Logo

बलियो हुनेछ श्रमिक एकता, उठनेछन् लेनिनका शालिकहरू



बोल्सेभिक क्रान्तिको अगुवाइ गरेका कुशल संगठक, विचारक र अध्ययता लेनिन बितेको सन् १९२४ जनवरी २१ तारिख सम्झँदै यो वर्ष पनि लाखौं जनता मस्कोमा रहेको लेनिनको शवगृह सामुन्ने जम्मा भए ।

लेनिन विचारको जगमा फेरि पनि उभिनेछ रूस भनेर उनीहरुले वर्तमान बेथितिको विवेचना गरे । अश्रुपूर्ण आँखामा लेनिनलाई सम्झनेहरू हिउँ परिरहेको मौसमलाई पनि वास्ता नगरी फूल अर्पण गर्न व्यस्त देखिन्थे ।

५३ वर्षको अल्पायुमै बितेका लेनिनका जीवनका आरोह, अवरोह र उनको रूसी क्रान्तिको सफलताको दृष्टिले हेर्नेलाई मात्र होइन जीवनमा आफूले लिएको अठोटलाई वास्तविकतामा बदल्न चाहने र सिंगो युगलाई बदल्ने हिम्मत राख्ने सबैको लागि प्रेरणाको कथा हो ।

सोभियत संघको पतनपश्चात ढालिएका लेनिनका शालिकहरू विस्तारै उठ्न थालेका छन् । संसारभरि नै राजनीतिमा चासो हुने नहुने सबैका लागि लेनिन श्रद्धाका पात्र भएका छन । आखिर किन ?

प्रश्न उठ्छ– के जन्मिएला त नेपालमा महान् व्यक्ति ? समयले जन्माउनेछ नयाँ नेता । त्यसको निम्ति एकत्रित हुनुपर्छ असल वामपन्थीहरु । ऊँचनिचको यो ठूलो खाडल समाजमा सधैँ रहिरहनु सम्भव छैन । न त गरिबको नाममा धनी भइरहन सधैँ सम्भव छ । उठनेछन्, फेरि लेनिनका शालिकहरू ।

माक्र्स र ऐंगल्सले प्रतिपादन गरेको कम्युनिष्ट घोषणापत्रमा कल्पना गरिएझैँ वर्गीय समाजमा सर्वहारा वर्गको अधिनायकत्वको सपना देख्दै गर्दा लेनिनले निर्वासनका अप्ठेरा दिनहरू बिताउनुपरेको थियो ।

मजदुरलाई श्रमअनुसारको ज्याला, भूमिमा सबैको सामान अधिकार (जसको जोत उसको पोत), महिलाहरुलाई पुरुष बराबरको हक र सामान सहभागिता, सर्वहाराहरुको अधिनायक हुने राज्यको कल्पना त्यो पनि बलियो सेनासहितको राजा (जार) रहेको रूसजस्तो कट्टर अर्थोडक्स समाजमा, आफैँमा ठूलो दुस्साहस थियो ।

सीमित मानिसहरुको हातमा राज्यको अर्थतन्त्र थियो । जोत्नेहरुको हातमा भूमि थिएन । दिनभरि श्रम गर्नेहरुको पेट भोको थियो । मानिस औषधिमूलोको अभावमा मरिरहेका थिए । चरम गरिबी समाजमा जारहरुको शासन चलिरहेको थियो ।

लेनिनको जीवन आफैँमा संघर्षको दस्तावेज हो । स्वीट्जरल्याण्डमा समेत निर्वासन बसेका लेनिनको मूल ध्येय युरोपभरिका श्रमिकहरुको हकहितका लागि काम गरिरहेका शक्तिहरुलाई एकीकृत गर्नु थियो । श्रमिकहरु बस्ने साँघुरो गल्ली, पुरानो मजदुरको घरमा ज्यूरिख बसेको सम्झँदै लेनिनकी पत्नी नाजेजदा क्रुप्स्काया लेख्छिन्– ‘निसासिँदो गल्लीमा म अक्सर रातिमात्र झ्याल खोल्थेँ । पुरानो घरबाट बडो अचम्मको सहन अप्ठेरो हुने गन्ध आउँथ्यो । तर, मैले लेनिनको सपना बुझेकी थिएँ । सिंगो देशको मुक्तिको अगाडि मेरो दुःखपूर्ण जीवन सामान्य कुरा थियो ।’ ज्युरिखको त्यो गल्ली आज लेनिन बसेकै कारण संसारैभरिका मानिसहरुको निम्ति आकर्षण केन्द्र बनेको छ ।

लेनिनले ज्यूरिखको सुन्दरता, रमणीय तालको बयान साथीभाइलाई चिठ्ठीमा लेखेपनि मनभित्र उनी शरणार्थी जीवनप्रति खुशी थिएनन् । ज्यूरिख बसाइको क्रममा उनले साम्राज्यवाद नै पूँजीवादको उच्चतम रूप भन्ने आफ्नो क्रान्तिको निम्ति आधार तयार भएको वैज्ञानिक विश्लेषणसहितको अवधारणाको काम सिध्याएका थिए ।

त्यसो त, युरोपभरिका समाजवादी र क्रन्तिकारी धार भएका दलहरु जसले समाजवादलाई आफ्नो गन्तव्य मानेका थिए, उनीहरुको सम्मेलनमा समाजवाद प्राप्तिको निम्ति सर्वहारा वर्गको नेतृत्वमा हुने सशस्त्र आन्दोलनले मात्र राज्यसत्ता कब्जा हुन्छ भन्ने उनको विचारलाई कसैले पत्याएको थिएन ।

बर्नको सोसियल डेमोक्र्याट र ज्यूरिखको समाजवादी संगठनले पनि उनको अवधारणालाई नमाने पनि उनी आफ्नो विचारमा अडिग थिए ।

सामन्ती पूँजीवादी व्यवस्थालाई नढालीकन समाजवादको स्थापना सम्भव छैन, त्यसको निम्ति सीमान्तकृतहरुको सक्रियतामा सशस्त्र आन्दोलननै जरुरी छ भन्ने सोच बोकेर लेनिन जर्मनी हुँदै रसिया फर्केका थिए ।

फ्रान्स, बेलायतलगायत विभिन्न देशको लामो शरणार्थी जीवन बिताएर रसिया फर्के लगत्तै सन् २०१७ मा भएको विद्रोहपछि लेनिन सिंगो सर्वहारा अधिनायकत्वको शासन स्थापना गर्न सफल भएका थिए ।

ज्यूरिख बसाइको क्रममा बर्न र ज्यूरिखमा हुने हरेक राजनीतिक बहस र विमर्शमा सामेल लेनिनको बारेमा सम्झँदै तत्कालीन लेखकहरुले लेखेका छन्– होचो कदका लेनिन निकै अध्यनशील थिए । हरेक बहस र मिटिङहरुमा उनी सबैभन्दा पहिला पुग्थे । टिपोट गर्थे तर हतपति बोल्दैनथे । कानुन विषयमा उच्च शिक्षा हासिल गरेका लेनिन अनावश्यक टिप्पणी गर्ने, अरुलाई होच्याउने चरित्रका थिएनन् । उनले हरेक मानिसले भनेका कुराहरुलाई असाध्यै गम्भीरतापूर्वक लिन्थे, अझ आफ्ना कुराको विरोध गर्नेहरुका विचारलाई टिपोट गरिहाल्थे ।’

सबैका लागि शान्ति, रोटी र जमिन । जारशाहीविरुद्धको लेनिनको आन्दोलनको मुख्य एजेण्डा यही नै थियो । देश श्रमिकहरुको पनि हो । भूमिहीनहरुको पनि हो । वर्ग संघर्षमार्फत सत्ता कब्जा गरेर समाजवादी व्यवस्था ल्याउने उनको उद्देश्य लाखौं मजदुरको योगदानबाट सफल भयो ।

जसै म लेनिनको जीवन पढ्छु, एउटा जोश बढेर आउँछ । भिन्दै । लेनिनको अर्थनीतिको जगमा, लेनिनको महासंग्रामको आह्वान र दूर राजनीतिक दृश्यको जगमा उभिएको सोभियत संघको विकास हेर्ने मौका पाएँ । सोभियत संघको पतन पनि देखेँ ।

संघको पतनमा लेनिनको सिद्धान्त होइन कि लेनिनको मृत्युपश्चात सत्तामा रहेकाहरुको गलत आचरण प्रमुख थियो । स्टालिनको क्रूरता त्यसको प्रमुख कारण हो भन्ने मलाई लाग्छ ।

औद्योगिककरणमा मूल भूमिका निभाए पनि राजनीतिक स्वतन्त्रतासम्बन्धी पार्टीभित्र स्टालिनको कदम गलत थियो । लेनिनको संगठन र सत्ता सञ्चालनको सिद्धान्त आज पनि उत्तिकै उपयोगी छ ।

लेनिनको बारेमा चर्चा गर्दै गर्दा एउटा प्रश्न गर्न मन लाग्छ– के लेनिनको तस्वीर झुन्ड्याउँदैमा कोही लेनिनवादी बन्छ ? जनताको स्वास्थ्यमाथि व्यापार गर्ने बनियाँहरुलाई, गरिबहरूका लासमाथि पैसाको खेती गर्ने अधमहरुसँग कहाँ छ लेनिनको तस्वीर झुन्ड्याउने नैतिक हक ?

डेकेन्द्र राजवंशी झुन्डिएको रुखमा यिनीहरुले पहिल्यै लेनिनलाई झुन्ड्याएर यहाँ वास्तविक लेनिनको वध गरिसकेका थिए । नेपालको कम्युनिष्ट आन्दोलनमा जे भइरहेको छ यो सब लेनिनका नाममा नाटक भइरहेको छ । लेनिनको नाममा व्यापार भइरहेको छ ।

हो समय बहुत धेरै बदलिएको छ । सूचना प्रविधिको क्षेत्रमा विश्वले ठूलो छलाङ मारेको छ । तर, हिजो गरिएका वाचा सत्तामा पुगेपछि किन बिर्सन बाध्य हुन्छन् कम्युनिष्टको नाममा संसद् पसेकाहरु ? जनताको मतले सार्वभौम संसद्, प्रदेश सरकार, स्थानीय सरकार कब्जा गरेर सत्तामा पठाउँदा पनि किन सम्बोधन भएन सर्वहारा वर्गका कुरा ? दोषी को हो ? कसले विभाजन गर्छ नेपालको वाम शक्तिलाई ? के को लोभमा जुट्ने र फुट्ने गर्छन् यिनीहरु ?

वास्तविक लेनिनवादीहरु एकजुट भएर फेरि संगठनको मोर्चामा लाग्नुपर्ने बेला भइसकेको छ । लेनिनको नाम लिएर सत्तामा पुगेर भोट दिएका मानिसहरुसँग गरेका सम्झौताअनुसार काम गरे लेनिनप्रति सच्चा सम्मान त्यही हुनेछ ।

तर, लेनिनका नाममा आफैँ मोटाउने, आफ्ना वरिपरिकालाई मोटो बनाउने, अकूत सम्पत्ति थुपार्ने दौडमा लागेका भ्रष्ट कम्युनिस्ट पार्टी कब्जा गरेका पाखण्डीहरुले लेनिनको बदनाम मात्र गरिरहेका छन् ।

सर्वहारा वर्गको हकहितमा बोल्नेहरु संगठित हुँदै गएपछि फेरि बलियो हुनेछ श्रमिक एकता । प्रश्न उठ्छ– के जन्मिएला त नेपालमा महान् व्यक्ति ? समयले जन्माउनेछ नयाँ नेता ।

त्यसको निम्ति एकत्रित हुनुपर्छ असल वामपन्थीहरु । ऊँचनिचको यो ठूलो खाडल समाजमा सधैँ रहिरहनु सम्भव छैन । न त गरिबको नाममा धनी भइरहन सधँै सम्भव छ । उठनेछ, फेरि लेनिनका शालिकहरू । लेनिनप्रति हार्दिक श्रद्धाञ्जलि ।

मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्