले काठमाडौंमा शक्तिशाली बिष्फोट गराएको थियो । सोमबार सोलुखुम्बुमा चौकी आक्रमणको प्रयास गरे । सोमबारको घटनापछि ग्रामिण क्षेत्रमा कार्यरत प्रहरीमै विप्लवबारे त्रास बढेको छ ।

विप्लवका गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप गुप्तचर लगायत सुरक्षा निकायलाई लागेको छ । तीन सय भन्दा धेरै धेरै नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । तर पनि उनीहरुको गतिविधि रोकिएको छैन । सुरक्षा निकायको सूचना संयन्त्र कमजोर हुँदा यसरी विप्लवका गतिविधि नरोकिएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

डिआईजीको कमाण्डमा रहेको नेपाल प्रहरीको बिशेष ब्यूरालाई सोही समूहमाथि निगरानी गर्ने प्रमुख जिम्मेवारी दिइएको छ । तर ब्यूरो अहिले निकै निकम्मा बनेको छ । ब्यूरोलाई बलियो बनाउन गृह मन्त्रालयले समेत चासो दिएको छैन । कारबाहीमा परेका र पहुँच नभएका प्रहरीलाई त्यहाँ थन्काउने गरिएको छ । साथै ब्यूरोलाई पैसा असुल्ने माध्यम समेत बनाइएको छ ।

स्रोतका अनुसार बिशेष ब्यूरोमार्फत हाल तराईका जिल्लाहरुमा २० भन्दा धेरै प्रहरीलाई खटाइएको छ । उनीहरुको काम सेटिङ र पैसा असुली रहेको स्रोत बताउँछ । आफूहरु बिशेष ब्यूरोको प्रहरी भन्दै करिब ६ महिनादेखि जिल्लाका हाकिमलाई समेत बाइपास गरेर अवैध धन्दामा सक्रिय छन् । जसमध्ये केही प्रहरी महानिरीक्षकको सचिवालयकै व्यक्तिहरु रहेको स्रोत बताउँछ । उनीहरुको गतिविधिबारे तराईका जिल्लाका एसपीहरु समेत केही बोल्न नचाहने अवस्था छ । खासगरी तराईमा विगतमा घुमुवाकै रुपमा काम गरेका प्रहरीहरुलाई त्यसरी ब्यूरोमार्फत खटाइएको छ । त्यस्तो टिममा हालै बढुवा भएका एक इन्सपेक्टर समेत छन् ।

यसरी ब्यूरोलाई पैसा असुलीको माध्यम बनाइएपछि २/४ जना प्रहरी सुराकीमा खटिएका छन् । अर्काेतर्फ एसपी विकासराज खनाल लगायत केही प्रहरी त ३३ किलो सुन प्रकरणमा जेलबाट छुटेपछि थन्काइएका अधिकारीहरु छन् ।

पछिल्लो समय प्रहरी आफैं कमजोर बन्दै गएको छ । चरम राजनीतिक हस्तक्षेप र सरुवा बढुवामा बढेको चलखेलले प्रहरी संगठनमा नकारात्मक असर देखिएको छ । यस्तो अवस्थामा प्रहरीका केही बलिया संस्थामा समेत सिस्टम भत्कन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्