Logo
Logo

कांग्रेसको आडमा गुन्डागर्दी गर्ने ‘राधे’ पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
धादिङमा गुन्डागर्दीको आतंक मच्चाउदै आएका राधे भनिने राधाकृष्ण भण्डारी फाउ परेका छन् । बुधबार साँझ धादिङ रोराङ गाउँपालिका ३ काद्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै स्थानीय सर्वसाधारणलाई कुटपिट गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार राधे समूहमा रहेर आपराधिक गतिविधि गर्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य र समिर थापामगरलाई पक्राउ गरिएको हो।

‘निकासी कर उठाउने सम्बन्धमा विवाद गरी स्थानीयलाई कुटपिट गरिरहेका बेला पक्राउ गरिएको हो,’ बैदवारले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।

झगडा भइरहँदा पुगेको प्रहरीमाथि पनि राधेले आक्रमण गरेका थिए। आक्रमणमा एक प्रहरीको बर्दी च्यातिएको छ। एक सर्वसाधारण घाइते छन्।

राधे तरुण दल धादिङका उपाध्यक्ष हुन्। खोलानालाबाट अबैध असुली, चन्दा, धम्की, कुटपिट राधे समूहको गतिविधि हो। कुनै बेला एमालेका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ र राधेबीच धादिङमा आपराधिक गतिविधिमा प्रतिस्पर्धा हुन्थ्यो।

प्रहरी इन्काउन्टरमा चरी मारिएपछि धादिङमा राधेको एकछत्र आपराधिक गतिविधि चल्दै आएको छ। अधिकारी र उनको समूहबीच बारम्बार झगडा परिरहन्थ्यो। त्यसक्रममा राधेले अधिकारीलाई एक पटक गोली प्रहार गरेका थिए। कांग्रेसको आडमा उनले जिल्लामा गुन्डागर्दी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्