Logo
Logo

विश्वका अपराधीको हब बन्यो काठमाडौं



काठमाडौं । गत बुधबार प्रहरीले काठमाडौंमा भइरहेको एउटा नयाँ प्रकारको अपराध पत्ता लगायो । एउटा अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर विश्वभरी अनलाइन जुवा खेलाउँदै आएको महानगरीय अपराध महाशाखाको कारबाहीबाट पत्ता लाग्यो ।

चोभार क्षेत्रमा तीनवटा घर भाडामा लिएर २४ सै घन्टा अनलाइन जुवा खेलाउने गरिएको थियो । प्रहरीले त्यसमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । त्यसरी जुवा खेलाएवापत उनीहरुले निश्चित कमिसन पाउँदै आएका थिए । गिरोहका नाइके भने अमेरिकामा रहेको बताइएको छ ।

दुई सिफ्टमा कर्मचारी राखेर २४सै घन्टा त्यहाँबाट अनलाइन जुवा खेलाउने गरिएको प्रहरीले जनाएको छ । चोभारका सुजेन्द्र थापा, प्रदीपमानसिंह बस्नेत र बुद्ध महर्जनले यसरी जुवा खेलाउने गरेका हुन् ।

यो घटनाले नेपाल कसरी अन्तर्राष्ट्रिय अपराधिक समूहको लागि सुरक्षित भूमि बनिरहेको छ भन्ने प्रष्ट हुन्छ । नेपालबाट यसरी अनलाइन जुवा खेलाउँदा सुरक्षित हुने ठानेर नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

१० महिनादेखि उनीहरूले यो धन्दा चलाएको प्रहरीको दाबी छ । उनीहरूले जुवा, फायर किरिङ, रिभर स्विप्स, रिभर मोनस्टर, भेगास–एस जस्ता एपमार्फत जुवा खेलाउने गर्दथे । जुवा भने विदेशीलाई नै खेलाउँदै आएको प्रहरी भनाइ छ  । उनीहरूले जुवा खेलाउन सातवटा एप प्रयोग गरेको र एउटाबाट मासिक दुईदेखि तीन हजार डलरसम्म लिने गर्दथे ।

प्रहरीले मनीष थापा, समीर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना, रमादेवी श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु भने कर्मचारी भएको बुझिएको छ ।

प्रहरीका सूचनाअनुसार यसरी नेपालबाट अनलाइन जुवा खेलाउने दर्जनौँ समूह यहाँ सक्रिय छन् । अन्य समूहमाथि पनि अनुसन्धान सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले बताएका छन् ।

चिनियाँदेखि अमेरिकीसम्म
नेपालमा बसेर अपराध गर्नेमा विश्वका धनाढ्य देशका नागरिकसमेत छन् । अध्यागमन विभागको तथ्याङकअनुसार नेपालमा बसेर अवैध गतिविधिमा संलग्न विदेशीहरुमा चिनियाँ, अमेरिकी र बेलायती अग्रस्थानमा छन् ।

सन् २०२१ मा चीन, अमेरिका र बेलायतका नागरिक नेपालबाट धेरै निष्काशिन भएका छन् । कोरोना महामारीको वर्ष पनि २७ जना चिनियाँ, १९ जना अमेरिकी र १५ जना बेलायती नागरिकलाई नेपालबाट निष्काशन गरिएको छ । त्यसमध्ये केही फौजदारी अपराधमा पक्राउ परेका र केही पाँच महिना भन्दा लामो समय अवैध रुपमा बसेका छन् ।

एक सय २५ जना भिसा अवधिभन्दा लामो समय बसेको र अन्य ६५ जना विभिन्न किमिसका अन्य अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्काशन गरेको हो ।

एक वर्षको अवधिमा विभागले ५७ देशका एक सय ९० जना विदेशीलाई विभागले निष्काशन गरेको छ । निष्काशित हुने विदेशीमा चीन, अमेरिका र बेलायतपछि दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पाकिस्तान र रसियाका नागरिक छन् ।

दक्षिण कोरियाका ११, फ्रान्स, जर्मनी र पाकिस्तानका १०–१० तथा रसियाका ८ जनालाई विभागले निष्काशन गरेको हो । त्यस्तै, जापान, अफगानिस्तान, श्रीलंकाका ५/५ जना, इटाली, अष्ट्रेलिया र क्यानाडाका ४–४ जना निष्काशनमा परेका छन् ।

खासगरी नेपाललाई चिनियाँहरुले आफ्नो अखडा बनाएका छन् । दुई वर्षअघि मात्र प्रहरीले एकैपटक एक सय २२ जना चिनियाँलाई पक्राउ गरी निष्काशन गरेको थियो । चिनियाँ नागरिक पर्यटक भिसामा बसेर व्यापार तथा कानूनविपरीत गतिविधिमा संलग्न रहँदै आएको पटक पटकका प्रहरी कारबाहीबाट पुष्टि हुँदै आएको छ ।

एटीएम ठगीदेखि वन्यजन्तुसम्बन्धी अपराधमा चिनियाँहरु पटक–पटक पक्राउ परेका छन् । डलर तस्करी गर्ने चिनियाँ समूह पनि नेपालमा सक्रिय छ ।

चिनियाँ नागरिकलाई नेपालमा भिसा निःशुल्क भएकाले पनि चिनियाँहरु आउने क्रम बढ्दो छ । कोरोना महामारीको समयमा पनि ठूलो संख्यामा चिनियाँ नेपालमा बस्दै आएका छन् । यसले उनीहरु पर्यटकको आवरणमा अन्य गतिविधिमा सलग्न रहेको प्रष्ट हुन्छ । तर, नियमन र कारबाही हुन सकेको छैन ।

कल बाइपासदेखि एटीएम ह्याकिङसम्म
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मात्र हालसम्म ४० जना विदेशीलाई कल बाइपास अपराधमा पक्राउ गरिसकेको छ । जसमा आधाजसो बंगलादेशी छन् ।

नेपालमा कल बाइपासको अवैध धन्दा नै बंगलादेशी इन्जिनियरले भित्राएको प्रहरी अधिकारी बताउँछन् । कमजोर कानूनकै कारण कल बाइपास धन्दा मौलाएको हो ।

पर्यटक भिसामा आएका कतिपय विदेशी वेश्यावृत्तिमा समेत संलग्न रहेको पाइएको थियो । जसमा चिनियाँ, रसियनदेखि उज्वेकिस्तान युवती छन् । विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्कासन गरिएको थियो । अफ्रिकी देशका केही युवतीसमेत नेपालमा यस्तो धन्दामा संलग्न रहेको प्रहरीको आकलन छ ।

बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तव्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाउनुपर्ने अवस्था छ ।

नक्कली एटीएमबाट पैसा झिक्न आउने रोमानियासहित बुल्गेरिया, माल्दोभा, सर्बियाजस्ता पूर्वी युरोपियन देशका नागरिक पटक–पटक नेपालमा पक्राउ परेका छन् । सीआइबीका अनुसार चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीयलाई सीआइबीले पक्राउ गरी मुद्दा चलाइसकेको छ । नेपालमा बैंकिङ सिस्टम र सुरक्षा कमजोर ठानेर उनीहरूले नेपाललाई हब बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

नेपाललाई ट्रान्जिट बनाएर लागु औषध तस्करी गर्ने धन्दा त पुरानै हो । दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन नेपाल हुँदै अन्य देश पुर्याउने गरिएको छ । नेपालमा पक्राउ परेपनि धेरै वर्ष जेल बस्न नपर्ने पक्राउ परे पनि सेटिङमा छुट्ने भएकाले नेपाल अपराधीको ट्रान्जिट बनेको हो ।

आइएनजीओहरु खुलेआम धर्मप्रचारमा
नेपालमा रहेका कतिपय विदेशी कम्पनी तथा सामाजिक संस्था खुलेआम धर्मप्रचारमा सक्रिय छन् । तर, यस्ता गतिविधिमा संलग्नहरुको राजनीतिमा उच्च तहसम्म सेटिङ हुने भएकाले कारबाही हुने गरेको छैन ।

सामाजिक संस्थाको आवरणमा धर्म प्रचार तथा व्यापारको काम गरेको पाइएपछि अध्यागमन विभागले नेपालमा बस्दै आएका पाँच अमेरिकी र एक अस्ट्रेलियन नागरिकलाई हालै कालोसूचीमा राखेको छ । तर, त्यसका मुख्य व्यक्तिहरुलाई भने जोगाइएको छ ।

माउन्टेन चाइल्ड नामक संस्थामा आवद्ध अमेरिकी नागरिकलाई कालोसूचीमा राखिएको हो । अमेरिकी नागरिकहरू अलेन ज्याक्सननुनाली, मिचेल एममोर्गन, स्कट निकोलस स्मिथ, सराई एस्ले स्मित, केड मिचेल सिन्डेल र अस्ट्रेलियन नागरिक जेनिफर कन्सट्यान्स बोटरेललाई कालोसूचीमा राखिएको हो ।

गृह मन्त्रालयले माउन्टेन चाइल्डमाथि अनुसन्धान गरी कारबाही गर्न महिला तथा बालबालिका मन्त्रालय तथा अध्यागमन विभागलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अध्यागमनले कारबाही गरेको हो ।

अमेरिकाको माउन्टेन चाइल्ड नामक संस्थामार्फत सहयोग लिएर नेपालमा माउन्टेन चाइल्ड इन्क नेपाल संस्था सञ्चालन हुँदै आएको छ । सोही संस्थाका सञ्चालकहरूले माउन्टेन चाइल्ड गेस्ट हाउस, माउन्टेन चाइल्ड एडभेन्चर ट्राभल एन्ड ट्रेकिङ, एभ्रिडे हिमालय, धार्चाेक रिट्रिट सेन्टर, बौद्ध होस्टेल र स्टारलाइट फाउन्डेसनजस्ता संस्था सञ्चालन गर्दै आएका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक सुजन घिमिरेसँग मिलेर एनजीओको नाममा धर्म र व्यापार गरेको गृह मन्त्रालयको छानबिन रिपोर्टमा उल्लेख छ । सो संस्थामार्फत उनीहरूले हिमाली जिल्लाका दुर्गम गाउँमा स्कुल खोल्न भनेर सामाज कल्याण परिषद्बाट स्वीकृति लिएका थिए, जसले गोरखाको नुर्बुलगायत ठाउँमा स्कुल पनि खोल्यो ।

शिक्षा दिनुभन्दा त्यसको उद्देश्य धर्म परिवर्तन भएको खुलेपछि परिषद्ले सो संस्थाको प्रोजेक्ट नै रद्द गरेको थियो । उक्त संस्थाले अमेरिकाका क्रिस्चियन मिसनरीमार्फत ठूलो रकम ल्याएर नेपालमा खर्च गर्दै आएको छ । संस्थाका कतिपय पदाधिकारी बिजनेस भिसामा बस्दै आएका छन् । सो संस्थामाथि समाज कल्याण परिषद्ले पनि छानबिन गरिरहेको भएपनि कारबाही रोक्न चलखेल भइरहेको छ ।

बिजनेश भिसामा नेपालमा रहेका अन्य धेरै विदेशीले धर्म प्रचार गरेको उजुरी परेपनि अध्यागमनका कर्मचारीले फाइदा लिएर जोगाउने गरेका छन् । जसकारण नेपालमा धर्म प्रचार गर्नेहरुको लागि पनि उपयुक्त देश बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्