Logo
Logo

प्रदेश १ नामाकारणका लागि सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रदेश १ मा आज सर्वदलीय बैठक बस्दैछ । प्रदेश १ सरकारले प्रदेशको नामबारे छलफल गर्न मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो १२ बजे सर्वदलीय बैठक आह्वान गरेको हो ।

सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितको बैठकमा प्रदेशको नामबारे छलफल हुँदैछ ।

प्रदेश नामकरणका लागि सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक तथा प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवका अनुसार आजको बैठकबाट छलफलको औपचारिक सुरुवात हुँदैछ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू नियुक्त भएलगत्तै प्रदेशको नामाकरण टुंग्याउने बताउँदै आएका छन् ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । जसका लागि एमाले निर्णायक छ ।

प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद गरी ९२ जना सांसद रहेका छन् ।

नेकपा एकीकृत समाजवादी नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मन्चसहितको गठबन्धनले सहमतिमा एउटै नाम प्रस्ताव गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्