Logo
Logo

पुरुषको अग्रसरतामा सम्भव छ महिला हिंसा अन्त्य



महिलाविरुद्धको हिंसा मुलतः लैंगिक विषयसँग आधारित हुन्छ । जन्मिएकै आधारमा महिलालाई पृथक दृष्टिकोणबाट हेरिने र निम्नकोटीमा राखिने हुनाले नै महिलाउपर विभिन्न किसिमका अमानवीय व्यवहार गरिन्छन् ।

पितृसत्तात्मक अवधारणामा महिलामाथि बढि हिंसा हुने गर्दछन् । त्यसकारण नेपालमा महिला हिंसाका घटना बढ्दै गएको देखिन्छन् । यस सन्दर्भमा महिला हिंसा भन्नाले पुरुषले महिलामाथि गरिने अमानवीय कार्यहरूको समष्टिगत रुपलाई नै महिला हिंसा भन्न सकिन्छ । यसअन्तर्गत शारिरीक हिंसामात्र नभई मानसिक, धार्मिक, सांस्कृतिक आदि पर्दछन् ।

नेपाली समाजमा परापूर्वकालदेखि नै महिलालाई हेर्ने दृष्टिकोण भिन्न भएको पाइन्छ । पुरुषलाई उच्चकोटीमा राखिएको हुन्छ भने महिलालाई निम्नकोटीमा । नेपालमा मात्र होइन, विकसित मुलुकहरूमा पनि यो दृष्टिकोण रहेको छ ।

समाजको सिर्जना हुनुअगावै पुरुषको तुलनामा महिला शारीरिकरूपमा अलि कमजोरजस्तो देखिने हुँदा पुरुषले घर बाहिर गई काम गर्ने र कामबाट उपलब्ध भएको वस्तु घर ल्याउने गर्दथे । घरमा बसेका महिलाहरुले खाना पकाउने र घरभित्रका काम सबै गरेका हुन्थे । साथै घर वरिपरिका घरायसी काम पनि तिनीहरुले नै गरेका हुन्थे । बाहिर काम गर्ने पुरुषको दैनिकी निश्चित प्रकारको हुन्थ्यो भने घरमा रहने महिलाको काम विभिन्न प्रकारको हुने हुँदा तोकिएको हुँदैनथ्यो ।

महिला हिंसाविरुद्धमा सहयोग गर्ने मुख्य भूमिका पुरुषको नै हुने गर्दछ, कारण महिलाप्रति हुने हिंसा पुरुषबाटै हुने गर्दछन् । अतः महिला पनि पुरुषसरह नै हुन् र उनीहरुलाई पनि समान अवसर उपलब्ध गराउनु पर्दछ भन्ने भावना पुरुष वर्गमा जगाउनु पर्दछ ।

ढिकीजाँतो, घाँसपात, पकाउने, खुवाउने, सरसफाइ, सामानको हिफायत र जोगावट तथा अन्य अपरर्झट काम पनि महिलाको थाप्लोमा नै पर्दथ्यो । यसरी महिला र पुरुषले गर्ने कामको कार्यविभाजन भएको देखिन्छ ।

यो प्रथालाई अहिलेको नेपाली समाजले तोड्न सकेको छैन र महिला वर्गले आफूलाई शोषण एवं हिंसाबाट मुक्त नभएको आवाज उठाइरहेका छन् । अहिलेसम्म पनि यो प्रथाको अन्त्य हुनसकेको छैन ।

महिला हिंसा विभिन्न प्रकारका हुने गरेका छन् । त्यसमा पनि घरेलु हिंसा नै बढी हुने गरेका छन् । यही नै महिला हिंसा हो भन्न कठिन पर्दछ । घरेलु हिंसाअन्तर्गत भ्रुण हत्या, बलात्कार, बालविवाह, अनमेल विवाह, कुटपिट, एसिड आक्रमण, बोक्सी, छाउपडी, कमलरी, देउकी प्रथा, वादी, अन्धविश्वास आदि छन् ।

महिला हुनुको पीडा यतिसम्म कठोर छ कि कुनै पनि महिला सहजै जन्मन सक्दिनँ । आमाको गर्भमा रहँदाको अवस्थादेखि नै ऊ हिंसामा परेकी हुन्छिन् । गर्भमा रहेको भ्रुणदेखि नै छोरा छ कि छोरी छ भनेर परीक्षण गरिएको हुन्छ । छोरा देखियो भने सहजरुपमा जन्माइएको हुन्छ भने छोरी भएमा जन्मन नदिइ भ्रुणमा नै हत्या गराइन्छ ।

यसरी आमाको गर्भमा रहेकी एउटी बच्चीले यो धर्तीमा अवतरण गर्न पाएकी हुन्न । ऊ मानवअधिकारबाट बञ्चित भएकी हुन्छिन् । अर्कोतर्फ आमा पनि आफ्नो बच्चा जन्माउने नैसर्गिक अधिकारबाट बञ्चित भएकी हुन्छिन् । आफ्नै शरीरमाथि पनि उनको अधिकार हुन पाउँदैन । गर्भपतन गराउने कार्यमा ती आमाको कुनै भूमिका हुँदैन । पुरुषले जे भन्छन्, सहर्ष उनीले स्वीकार्नुपर्ने बाध्यता हुन्छ । उनी यसरी आफ्नै श्रीमान्बाट जघन्य हिंसामा परेकी हुन्छिन् । उनी घर बाहिर गएर आवाज उठाउन सकेकी हुन्नन् । यस्तै हो भन्दै उनीले जिन्दगी बिताउनुपरेको छ । पटक–पटक यस किसिमको हिंसालाई उनले सहनु परिरहेकै छ ।

नेपाली समाजमा घरेलु हिंसाबाट पीडित महिलाको संख्या ठूलो देखिएको छ । आफ्नै घरपरिवार र आफ्नै नजिकका नातागोता इष्टमित्रबाट बलात्कृत भएका हुन्छन् । महिलाले सोच्नै नसक्नेबाट बलात्कृत भएका हुन्छन् । जसले उनीलाई पालनपोषण, शिक्षादिक्षा, माया, स्नेह दिनुपर्ने हो, उसैबाट यस्तो घृणित कार्य भइआएका छन् । जन्म दिने बाबुले छोरी भनेको हुँदैन, आफ्नो सहोदर दाजुभाइले बहिनीदिदी भनेका हुँदैनन् । अरुले त भन्ने कुरै भएन ।

यसरी आफ्नै रगतबाट बलात्कृत भएका महिलाहरुको पीडा कति दर्दनाक होला । कल्पना नै गर्न सकिँदैन । यस्ता कतिपय पीडित नानीहरुले आफूप्रति भएका जघन्य अपराधहरुलाई लुकाएर राख्नुपरेको पनि छ । आफ्नै परिवारले झन् बढी यातना दिन सक्नेछन् भनेर यस्ता घटनाहरु बाहिर आउन पनि सकेका छैनन् । समाजले के भन्ला भनेर धेरैभन्दा धेरै घटना बाहिर पनि आउन नसकेका हुँदा महिला हिंसा बढ्दै गएको हो भन्न सकिन्छ ।

महिलाले भोग्नुपरेको घरेलु हिंसा मात्र होइन, उनीले कार्यस्थलमा पनि पीडित हुनुपरेको छ । कार्यस्थलमा उनीप्रति यौनजन्य क्रियाकलाप भएका हुन्छन् । डर, त्रास, धम्की, दुव्र्यवहार, ललाइफकाइ, प्रलोभन आदिबाट पनि पीडित भइरहेकै छन् । हाल बढ्दै गएको मानव बेचबिखन, वेश्याबृत्ति, अभद्र व्यवहार पनि कार्यस्थलमा घटिने घटना हुन् ।

घरेलु र कार्यस्थलमा हुने हिंसाबाहेक विश्वव्यापीकरणको प्रभावबाट पनि महिला हिंसाविरुद्धका घटना हुने गरेका छन् । विभिन्न प्रलोभनमा पारेर विदेश पठाइएका महिलालाई यौनजन्य गतिविधिमा समावेश गराइएका घटनाहरु पनि सञ्चारमाध्यममा आइनै रहेका छन् । उनीहरुले त्यहाँ रहँदा भोग्नुपरेका अमानवीय क्रियाकलापहरूले जो–कोहीको मन सिरिङ्ग हुने गर्दछ ।

विदेशमा राम्रो काम र पैसा पनि धेरै नै हुन्छ भन्ने प्रलोभनमा पारेर धेरै महिला बिचल्लीमा परेका पनि छन् । मानव बेचबिखन र ओसारपसार अन्तर्राष्ट्रिय समस्याको रुपमा देखापरेको छ ।

महिला हिंसाविरुद्धका घटना नेपालमा मात्र होइन, छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तानमा पनि डरलाग्दोरुपमा देखिएको छ । यसको विस्तारको अन्तर्राष्ट्रिय तहमा समेत फैलिएको हुँदा समस्या निराकरणका लागि ‘मिटु’जस्ता संस्था जन्मिए । यी संस्थाहरुले पनि प्रभावकारीरूपमा कार्य सञ्चालन गर्न सकिरहेका छैनन् । नेपालमा मिटुको प्रभाव केही परेको भए पनि हाल निष्क्रिय भएको देखिन्छ । अहिले बढ्दै गएको महिला हिंसा देशकै लागि ठूलो समस्याको रुपमा रहेको छ ।

नेपालमा महिलाको जीवनस्तर खस्कँदै जानुमा महिलाप्रति गरिने व्यवहार नै हो । अहिलेसम्म पनि पुरुषको तुलनामा महिला पछि नै परेका देखिन्छन् । महिलालाई पुरुषसरह अघि बढाउन संगठनात्मक व्यवस्थाको आवश्यकता महसुस गरी २०५२ साल असोज ६ गते का दिन महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो र त्यसैको परिवर्तित रुप अहिलेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हो ।

महिलाको गतिविधि बढाइ उनीहरुको जीवनस्तरमा सुधार ल्याई महिला हिंसारहित समाजको सिर्जना गर्ने हेतुले यस मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला आयोग, समाज कल्याण परिषद्, समाज कल्याण केन्द्र, वृद्धाश्रम र बालमन्दिर रहेका छन् ।

यस मन्त्रालयले राष्ट्रियस्तरका संघसंस्थाहरूबाट सञ्चालन भएका कामहरुको अनुगमन तथा मूल्यांकन गर्नुका साथै अन्तर्राष्ट्रिय संगठनहरुसँग पनि सम्बन्ध कायम गर्दछ । यसरी महिला विकाससम्बन्धी विभिन्न संरचना स्थापना भई आए पनि महिलाको अवस्थामा आशालाग्दो किसिमबाट प्रगति भएको पाइँदैन ।

त्यसकारण महिलाउपर हत्या, हिंसा, बलात्कार, एसिड आक्रमण, यौनजन्य क्रियाकलाप आदि भइनैरहेका छन् । यिनीहरुमा सुधारको आवश्यकता देखिएको छ ।

लैंगिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष विश्वभरि नै नोभेम्बर २५ देखि डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकारको दिनसम्म बिभिन्न कार्यक्रमसहित मनाइन्छ र नेपालले पनि मनाइ आइरहेको छ । यस्ता कार्यक्रमले जनचेतनामा अभिवृद्धि ल्याउनाका साथै निश्चय नै महिला हिंसामा केही हदसम्म भए पनि न्यूनीकरण गर्न सहयोग पुर्याउने नै छ ।

महिला हिंसाका कारणहरुमा नेपालजस्ता अल्पविकसित देशहरुमा मुख्यतया आर्थिक, शैक्षिक, सामाजिक, धार्मिक, सांस्कृतिक कारणहरु नै देखिएका छन् । गरिबीको कारणले गर्दा कतिपय महिलाहरु प्रलोभनमा फसाइएका हुन्छन् र हिंसाको सिकार हुनपुगेका छन् ।

व्यक्तिमा सचेतना ल्याउने माध्यम भनेको शिक्षा हो । सबैलाई शिक्षाको पहुँच पुग्न सकेको छैन । शिक्षा हासिल गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अवस्थाले गर्दा कतिपय बालबालिका विद्यालय जानबाट बञ्चित हुन पुगेका छन् ।

हाम्रो समाजमा अन्धविश्वास हट्न सकेको छैन । अझै पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण एउटै हुनसकेको छैन । धार्मिकरूपमा छोरीलाई पवित्र मानी आए पनि त्यसअनुरुपको व्यवहार भएको छैन ।

रजस्वला नहुँदै विवाह गरी दिए पुण्य मिल्ने कुराले प्रश्रय पाइनै रहेको छ । बाल्यावस्थामा नै विवाह गरी दिनाले चाँडै गर्भधारण हुने र स्वास्थ्यमा प्रतिकूल असर परेको देखिएको छ । हाम्रा धार्मिक परम्परा पनि महिला मैत्री हुनसकेका छैनन् ।

महिला हिंसारहित समाज बनाउनको लागि सानोतिनो प्रयासबाट सम्भव छैन । नेपालमा मात्र होइन, अन्य कतिपय देशहरुमा पनि हिंसा भइनैरहेका छन् । यसको औजारको रुपमा शिक्षालाई लिन सकिन्छ । महिलालाई सर्वसुलभ शिक्षा दिन सकियो भने निश्चय नै महिला हिंसामा कमी आउन सक्नेछ ।

समाजमा चेतनाको पनि उत्तिकै भूमिका रहेको हुन्छ । चेतना भयो भने विवेकको विकास हुन जान्छ, परिणामस्वरुप समाजमा परिवर्तन आउन सक्दछ । मानिसको दिमागले जसरी शरीरलाई निर्देशत गरेको हुन्छ, त्यसरी नै चेतनाले पनि समाजलाई परिवर्तन गर्न सक्दछ ।

नेपाल पक्ष भएका जतिनै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय महासन्धि, सन्धि र अन्तर्राष्ट्रियसभा सम्मेलन भएका छन्, तिनीहरुको प्रावधानको परिपालन गरी महिलामा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ ।

नेपालको संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको हकलाई कसरी मूर्तरुप दिनेबारे सरकार र सम्बन्धित सरोकारवालाहरु कटिबद्ध हुनु पर्दछ । संविधानमा लेखिँदैमा सबै कुरा पूर्ण हुने होइनन् । मुख्य कुरो भनेको त्यसको कार्यान्वयन
पक्ष हो ।

महिला हिंसाविरुद्धमा सहयोग गर्ने मुख्य भूमिका पुरुषको नै हुने गर्दछ, कारण महिलाप्रति हुने हिंसा पुरुषबाटै हुने गर्दछन् । अतः महिला पनि पुरुषसरह नै हुन् र उनीहरुलाई पनि समान अवसर उपलब्ध गराउनु पर्दछ भन्ने भावना पुरुष वर्गमा जगाउनु पर्दछ ।

घर नै बालबालिकाको पाठशाला हो भन्ने कुरा आमाबालाई शिक्षा दिन सकियो भने निश्चय नै महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्नेछ । महिला हिंसाविरुद्ध समाजमा जागरण एवं चेतनाको विकास गरिनु पर्दछ ।
(लेखक नेपाल सरकारका पूर्व उपसचिव हुन्)

प्रतिक्रिया दिनुहोस्