Logo
Logo

एमसीसी नबुझेकाहरु आन्दोलित भए : विश्वप्रकाश



फाइल फोटो

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् ।

झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताए ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताए । उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।

‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो’, शर्माले भने, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?’

उनले देशको समृद्धि र विकास लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्