Logo
Logo

युएईमा अलपत्र ८ जना नेपालीको उद्धार, म्यानपावर सञ्चालक पक्राउ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ ।

काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली युवाहरुलाई तत्काल उद्धार गर्न चेतावनी दिएपछि सोही म्यानपावरले उद्धार गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

उद्धार गरिएका नेपाली युवाहरुमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेलधुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई रहेका छन्।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजार रुपैयाँका दरले रकम लिएर युएई पठाएर अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले पक्राउ गरेको थियो ।

त्यस्तै केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई नेपाल फर्काइएको छ। रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई पनि स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्