Logo
Logo

युएईमा यसरी मनाइयो नेपाल-डे (फोटो फिचरसहित)



काठमाडौं । यूएई एक्स्पो-२०२० दुवई (विश्व मेला)मा नेपाली सांस्कृतिक झाँकीसहित ‘नेपाल डे’ मनाइएको छ ।

युएई सरकारका विदेशमन्त्रीको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रम युएईस्थित नेपाली दुतावास र एक्स्पो २०२० मा नेपाली पेवेलियन प्रस्तुतकर्ता आईईजी ग्रपले आयोजना गरेको हो ।

यो एक्स्पो २०२० मै गर्ने भनिएको थियो । तर, त्यसबेला कोरोना महामारीका कारण हुन नसकेपछि २०२२ मा गरिएको हो । त्यसैले २०२२ मै एक्स्पो गरिएपनि ‘एक्स्पो २०२०’ भनिएको आयोजकले जनाएको छ ।

बिहीबार सम्पन्न कार्यक्रममा युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल साथमा कूटनीतिक प्रतिनिधिसहित सांस्कृतिक संस्थान निमित्त कार्यकारी निर्देशक शुयेश खनाल तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव देवीप्रसाद थपलिया, नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक पासाङ शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजयलक्ष्मी राई, नेफिन युएईमा आवद्ध सामुदायिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ युएईले नेपाल डे कार्यक्रममा विभिन्न किसिमका बाजागाजासहित परेडको आयोजना गरेर एक्स्पोस्थल परिक्रमा गरेको थियो । नेपाल डे कार्यक्रममा सम्मानस्वरूप नेपाल र यूएईको झण्डोत्तोलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आएका सांस्कृतिक संस्थानका कलाकारले नेपालको सांस्कृतिक विविधता झल्कने गीतसंगीत र नृत्यहरु प्रस्तुत गरेका थिए । साथै, नेपाल आदिवासी जनजाती महासंघ युएईका कलाकारहरुले सी स्टेजमा भव्य रुपमा आफ्नो प्रस्तुति दिएका थिए । जसले विश्व मेला अवलोकन गर्न आएका पर्यटकलाई मनोञ्जन दिलाएको थियो ।

नेपाल डे कार्यक्रम जस्तै युएई सरकारले मेलामा सहभागी १ सय ९२ राष्ट्रहरुले हरेक दिन कार्यक्रम गरी मनाउँदै आइरहेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै यूएईका विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायकमन्त्री याकुव अल हुनेसीले यस्ता कार्यक्रमले दुई देशबिचको सम्बन्ध झन प्रगाढ र बलियो हुने विश्वास व्यक्त गरे । उनले हाल युएईमा २ लाख ४० हजार नेपाली कार्यरत रहेको तथ्य उल्लेख गर्दै युएईको बिकासमा नेपाली नागरिकले प्रत्यक्ष सहभागिता रहेको उनको भनाइ थियो ।

युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै यूएईले नेपाललाई गरेको सहयोग सधैँ उल्लेखनीय रहेको बताए । भूकम्पजस्तो प्राकृतिक प्रकोप तथा कोरोना महामारीको समयमा यूएईले गरेको सहयोग सधैँ सम्झना योग्य रहेको उनले बताए ।

कार्यक्रममा नेपाली मौलिक भेषभुषामा सजिएर उपस्थित भएका कलाकारले नेपाली विविधता विश्व सामु झल्काउन सफल भएको एक्स्पो २०२० का नेपाली पेवेलियनका होस्ट आइईजी ग्रपका अध्यक्ष अमृतरत्न शाक्यले बताए ।

आइईजीका निर्देशक बिनायक शाहले सांस्कृतिक संस्थान निमित्त कार्यकारी निर्देशक शुयेश खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव देवीप्रसाद थपलिया, नेपाल आदिवासी जनजाती महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक पासाङ शेर्पा, नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष बिजयलक्ष्मी राई, आईईजी ग्रपका अध्यक्ष अमृतरत्न शाक्य र निर्देशक बिनायक शाहले नेपाल डे कार्यक्रमले युएईमा मिनी नेपालको झझल्को दिलाएको बताए ।
–(तिलक साम्पाङको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्