Logo
Logo

कमल थापाको ‘गीता कसम’ दुई वर्ष पनि टिकेन



काठमाडौं । दुई वर्षअघि कमल थापा अध्यक्ष रहेको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता भयो । २०७६ फागुन २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमबीच एकता घोषणा भयो ।

एक्ता घोषणा सभामा बोल्दै तत्कालीन अध्यक्ष थापाले राप्रपा कहिल्यै नफुट्ने दावी गरे । उनले ‘गीता’ हातमा लिएर पार्टी नफुटाउने कसमसमेत खाए । पटकपटक मिल्दै र फुट्दै गरेको इतिहास सम्झदै थापाले भने– ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन ।’

तर, थापाको उक्त कसम दुई वर्ष पनि टिकेन । थापाले आज हेटौँडामा पत्रकार सम्मलेन गर्दै पार्टी परित्याग गरेको घोषणा गरे । उनले भने- ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएँ ।’

ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दू राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि थापाले लगातार राप्रपाको नेतृत्व सम्हाल्दै आएका थिए । तर, गत मंसिरमा भएको एकता महाधिवेशनमा थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भए ।

त्यसपछि थापाले पार्टी नेतृत्वप्रति असन्तुष्ट जनाउँदै आएका थिए । थापाले निर्मल निवासलाई गर्नसम्म गाली गरे । निर्मल निवासबाट हस्तक्षेप भएको भन्दै छानविन हुनुपर्ने बारम्बार माग राख्दै आए । तर, उनको माग अध्यक्ष लिङ्देनले सम्बोधन गर्न आवश्यक ठानेनन् । त्यसपछि थापा नयाँ पार्टी खोल्ने योजनासहित राप्रपाबाट अगल भए ।

विचार नमिल्ने राजनीतिक शक्तिसँग सत्ताका लागि सहकार्य गरेर राजतन्त्र र हिन्दूराष्ट्रको एजेन्डा कमजोर बनाएको कमललाई आरोप लाग्दै आएको थियो । त्यसैले पार्टीका नेता–कार्यकर्ता थापासँग असन्तुष्ट थिए । र, एकता महाधिवेशनमा थापालाई हराएर लिङ्देनलाई अध्यक्ष बनाए ।

एकता महाधिवेशनमै धेरैले राप्रपामा फुट आउने विश्लेषण गरेका थिए । नभन्दै एकता महाधिवेशनले राप्रपामा फुट आएको छ । थापाले राप्रपा अहिले नै औपचारिक रूपमा फुटाइसकेका त छैनन् । तर, नयाँ अभियान सुरु गर्ने बताइसकेका छन् । उनी राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने तयारी गरिरहेका छन् । पूर्वराजालाई अनेक लाञ्छना लगाइसकेपछि उनी फेरि राजतन्त्रको एजेन्डा बोकेर हिँड्न सक्ने अवस्थामा छैनन् ।

लामो समयदेखि आलोचित बन्दै आएका थापाको पार्टी परित्याग गर्ने निर्णय थप आलोचनाको विषय बनेको छ । गीता छोएर खाएको कसमको इज्जत राख्न नसकेको टिप्पणी हुन थालेको छ । आजका दिनसम्म थापाले स्थापित गरेको राजनीतिक छवि र प्रतिष्ठा थापा आफैले धुलिसात बनाएका छन् ।

जीवनभर बोकेर हिँडेको सिद्धान्त र निष्ठालाई सहजै विसर्जन गरेपछि उनी समर्थक र शुभचिन्तकहरुकै नजरबाट स्खलित बनेका छन् । आफ्नो मुख्या एजेण्डा नै त्यगेका थापाले अरुको मन पगाल्न कति सक्लान त्यो त भविष्यमै थाहा होला ।
थापाको संगठनात्मक धरातल त कमजोर हुँदै गएको छ । तर, थापा भने निकटका नेतासँग राप्रपा भन्दा बलियो पार्टी बनाउन सकिने भन्दै आएका छन् । त्यति मात्र होइन, नयाँ पार्टी गठनका लागि राप्रपा कै धेरै नेताले साथ दिने उनको अनुमान रहेको छ ।

नयाँ पार्टी गठनका लागि राप्रपाका ८० जना केन्द्रीय सदस्यले साथ दिने थापाको दावी छ । थापा महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्रीसहित ८० केन्द्रीय सदस्यले साथ खुलेआम भन्दै आएका छन् ।

उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, महामन्त्री कुन्ती शाही र भुवन पाठक, केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्तौला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताले थापालाई साथ दिनसक्नु अनुमान हुने गरेको ।

प्रतिक्रिया दिनुहोस्