Logo
Logo

खोप केन्द्र कि कोराना केन्द्र ?



देशमा कोरोना संक्रमणको तेस्रो लहर चलिरहेको छ । संक्रमित बढ्याबढ्यै छन् । कोरोनाको पहिलो र दोस्रो लहर सामना गरिसकेका नेपालीहरू यतिखेर तेस्रो लहरको चपेटामा छन् । काठमाडौंमा बस्ने अधिकांश संक्रमित छन् । केही आइसोलेसनमा छन् । धेरैजसो ‘चेक गरायो भने कोरोना देखिन्छ’ भन्दै हिँडिरहेका छन् ।

अहिले हामी सम्भावित खतराप्रति उदासिन छौँ । जनस्वास्थ्यका नियम पालना गर्न छोडेका छौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यविज्ञका अनुसार भीडभाड नगर्नु, सामाजिक दूरी कायम गर्नु कोरोना संक्रमणबाट बच्ने उपायहरूमध्ये एक हुन् । तर, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुनपानीले हात धुनेजस्ता कोरोनाले सिकाएको अनुशासन बिर्सँदै गएका छौँं ।

मुलुकको पछिल्लो राजनीतिक गतिविधिले पनि कोरोना फैलिनुलाई टेवा दियो । ‘कोरोना–सोरोना केही होइन’ भन्दै राजनीतिक दलहरूले महाधिवेशन गरे । भिड जम्मा पारे । कार्यक्रम गरे । सार्वजनिक सभा–समारोह तथा कार्यक्रमहरूमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्डको पालना गरेनन् । जसले गर्दा देशका कुनाकाप्चासम्म कोरोना फैलिन मद्दत पुग्यो । शून्यमा झरिसकेको मृत्युदरमा फेरि बढ्न थाल्यो । विज्ञहरूले कोरोना संक्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।

खोप केन्द्रको व्यवस्थापनले सरकारलाई चुनौती दिइरहेको छ । सरकारको मापदण्ड ‘भौतिक दूरी’लाई लाइनमा गुम्सिएकाहरूले गिज्याइरहेका छन् । आपसमा दूरी नहुँदा खोप केन्द्र नै कोरोनाको हटस्पट बनिरहेको छ ।

डब्लुएचओले कोरोना संक्रमण नियन्त्रणका लागि भिडभाड नगर्न र भौतिक दूरी कायम गर्न बारम्बार सुझाव दिँदै आएको छ । सरकारले पनि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । देशका विभिन्न ठाउँमा ‘स्माट लकडाउन’ गरिएको छ । काठमाडौं उपत्यकामा निजी यातायातका साधनमा अझै जोरबिरोज प्रणाली लागू छ ।

साथै, सरकारले अहिले संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिएको छ । गत असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दा नै आफ्नो पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई जोगाउने रहेको बताएका थिए । आफ्नो प्रथामिकता खोपबाहेक केही नहुने उनको भनाइ थियो । उनले भनेका थिए, ‘अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप । तीनवटा प्राथमिकता खोप, खोप, खोप ।’

प्रधानमन्त्रीको देउवाको उक्त प्रतिबद्धताले खोपको आशै आशामा बसेका नागरिकलाई केही आशा थपियो । अहिले देउवाले सरकार सम्हालेको ६ महिना नाघिसक्यो । यसबीचमा खोपको प्रबन्ध पनि राम्रै भयो । विदेशबाट लाखौँ भ्याक्सिन ल्याइयो । केही अनुदानममा, केही खरिद गरेर ल्याइएको खोप अहिले धमाधाम लगाइँदै छ ।

कोरोना संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरेको छ । कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप कार्ड देखाउनुपर्ने हुन्छ । सरकारले खोप कार्ड अनिवार्य गरेपछि अस्पतालहरूमा खोप लगाउने भिड लागेको छ ।

खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुने भएपछि अस्पतालहरूमा खोप लगाउन पुग्ने भिड बढ्दो छ । खोप केन्द्रमा भिड थामिनसक्नु छ । खोपका लागि सर्वसाधारणको लामो लाइन देख्न सकिन्छ  । काठमाडौँ उपत्यका त्यसैपनि संक्रमणको जोखिममा छ । खोप केन्द्रहरु अव्यवस्थित छन् ।

भौतिक दूरी कायम गरेको पाइँदैन । कतिपयले त मास्कसमेत लगाएको देखिँदैन । जसले गर्दा कोरोनाबाट बच्नका लागि भन्दै खोप लगाउन पुगेकाहरूबाटै संक्रमण फैलिने सम्भावना छ । आपसमा दूरी नहुँदा खोप केन्द्र नै कोरोनाको हटस्पट बनिरहेको छ । खोप लगाउन लाइन बस्नेहरूले प¥याप्त सावधानी अपनाएका छैनन् । त्यहीँबाट संक्रमण फैलने सम्भावनालाई कसैले नकार्न सक्दैनन् ।

ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले खोप केन्द्र झनै खतरनाक छ । यो पटक धेरैलाई खोप चाहिएको कारणले खोप केन्द्र व्यवस्थापनमा चुनौती बनेको हो । खोप नलगाएकाहरूलाई ओमिक्रोनले बढी असर पु¥याउने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने विज्ञहरूको सुझाव दिँदै आएका छन् ।

नियमित खोप लगाउने मानिसको भीड घट्न नसकेका बेला बूस्टर मात्रा लगाउनेसमेत थपिएपछि खोप केन्द्रबाटै संक्रमण फैलिन सक्ने विज्ञहरूको चिन्ता छ । भाइरसविज्ञ डा. लुना भट्ट शर्मा भन्छिन्, ‘सबैभन्दा पहिला खोप केन्द्रलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । किनभने, खोप लगाउन जाँदा नभएकालाई पनि संक्रमण हुने डर भयो ।’

सरकारले खोप कार्ड अनिवार्य गर्नु राम्रो हो । तर, खोप कार्ड पाउनु पहिले खोप लगाउनुपर्छ । त्यसका लागि तोकिएको खोप केन्द्रमा जानुपर्छ । कमजोर व्यवस्थापनका कारण खोप केन्द्र पुगेकाहरूबाटै कोरोना फैलिने जोखिम छ । खोप केन्द्रलाई व्यवस्थित बनाउन सकिएको छैन । स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि केही खोप केन्द्रहरुमा खोप अभियान नै स्थगित गरिएको छ ।

खोप केन्द्रका भीड नियन्त्रणका लागि अस्पताल र स्थानीय प्रशासनले चासो दिएका छैनन् । खोपको प्राप्ति र व्यवस्थापनले सरकारलाई चुनौती दिइरहेको छ । सरकारको मापदण्ड ‘भौतिक दूरी’लाई लाइनमा गुम्सिएकाहरूले गिज्याइरहेका छन् ।
कोरोनाको पहिलो लहर र दोस्रो लहरमा सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारलाई जनउत्तरदायी बनाउन फेहरिस्त पेस गर्ने प्रतिपक्ष अथार्त कांग्रेस अहिले सरकारमा छ । तर, अवस्था उस्तै छ । ‘जुनै जोगी आएपनि कानै चिरेको’ भनेजस्तै ।

योभन्दा अघि पनि पटकपटक सरकारले खोप अभियान सञ्चलन गरिसकेको थियो । डेल्टा भेरियन्ट पनि खोप केन्द्रबाटै फैलिएको थियो । त्यसबाट कसैले केही पाठ सिक्न सकेनन् । खोप उपलब्ध गराउने जिम्मा केन्द्र सरकारको भएपनि खोप केन्द्र स्थापना र खोप वितरणको जिम्मेवारी जिल्लास्थित निकाय र स्थानीय सरकारहरूको हो । तर, त्यसतर्फ उनीहरूको ध्यान गएकै पाइँदैन । विगतको सिकाइ र अनुभवका आधारमा खोप केन्द्रहरू विस्तार गरिएन ।

हुन त संक्रमण घटेपछि दुःख पाएका दिन बिर्सिने र संक्रमण बढेसँगै फेरि यो किन भएन र त्यो किन भएन भनेर प्रश्न गर्नु आफैंमा विरोधाभास पूर्ण छ । तर, अहिले जुन गतिमा कोरोना फैलिरहेको छ, त्यसैले प्रश्न नगरी बस्नु सुखै छैन ।
ओमिक्रोनलाई नियन्त्रण गर्न वा रोकथामका लागि हामी धेरै पछाडि परिसकेका छौं । त्यसैले अब स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी खोप केन्द्रमा भीडभाड हुन नदिन गम्भीरताका साथ लाग्नुपर्छ । त्यसका लागि सरकारको मुख ताकेरमात्रै हुँदैन, हामी जनता पनि सजग र जिम्मेवारी बन्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्